माङसेबुङ/इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी १७औं संस्करणको आत्मानन्द गोल्ड कप अन्तरर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन तिजोक यूवा क्लब, पाँचथर प्रवेश गरेको छ ।माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा बुधबार भएको खेलमा पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लव, दार्जिलिङ, भारतलाई टाईब्रेकरमा ५–४ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन तिजोक पाँचथर सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको निधारित समयमा दुबै टिमले एक एक गोलको बरावरी खेलेपछि नतिजा टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा पाँचथर भाग्यमानी सावित भयो ।

टाईब्रेकरमा तिजोक पाँचथरको जितमा रोशन आङदेम्बे, बिनोद धमला, मिराक खजुम, जमिन लक्सम र निरज लिङदेले गोल गरे । बेगम गुरुङको प्रहार भने दार्जिलिङका गोलरक्षक सचिन सुब्बाले बचाएका थिए । यस्तै दार्जिलिङका सरद मुन्डा, रोमन भुजेल, समिर प्रधान र देवासिङ रोयले गोल गरे । श्याम मुर्मु र मौसम सुब्बाको प्रहार तिजोक पाँचथरका गोलरक्षक मिराक खजुमले बचाएका थिए ।खेलको मेन अफ दी म्याच तिजोक पाँचथरका गोलरक्षक मिराक खजुम घोषित भए । उनले ट्रफी र नगद ५ हजार ७१ रुपैयाँ हात पारे ।यसअघि पहिलो हाफ बराबरी खेलेका दुवैटोली दास्रो हाफमा भने थप आक्रमक भएर मैदानमा उत्रेका थिए । खेलको ५७ औं मिनेटमा सुजन लिम्बूले गोल गर्दै पाहुना टोली दार्जिलिङलाई अग्रता दिलाएका थिए । तर, त्यसको दूई मिनेटपछि ५९ औ मिनेटमा रितिक आङदेम्बेले गोल गर्दै पाँचथरलाई बराबरीमा फर्काए ।त्यसपछि भने दुवै टोलीले थुप्रै गोल गर्ने अवसरहरु पाए पनि गोल गर्न नसक्दा नतिजा टाईब्रेकरमा पुगेको थियो । यो सँगै सेमिफाईनल समिकरण पूरा भएको छ l सेमिफाईनल समिकरण पुरा भएसँगै भोलिबाट सेमिफाइनलका खेलहरु सुरु हुँदैछ । भोलि बिहिबार हुने पहिलो सेमिफाइनल खेल सिरीजङगा स्पोर्टिङ क्लब मोरङ र दुधे युथ क्लब झापाबीच हुनेछ ।मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा महासमारोह समितिको आयोजनामा आत्मा पवित्र खेलकुद समितिको मुख्य संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ । साभार:kiraat ingse.com








