ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनादेखि उडान ठप्प हुँदा यात्रु सेवाबाट बञ्चित भएका छन् । प्रतिकूल मौसम लगायतका कारणबाट तीन महिनायता सुकेटारमा उडान नहुँदा यात्रुहरु हवाई सेवाबाट बञ्चित भएका हुन् । नेपाल वायु सेवा निगमका ताप्लेजुङस्थित स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार मौसम प्रतिकूलताकै कारण सुकेटार विमानस्थलमा हालसम्म उडान हुन नसकेको हो । यस अवधिमा प्रतिकूल मौसमसँगै कुनैबेला यात्रु नभएका कारण पनि उडान हुन नसकेको स्टेशन इन्चार्ज कार्कीको भनाइ छ । उहाँका अनुसार असारयता अधिकांस समय वर्षा भएको र वर्षासँगै बाक्लो हुस्सु र कुहिरो लागेर मौसम प्रतिकूल भई दिँदा सुकेटारमा उडान अवरुद्ध हुँदै आएको हो । प्रतिकूल मौसमकै कारण गत जेठ २२ गतेदेखि सुकेटारमा कुनै पनि उडान हुन नसकेको स्टेसन इन्चार्ज कार्कीले जानकारी दिनुभयो । भदौ तेस्रो सातायता मौसममा क्रमशः सुधार आउँदै गएकाले उडानको तयारी भइरहेको इन्चार्ज कार्कीले बताउनुभयो ।सुकेटारमा प्रत्येक साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान हुने गरेकोमा निगमले सेप्टेम्बरका लागि भने साताको एक दिन सोमबार मात्र उडान हुनेगरी तालिका पठाएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार निगमको पछिल्लो तालिकाअनुसार गएको सोमबारको उडान भने यात्रु नभएकाले रद्द भएको थियो । अब आउँदो सोमबारका लागि शनिबार सम्ममा काठमाडौंबाट ताप्लेजुङ आउने छ जना र यहाँबाट काठमाडौं जानका लागि चार जना यात्रु सम्पर्कमा रहेका निगमले जनाएको छ । मौसमको असर नरहेमा आउँदो सोमबारको उडान निश्चित रहेको पनि स्टेसन इन्चार्ज कार्कीले बताउनुभयो ।यता दसैँ तिहारजस्ता चाडपर्व नजिकिएको र पर्यटकीय मौसम सुरू हुँदासमेत सुकेटारमा उडान नहुँदा यात्रु तथा स्थानीय व्यवसायी चिन्तित बनेका छन् ।फुङ्लिङ बजारका स्थानीय होटल व्यवसायी विमल भण्डारीले मौसममा सुधार आइसकेकाले उडान सुचारू गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । उडान नियमित भएमा सुकेटारका लागि यात्रुको अभाव कहिल्यै नहुने व्यवसायी भण्डारीको भनाइ छ ।सुकेटार विमानस्थलमा एकमात्र नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गर्ने गरेको छ ।करिव दुई हजार चार सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खा मौसममा अधिकांश समय बाक्लो हुस्सु र कुहिरोले ढाक्ने हुँदा निगमबाहेक निजी एयरलाइन्सहरूले व्यवसायिक उडान गर्न सकेका छैनन् ।–चन्द्र पन्दाक,
ताप्लेजुङको सुकेटारमा तीन महिनादेखि उडान ठप्प








