काठमाडौं लोकान्तर संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । ओलीले कामको गति बढाउन र योजनाबद्ध काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका हुन् । सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीवार मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता गरेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवस्थित र गति दिने उद्देश्य सहित काम गर्न निर्देशन दिए । उनले कार्य सम्पादन सम्झौतामा छैन भनेर गर्नुपर्ने काम ओझेलमा नपार्न र सरकारको मूलभूत नीति र कार्य योजनाअनुसार कार्य सम्पादन गर्न मन्त्री हरूलाई निर्देशन दिएका थिए ।‘अलमल र विश्राम गर्ने होइन, जनताको अपेक्षाअनुसार काम गर्नुस्,’ प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै एक मन्त्रीले लोकान्तरसँग भने,‘ हामीले मूलभूत नीति र कार्ययोजनाबमोजिम आवधिक लक्ष्य निर्माण गरेअनुसार काम गर्नुहोला ।’ सो अवसरमा प्रधानमन्त्री ओलीले देशप्रति जिम्मेवार भएर जनताका हितका निम्ति काम गर्न मन्त्रीहरूलाई आग्रह गरेका थिए । साथै उनले समाजमा शान्ति सुव्यवस्थाका लागि समृद्धि र सुशासनको यात्रा अघि बढाउन प्रतिबद्ध भएर काम गर्न पनि निर्देशन दिए । साभार:=लोकान्तर डटकम,
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता








