भदौ १०। रसुवा जिल्लामा बुधवार बिहान अचानक आएको भीषण बाढीले ठूलो क्षति निम्त्याएको छ । हालसम्म १७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । सयौं मानिस वेपत्ता भएका छन् । यो बाढीको तह गत सालकोभन्दा पाँच गुना ठूलो रहेको अधिकारीहरूले बताएका छन् । क्षतिबारे विस्तृत विवरण आउन बाँकी नै छ तर ठूलो जनधनको क्षति भएको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार अतिप्रभावित रसुवा र नुवाकोटमा दर्जनौँ सुरक्षाकर्मीसहित सयौँ मानिस सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरीका अनुसार रसुवामा बुधवार बिहान आएको बाढीका कारण विभिन्न जिल्लामा मृत्यु भएका कम्तीमा १७ जनाको शव फेला परेको पुष्टि भएको छ । नेपाल पर्यटन बोर्डले २९१ विदेशी सहित ३८४ पर्यटक सम्पर्कविहीन रहेको जनाएको छ । यसअघि सरकारले जोखिमयुक्त क्षेत्र (तल्लो तटीय क्षेत्र)का बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो । बाढीबाट थप प्रभावित हुन सक्ने अन्य नागरिकलाई सुरक्षित स्थानमा सर्न पनि निरन्तर सूचनासमेत प्रवाह सरकारले गरिरहेको छ– सचिवालयको विज्ञप्तिमा उल्लेख छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ र प्रधानमन्त्री कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितका निकायको बैठक बसेका छन् । उनका अनुसार सडक, पुल, सञ्चारसहितका पूर्वाधारमा क्षति भएको र नुवाकोटस्थित केन्द्रीय कारागार पनि डुबानमा परेको छ । त्यहाँ पानी पसेपछि भाग्न खोजेका तीन कैदीहरूलाई नियन्त्रणमा लिइएको गृह मन्त्रालयले जनाएको छ । उद्धार र खोजमा तीव्रताः प्रधानमन्त्री रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा बुधवार बिहान बाढी आएलगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्रगतिमा अघि बढाएको छ । साथै जोखिमयुक्त क्षेत्र (तल्लो तटीय क्षेत्र)का बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ । बाढीबाट थप प्रभावित हुनसक्ने अन्य नागरिकलाई सुरक्षित स्थानमा सार्न पनि निरन्तर सूचना प्रवाह भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीको जोखिम रहेका पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न ÷नगराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्देशन दिएलगत्तै सरोकारवाला निकायहरूले आफ्ना संयन्त्रहरू परिचालन गरी बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज र राहतलाई तीव्रता दिएका हुन् । जिल्लास्थित विपद् प्राधिकरणले सक्रियता बढाइसकेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासनलगायतले पीडितको उद्धार तथा खोजलाई तीव्र बनाएका छन् । वर्षाले बाढी आएको होइन जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले वर्षाले भोटेकोशीमा बाढी नआएको स्पष्ट गरेका छन् । बितेका २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा भएको र त्यहाँ सात मिलिमिटर भन्दा बढी वर्षा नभएको उनले जानकारी दिए । अर्यालले हिमताल फुटेको आशङ्का गर्दै अनुसन्धान गरिने बताएका छन् । विद्युत् आयोजना र आसपासका बस्तीमा क्षति रसुवाको भोटेकोशी नदीदेखि आएको बाढीका कारण रसुवा जिल्लाको उत्तरगया गाउँपालिका क्षेत्रमा रहेका अधिकांश जलविद्युत् आयोजना र त्रिशूली नदी आसपासमा रहेका घरहरु प्रभावित भएका छन् । गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार नदी तटीय क्षेत्रका आयोजनाका संरचना, गाउँपालिकाको कार्यालय र नजिकका घरहरू प्रभावित भएका छन् । सो क्षेत्रमा पूर्वसूचना प्राप्त भए पनि सूचनाको १५ मिनेटमै बाढीले प्रहार गर्न थालेको र केन्द्र सरकारको सम्बन्धित निकायलाई उद्धारका लागि आग्रह गरिएको उनले बताए । अध्यक्ष अर्यालले मानवीय क्षतिको विवरण आइनसकेको र पूर्वसूचना तथा उद्धारमा गएका कर्मचारीसमेत सम्पर्कविहीन भएका बताए । बाढीको जोखिमपछि तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह गरेको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा तत्काल यात्रा नगर्न र नगराउन भनेको हो । बाढीका कारण नदीको बहाव बढेको तथा सडकखण्डमा पहिरो, कटान र डुबानको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएका सम्बन्धित स्थानीय तह तथा प्रशासनलाई ती सडकखण्डमा आवतजावतमा पूर्ण रोक लगाउने व्यवस्था मिलाउनसमेत आग्रह गरेको छ । जोखिमयुक्त क्षेत्रमा सवारीसाधन तथा यात्रुको आवतजावत रोक्न आवश्यक सुरक्षा तथा समन्वय गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ । भोटेकोशीमा आएको बाढीको प्रभाव त्रिशूली तथा नारायणी नदीको तटीय क्षेत्रमासमेत पर्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । बाढी तथा पहिरोका कारण सडक अवरुद्ध हुने सम्भावना रहेकाले अत्यावश्यक अवस्थामा बाहेक उल्लिखित सडकखण्डमा यात्रा नगर्न र जोखिमयुक्त स्थानमा सवारीसाधन नरोक्न समेत प्राधिकरणले आग्रह गरेको छ । विपद्को अवस्था आएमा खोज, उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग समन्वय गर्न पनि अनुरोध गरिएको छ । सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई सहयोग गर्ने विपक्षी दलका नेताले प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा बोल्दै प्रतिनिधिसभामा विपक्षी दलका नेता भीष्मराज आङ्दाम्बेले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले सरकारले तत्कालै सक्रियता देखाएकोमा धन्यवाद दिँदै पक्ष–विपक्षभन्दा माथि उठेर संकटको घडीमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा भोटेकोशी बाढीबाट अहिलेसम्म भएको क्षतिको विवरणबारे जानकारी गराइएको थियो । बैठकमा प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यमा सक्रिय भएर जुट्न सरोकारवाला सबै निकायलाई निर्देशन दिएका थिए । बाढीपीडितका लागि डब्ल्युएचओले औषधि र स्वास्थ्य उपकरण पठाउने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि आवश्यक औषधि तथा स्वास्थ्य उपकरण पठाउने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँगको कुराकानीपछि डब्ल्युएचओले एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै २४ वर्गमिटरका १५ वटा आपतकालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागिएको जनाइएको छ । मन्त्रालयका अनुसार बाढी प्रभावितका लागि काठमाडौँ स्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको छ । हालसम्म तीन जना घाइतेलाई उद्धार गरी काठमाडौँ ल्याइसकिएको पनि मन्त्रालयले जनाएको छ । आपतकालीन स्वास्थ्य सेवाका लागि काठमाडौँस्थित सङ्घीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स र नेपाल स्काउटसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । नेपाल रेडक्रस र नेपाल स्काउटमार्फत केही चिकित्सक तथा स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको छ । मन्त्रालयले ट्रमा सेन्टरमा कार्यरत छ जना चिकित्सक र दुई जना नर्सलाई प्रभावित