समय : ०१:५९ pm | आइतबार , भाद्र २८ गते २०८३

मुन्धुममा चेलीले माइतीलाई फूल दिनु हुँदैन भन्ने तर्क आफैमा कपोकल्पित मात्रै हो .!!

सेवालुङ खवर | कार्तिक १८ गते २०८१

सेसे फुङ्ग शेर्मा/भाईटिका लगाउँदा लिम्बुहरूको निधार पिल्सिन्छ र ?जब हरेक पटक दशैं आउँछ लिम्बू समाजमा आफूलाई धार्मिक र सामाजिक रीतिथितिका रैथाने ठेक्केदार सम्झिने केहिहरु धारेहात लगाउँछन् । “ए पख्लास, कसैले दशैं मनाउला ।“ तीज आउँछ उहीँ गर्छन् । तिहार आउँछ एकथरी उस्तैहरु अघि सर्छन् । “तिहार लिम्बु जातिको मौलिक पर्व होईन मनाउनु हुँदैन ।“अझ मनगढन्ते मुन्धुम बनाएर भन्छन्, अस्ति नै इरुरे इथुक्नामा भन्ने चेली आफ्नो माइतीसंग जिस्किदाँ जिस्कदै फूलले स्तनमा लागेर मरिन् रे । त्यसैले लिम्बू चेली माइतीमा फूल लियादीया वर्जित छ रे । के साँच्चै मुन्धुमले फूलप्रति यति रुग्ण सौन्दर्य निर्माण गरेको छ ? चेली माइतीविच आदर्श सम्बन्धको सेतु बनाउन मुन्धुमले रोक लगाएकै छ त? लिम्बू समाजलाई कट्टरपन्थी र अतिवादी मुस्लिम समाज जस्तो बनाउने बाटो खन्दै गरेका मौलिकताकठेकेदारहरु ले यो प्रश्नको निरूपण गर्न अब ढिला हुँदैछ । १. के तिहार लिम्बुहरू को पर्व हो? तिहार मात्रै होईन नेपालमा मनाईने कुनै पनि चाडपर्वमा लिम्बू जातिको साईनो जोडिँदैन । खास दिन र खास समयमा उत्सव मनाउनु पर्ने गरी लिम्बू जातिले कुनै पनि चाड पर्व नै निर्माण गरेको देखिँदैन । यसो हुनुको पछाडीका केही कारणहरु हुन सक्छन् । लिम्बू समुदायका आदिम पुर्खाहरू ले जन्म, विवाह र मृत्युलाई नै उत्सवको रूपमा मनाउने प्रचलन विकसित गरे । यसको अलावा अरू कर्मकाण्डहरु लाई समेत उत्सव कै रूपमा मनाउथे । जस्तै ः– कुनै लिम्बुको घरमा अनुष्ठान तङ्सिङ गरिँदा तीन दिनसम्म सबै गाउलेहरु भेला हुन्थे भोज भतेर चल्थ्यो । लिम्बुहरू को विहे उस्तै धुमधामको हुन्थ्यो । तीन दिनसम्म त मुख्य भतेर नै चल्थ्यो । अझ टाढाको पाहुनाहरु लाई रोकेर छुट्टै मेजमान दिँदा एउटा बिहेमा गाउँभरीका मान्छेहरु हप्तादिन सम्म अलमल हुन्थे । उत्सव मनाउथेँ । खान पिउन रमाइलो गर्नमा समय व्यतीत गर्थे । सुधाई कार्य (फजे) पनि कम्तिमा तीन दिनको हुन्थ्यो नै । कसैकोमा नयाँ जन्म, कसैको मा विहे, कसैकोमा फजे, कसै कसैकोमा पूजा पाठ,अनुष्ठान तीनराते तङ्सिङ मध्ये कुनै न कुनै त समाजमा आई पर्थ्यो नै । ई सब गर्दा गर्दै लिम्बू जातिहरू प्रत्येक महिना कुनै न कुनै उत्सव मनाई रहेका हुन्थे । अत लिम्बू समाजमा रमाइलो गर्न उस्तव मनाउन कुनै खास उत्सव चाडपर्व निर्माण गर्न जरुरुत नै परेन । पछिल्लो समय चासोक तङनाम भनेर लिम्बुहरू को एउटा नयाँ चाड अस्तित्वमा आएको छ । यो पनि लिम्बुहरू को चाड होईन । लिम्बू समाजलाई भित्रदेखि बुझेको मान्छेले खासदिन खास तिथिमा चाडपर्व मनाउने संस्कार स्थापित भयो भन्नेमा विश्वास गर्ने कुरै भएन । अत तिहार पनि लिम्बू समुदायको चाड होईन । तिहार नै हाम्रो चाड नभएपछि तिहार र बलिराजाको मिथक हु–बहु अनुवाद गरिएको तथाकथित पर्व वलिहाङ तङ्नाम पनि लिम्बुको पर्व हुने कुरै भएन । देउसीरे र भैलेनी गीत अनुसरण गरेर लिम्बू भाषामा अनुवाद गरिएकोलारिंगेक नामलिंगेक खेल्ने प्रचलन पनि लिम्बुको हो भन्ने आधार नै रहेन । २. उसो भए लिम्बूले तिहार नमनाउने त?