ताप्लेजुङ – ताप्लेजुङमा आयोजित अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन (दौड) प्रतियोगितामा पाँचथरका विशाल राई सर्वोत्कृष्ट हुनुभएको छ । शनिवार आयोजित म्याराथनमा निर्धारित ४८ किलोमिटर दूरी ४ घण्टा १६ मिनेटमा पूरा गर्दै राई सर्वोत्कृष्ट हुनुभएको हो । सर्वोत्कृष्ट हुनुभएका राईले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनुभएको छ ।यस्तै पुरुषतर्फ बझाङका करण रावल प्रथम हुनुभएको छ । रावलले निर्धारित दूरी चार घण्टा १७ मिनेटमा पार गर्नुभयो । दोश्रो ताप्लेजुङका रमेश लिम्बू हुनुभएको छ । सोलुखुम्बुका अर्जुन कुलुङ राई तेस्रो हुनुभयो । लिम्बूले निर्धारित दुरि ४ घण्टा २६ मिनेट र राईले चार घण्टा ३१ मिनेटमा पूरा गर्नुभएको थियो । पुरुष विधाका विजेताहरू मध्ये प्रथम हुनेले ५० हजार रुपियाँ, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेकाछन् । यता महिला तर्फ ताप्लेजुङकि कुमारी गुरुङ पहिलो, ओखलढुंगाकि लाक्पानिमा शेर्पा दोस्रो र ताप्लेजुङकि दाशाङ्गी शेर्पा तेस्रो हुनुभएको छ । पहिलो, दोस्रो र तेस्रोले क्रमस ६ घण्टा १२ मीनेट, ६ घण्टा २९ मीनेट र ६ घण्टा ३७ मीनेटमा निर्धारित दुरी पार गरेका थिए । महिला तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमस ५०, ३० र २० हजार नगद पुरस्कार प्राप्त गरे ।यस्तै स्थानीय तर्फ रेडपाण्डा पाईने मुख्य क्षेत्र ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाबाट प्रतिस्पर्धा गरेका मध्ये पाँचथरका राजन मेन्याङ्बो प्रथम, ताप्लेजुङका सञ्चबहादुर शेर्पा दोस्रो र ताप्लेजुङ कै दीपक राई तेस्रो हुुनुभएको छ । उहाँहरूलाई क्रमस प्रथम, दोस्रो र तेस्रोलाई नगद १५, १० र ५ हजार नगद पुरस्कार प्रदान गरिएको छ । रेडपाण्डा दिवसको अवसरमा आयोजित यो म्याराथनले रेडपाण्डा संरक्षणको महत्वलाई प्रोत्साहन दिने र स्थानीय पर्यटनलाई प्रवर्धन गर्ने अपेक्षा गरिएको छ । हरेक वर्ष असोज ५ गते अर्थात् सेक्टेम्बर २१ तारेखका दिन विश्व रेडपाण्डा दिवस मनाइन्छ । रेडपाण्डा नेटवर्क र फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा म्याराथन दौडको आयोजना गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो ।फुङलिङ बजारदेखि ३ हजार ७९४ मीटरको उचाईमा पर्ने पाथीभरा मन्दिर सम्म पुगेर पुन फुङलिङ बजार सम्मको ४८ किलोमिटरको दुरी निर्धारण गरि म्याराथन आयोजना गरिएको हो । साभार रेडियो तमोर,
अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन (दौड) प्रतियोगितामा विशाल राई सर्वोत्कृष्ट