क्षेत्रमा पठाइसकेको जनाएको छ । त्यसैगरी आवश्यक स्वास्थ्य उपकरणसहित एउटा एम्बुलेन्स पनि प्रभावित क्षेत्रतर्फ प्रस्थान गरिसकेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार रसुवाको धुन्चेस्थित स्वास्थ्य चौकी र रसुवा अस्पतालसँग पनि सहकार्य भइरहेको छ । आपतकालीन स्वास्थ्य सम्बन्धी सहयोग, जानकारी तथा समन्वयका लागि १११५ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान, भोटेकोशी–त्रिशूलीमा अझै जोखिम चीनबाट प्राप्त सूचनाअनुसार लेन्दे खोला थुनिएको स्थानमा बनेको ताल अझै पूर्णरूपमा नखुलेका कारण भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम अझै टरेको छैन । जल विज्ञान तथा अनुसन्धान केन्द्रका अनुसार तिब्बततर्फ मितेरी पुलबाट करिब १० किलोमिटर माथि लेन्दे खोला थुनिएको अनुमान गरिएको छ । सो स्थानमा बनेको ताल पूर्णरूपमा नखुलेसम्म भोटेकोशी हुँदै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा जोखिम कायमै रहेको केन्द्रका बाढीविद् विनोद पराजुलीले जानकारी दिए । उनले अर्को सूचना जारी नभएसम्म भोटेकोशी तथा त्रिशूली नदीको आसपास नजान र नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् । चीन तर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्णरूपमा खुलेको छैन । त्यसैले भोटेकोशी र त्रिशूली क्षेत्रमा जोखिम कायमै छ– उनले भने । केन्द्रले नदीको जलसतह तथा माथिल्लो क्षेत्रमा विकसित भइरहेको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ । केन्द्रका अनुसार देवघाट बाढी मापन केन्द्रमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ । २६ प्रहरी सम्पर्कविहीन रसुवास्थित भोटेकोशी नदीमा आकस्मिकरुपमा आएको बाढीमा परी २६ जना प्रहरी सम्पर्कविहीन भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी, सिम्ले र मैलुङमा रहेका युनिटका ती प्रहरी सम्पर्कविहीन भएका हुन् । बाढीपछिको खोज तथा उद्धारको क्रममा नुवाकोट र धादिङमा आठ जनाको शव फेला परेको छ । बाढीले भोटेकोशीको तटीय क्षेत्रका बस्ती, पुललगायत सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलन गर्ने प्रयास भइरहेको छ । १३ सशस्त्र प्रहरी सम्पर्कविहीन रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट रसुवाको टिमुरे र मैलुङ क्षेत्रमा ड्युटीमा खटिइएका १३ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार टिमुरेबाट नौ र मैलुङबाट चार जना सम्पर्कविहीन भएका हुन् । बाढीपछि त्यस क्षेत्रमा सञ्चार सम्पर्क टुटेको छ । उनीहरुको खोजी भइरहेको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सिनामङ्गलस्थित विपद् उद्धार गणबाट ६० जनाको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । सशस्त्र प्रहरीको टोली रसुवादेखि नवलपरासीको त्रिवेणीसम्म पूर्वतयारी र प्रतिकार्यमा जुटेको छ । बाढीबाट रसुवागढी क्षेत्रमा कार्यरत केही कर्मचारी, पर्यटक र सर्वसाधारणसमेत सम्पर्क बाहिर रहेको सुरक्षा फौजको भनाइ रहेको छ । बाढीबाट १९ वटा पुलमा क्षति भोटेकोशी–त्रिशूलीमा गएको बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुल क्षति भएको सडक विभागले जनाएको छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण हालसम्म त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ । त्यस्तै, कम्तीमा ४० किलोमिटर सडकमा क्षति पुग्नुका साथै सडक भत्किएको उनको भनाइ छ । न्यौपानेका अनुसार