नेपाल बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएको देश हो । कसैलाई पनि यो उक्ति बुझाई रहन जरूरत छैन । सिंगो नेपाली समाजले अपनत्व ग्रहण गरी सकेको तिहार÷दीपावली पर्व लिम्बूहरु लाई पनि मनाउन छुट छ । तिहारको सांस्कृतिक पक्षलाई एउटा कुनामा र सामाजिक पक्षलाई अर्को कुनामा राखेर हेर्ने हो भने यसको सामाजिक पक्षमा घाटाको विषय शायदै मात्र भेटिन्छ । उज्यालोको पर्व, नाचगान र गीत संगीतको पर्व, चेली र माइतीविचको प्रेम व्यक्त गर्ने पर्व । यस्तो महान् उत्सव लिम्बू समाजले बहिष्कार गर्दा सांस्कृतिक पक्षबाट झिनो फायदा त होला तर यसले लिम्बू समाजमा पुर्याउने सामाजिक घाटाको लेखाजोखा बेहिसाब हुन आउँछ । ३. तिहारलाई वलीहाङ् तङ्नाम चाहिँ भन्ने कि नभन्ने?इमान सिं चेम्जोङले ईतिहास लेख्न मात्र होईन बिगार्न पनि सिकाएर गए । उनले इसाईहरु को डुङ्गा डुबेको मिथकलाई लिम्बुकरण गराई दिए । अन्य धेरै मिथकलाई ईतिहास मात्र भनेनन् मुन्धुम नै हो भनेर ठोकुवा गरी दिए । इमान सिं को यहीँ कायदा उनी पछिका इतिहासकारहरु ले पनि पछ्याए । कोहि इतिहासकारले दुर्गा भवानीमा लिम्बुको मिथक जोडेर दशैं हाम्रो हो भन्ने बनाए । कोहि ईतिहासकारले हिन्दुहरु को बलिराजा को मिथकलाई हुबहु अनुवाद गरेर वलीहाङ तङ्नाम नामाकरण दिलाए । लिम्बू ईतिहासको कुनै पनि कालखण्डमा नभेटिने नदेखिने पात्र बलीहाङ बलिराजाको अनुवाद मात्र थियो भन्ने कुरामा द्विविधा छैन । झन् पछिल्लो समय देउसी र भैली गीतलाई समेत लारिङेक र नामलिङेक भनि लिम्बुकरण गरी दिए । तर मेरो विचारमा सुनिजान्ने लिम्बू इतिहासकारले जे गरे राम्रै गरे भन्ने लाग्छ । कम्तिमा लिम्बू भाषामा देउसीरे खेल्न पाईएको छ । लिम्बू भाषामा आशीर्वाद दिन पाइएको छ । सांस्कृतिक र भाषिक पक्षबाट हेर्नु पर्दा खासै घाटाको विषय छ जस्तो लाग्दैन । अब तिहारलाई वलिहाङ तङ्नाम भनेर स्वीकार गरेर जानुमा घाटा भन्दा पनि नाफाको विषय धेर देखिन्छ । केही जड मौलिकतावादिहरु ले तिहारलाई वलीहाङ् तङ्नाम भनेर स्वीकार गर्नु हुँदैन भन्ने समुह पनि खडा गरेका छन् । तर त्यो समुहले वलीहाङ् तङनाम लिम्बुहरू को होइन तिहारलाई लिम्बुकरण गरिएको हो भन्ने सन्दर्भ निर्माण गर्न सक्ला जस्तो लाग्दैन । अगतिगचब िmगतबतष्यल को कारण केही पुस्ता पछि वलीहाङ तङ्नाम लिम्बुको नै हो भन्ने बुझाई जरूर निर्माण हुन्छ । ४. लिम्बुनी चेलीहरु ले माइतीलाई फूल÷टिका लगाउनु हुँदैन? लिम्बू समाजमा सबैले मुन्धुमलाई शिर मान्छन् । मुन्धुममा यसो गर्न मिल्दैन (सो?) भनिएको छ भनेपछि त्यो काम गर्न हतपती कसैको आँट आउँदैन । जस्तै मुन्धुमी मान्यता अनुसार येबा साम्बासंग निहुँ खोज्नु हुदैन