काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका ३ वटा वडामा घातक मानिने ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) पुष्टि भएको छ ।
नगरपालिकाको वडा नं. २, ३ र ४ मा बर्डफ्लुको सङ्क्रमण देखिएसँगै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । नगरपालिकाले यसको नियन्त्रण र रोकथामका लागि विशेष अभियान सुरु गरेको जानकारी दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण मौलीले रोग पुष्टि भएका क्षेत्रहरूमा रहेका सम्पूर्ण हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पंक्षीहरू तथा तिनका अन्डा र दानालाई पूर्णरूपमा नष्ट गर्ने कार्य भइरहेको बताए ।
रोग अन्य क्षेत्रमा फैलिन नदिनका लागि प्रभावित क्षेत्रमा सुरक्षित तवरले पंक्षीहरूको विसर्जन (डिस्पोज) गरी निसंक्रमणको कार्यलाई तीव्रता दिइएको छ । बर्डफ्लु पंक्षीहरूबाट मानिसमा समेत सर्न सक्ने उच्च जोखिमयुक्त ‘जुनोटिक’ रोग भएकाले नगरपालिकाले सर्वसाधारण र फार्म सञ्चालकहरूका लागि निर्देशनहरू जारी गरिएको छ ।