क्षतिग्रस्त क्षेत्रमा सडक विभागले भारी उपकरण तथा मेसिन परिचालन गरी सडक तथा पुलको अवस्था सुधार गर्ने काम अघि बढाइएको छ । राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ ः परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी नदीमा गएको बाढीका कारण रसुवालगायत तल्लो तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारमा सरकार केन्द्रित रहेको बताएका छन् । विपद्को पछिल्लो अवस्थाबारे सरकारका तर्फबाट सदनलाई जानकारी गराउँदै उनले राहत परिचालन गर्न सरकारले राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा समन्वय गरिरहेको बताएका हुन् । प्रतिनिधिसभाको बुधवारको बैठकमा उनले रसुवा त्रिशूलीलगायत प्रहरीचौकीमा कार्यरत् २६ जना प्रहरी र सशस्त्र प्रहरी तर्फका ९ जना र नेपाल सेनाकासहित ४४ जना सम्पर्कविहीन रहेको बताए । उनका अनुसार रसुवागढी भन्सार, अध्यागमन कार्यलयलगायतका केही कर्मचारीहरू समेत हालसम्म सम्पर्कमा नरहनुभएको अवस्था छ । प्रभावित क्षेत्रका केही नागरिकहरू पनि सम्पर्कभन्दा बाहिर हुनुहुन्छ –मन्त्री खनालले भने । उनका अनुसार प्रभावित क्षेत्रमा हालसम्म नौ जनाको शव फेला परेको र सनाखत हुन बाँकी छ । भौतिक पूर्वाधारतर्फ सडक, पुल, जलविद्युत् र सञ्चार क्षेत्रलगायतमा ठूलो क्षति भएको आकलन गरिएको उनले जानकारी दिए । सरकारी तथा निजी भवन र सम्पतिमा पनि निकै ठूलो क्षति पुगेको छ– मन्त्री खनालले भने –पृथ्वी राजमार्गको गल्छी, नुवाकोट, रसुवाको स्याफ्रुबेँसी सडक तथा मुग्लिङ नारायणगढ सडकमा तत्काल यात्रा नगर्न र नगराउन सम्बन्धित स्थानीय तह, प्रशासन र सर्वसाधारणलाई अनुरोध छ । जोखिमयुक्त क्षेत्रमा यातायात लगायतका आवत जावतमा पूर्ण रोक लगाई नागरिकको जीवन सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको मन्त्री खनालले जानकारी दिए । उनले खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा तथा नुवाकोटमा नेपाली सेना र निजी क्षेत्रका गरी १३ वटा हेलिकप्टर परिचालन गरिएको बताए । साथै प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप हवाई तथा स्थल उद्धार स्रोत परिचालन गरिने उनले जानकारी दिए । उनका अनुसार उद्धार गरिएका घाइते नागरिकको उपचारको लागि नुवाकोटस्थित जिल्ला अस्पतालमा नेपाली सेनाका १५, नेपाल प्रहरीका १२ र सशस्त्र प्रहरी बलका १५ जना थप चिकित्सकसहितको स्वास्थ्य टोली पठाइएको छ । गम्भीर प्रकृतिको घाइतेको उपचारको लागि ट्रमा सेन्टर वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललगायत पाँच वटा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राखिएको छ । सदनमा जानकारी गराउँदै मन्त्री खनालले रसुवा र नुवाकोट जिल्लाको जिल्ला विपद् व्यवस्थापन कोषमा रु. एक करोड र धादिङ जिल्लाका लागि रु. ५० लाख थप निकासा गरिएको बताए । उनका अनुसार सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकको जीवन रक्षा, खोज तथा उद्धार, उपचार, राहत तथा सुरक्षित स्थानान्तरणमा केन्द्रित रहेको छ । उनले विपद् एवम् सम्भावित जोखिमबारे उत्तरी छिमेकी मुलुक चीनसँग पनि समन्वय भइरहेको जानकारी दिए । मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धता आइरहेको र परराष्ट्र मन्त्रालयले समन्वय गर्दै आएको उनले जानकारी दिए ।- पूर्वा अञ्चल दैनिक बाट प्रकाशित मिती २०८३ भदौ ११,गते,
भोटेकोशीको भीषण बाढीले सयौं मानिस सम्पर्कविहीन, केहीको शव फेला