उसले चाह्यो भने बाण÷भेद(मन्त्र) हानेर ठहरै पार्छ । यहीँ मान्यताले गर्दा गाउँघरमा अझै पनि येबा साम्बाहरु संग कोही लिम्बू झै झगडा गर्न मुद्दा मामिला गर्न अघि सर्दैनन् । मुन्धुममा अर्काको मूल खाबोलाई लात हान्ने हुँदैन भनिएको छ । कोहि लिम्बूले पनि मूल खाँबो लात्ताले हान्ने हिम्मत गर्दैनन् । यो लिम्बुहरू को मुन्धुम प्रतिको सम्मान हो । मुन्धुम प्रतिको विश्वास हो । लिम्बुहरू को मुन्धुम प्रतिको यहीँ विश्वास र सम्मानको फायदा लुट्दै समाजका केही ठालु व्यक्तिहरू ले चेलिमाइतीविच फूल दिन लिन नहुने कुरा मुन्धुममा लेखिएको छ भन्दै भ्रम र डर फिजाउने काम गरिरहेका छन् । मुन्धुम लेख्य र प्रमाणिक तथ्यको रूपमा छैन । उसो र दुई चार अक्षर पढेका जो कोहीले तथाकथित मिथक र कथा कहानी जोडेर भ्रम सिर्जना गर्न सक्छ । पछिल्लो समय इरूरे इथुक्नामा भन्ने चेली आफ्नो माइतीसंग जिस्किदाँ जिस्किँदै फूलले स्तनमा लागेर मृत्युवरण गरेकीले मुन्धुममा चेली माइतिविच फूल लिया दिया वर्जित छ भन्ने भास्य निर्माण गरेका छन्, केही ठालुहरु ले । अनि केही आलुहरु ले चै यसैलाई तथ्य मानेर समाजमा भ्रम फैलाउने कोशिश गरिरहेका छन् । म आफै साम्बासंग यागाप्सीबा भएर मुन्धुम वाचन गर्न सहयोग गर्दै हिँड्ने मनुखे हुँ । न मैले मुन्धुममा यो पात्रको नाम सुनें न मुन्धुममा फुलप्रति यति रुग्ण टिप्पणी भेटेँ । बरु मुन्धुमले त फूललाई जीवनको हरेक आयामहरू संगको सौन्दर्य पो जोडेको छ । फूलको वर्णन र प्रयोग विना कुनै कुनै संस्कार नै अपूर्ण हुन्छन् । जस्तै माङगेन्ना गरिँदा सेकमुरीफूङ अनिवार्य चाहिन्छ । युमा पूजा गर्दा अरूमफूङ, फुङ्गवा चाङमा गर्दा सिङ्जाङ्गो फूङ र मृत्यु संस्कार गर्दा मिक्चिरी फुङ् चाहिन्छ । अरू त अरू हिजो अस्तिसम्म छोरी चेलीको हक्थबा ल्याउँदा सिंगो सुँगुरको थुतुनोभरी फूल सिउरेर ल्याउने प्रचलन थियो । अहिले पो सिङ्गो सुँगुर बोक्ने प्रचलन हराउँदै गयो र सुँगुरको थुतुनोमा फूल सिउरेर ल्याउने प्रचलन छैन । यद्यपि अझै पनि छोरी चेलीले ल्याएको हक्थबा प्रस्तुत गर्दा सरदारले रक्सीको बोतलमा फूल सिउरेर मुन्धुम फलाक्छ । यदि चेली माईतिविच फूल लिन दिन वर्जित नै भएको भए चेलीहरु ले ल्याउने कोशेलीमा फूल सिउरेर त ल्याइन्न थियो होला । किन कि चेलीले ल्याएको कोसेलीले माइतीले पनि खानु पर्छ । मुन्धुममा चेलीले माइतीलाई फूल दिनु हुँदैन भन्ने तर्क आफैमा कपोकल्पित मात्रै हो । तिहारलाई तिहारको रूपमा मनाउन र तिहारमा आफ्नो माइतीलाई सम्मान र माया व्यक्त गर्न लिम्बुनी चेलीहरु लाई खुल्ला छ । लिम्बू समाज तालिवानले शाशन गरिरहेको जस्तो कट्टरपन्थी मुश्लिम समाज होईन । दुई चार जना ठालुहरु ले भन्दैमा आफ्नो माइतीलाई सम्मान गर्न नछोड । माइतीलाई माँया गर्न नछाड । लाऊ चेली लाऊ,,,, आफ्नो माइतीको निधारमा सप्तरंगी टिका र गलाभरी माला लगाऊ । साभार सेसे फुङ्ग शेर्मा /ब्लग पोष्ट बाट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्