नेपाली सञ्चार संस्थामा प्रायः नेपालमा जे? भई रहन्छ । राजनीतिक, आर्थिक वा सामािजक घटनाक्रम हुन्छ,। कुनै सञ्चार संस्थामा पनि त्यही समाचारको पुनःप्रस्तुतिले ठाउँ ओगट्छ । केहि लेख लेख्दै गर्दा युरोप र उत्तर अमेरिकाका विभिन्न देशहरूका सञ्चालित सञ्चार संस्थाले चलाएका १४ वटा अनलाइन पोर्टलहरू छन् । ती मध्ये नेपालप्लस डटकम(फ्रान्स),खसोखास डटकम (अमेरिका) र नेपालटच डटकम (क्यानडा) खोल्ने बित्तिकै पहिलो पाँच समाचारहरू स्थानीय विषयमा लेखेको पाइन्छ।नेपालको समाचार हेर्नका लागि नेपालकै अनलाइनहरू पर्याप्त छन् । त्यही समाचार पुनःलेखन गर्नुको साटो स्थानीय गतिविधिका बारेमा प्रवासी नेपाली पाठकलाई जानकारी दिन सकिएन भने प्रवासी नेपाली मिडियाले स्थानीय पाठकहरू बीच आफ्नो स्थान बनाउन सक्दैन । स्थानीय पाठकलाई काम लाग्ने खुराक दिन सकिँदैन र नेपालकै धङधङीमा रमाउने हो भने प्रवासमा त्यस्ता समाचार संस्थाको औचित्य छैन । स्थानीय भाषामा पनि समाचार उत्पादन गरौं । नेपालमा हुर्किएर प्रवासमा भाग्य खोज्दै हिँडेको हाम्रो पुस्ताले नेपाली समाचार पढ्छ, बुझ्छ । तर, सानो उमेरमै विदेश आएका वा प्रवासमै जन्मेका बालबालिकालाई नेपालबारे उत्ति जानकारी हुँदैन । एकातिर नेपाली भाषामा मात्रै लेखेर÷बोलेर हाम्रै बालबालिकाले बुझ्दैनन् । अर्कातिर, हामी पनि नेपाली भाषामा मात्रै अनलाइन चलाएर स्थानीय समुदायमा भिज्न सक्दैनौं । यसको अर्थ हो– हाम्रो पत्रकारिताले नेपाल र प्रवासलाई जोड्न सकेन । त्यसका लागि आफू बसेको देशको भाषामा पनि समाचार प्रकाशन गर्ने काम गर्नुपर्छ ताकि हाम्रा नानीबाबुले पनि नेपालित्वबारे जानकारी पाउन् । स्थानीय समुदायलाई पनि नेपाली आप्रवासीका सरोरकारका विषयमा जानकारी होस् । मातृभूमिको प्रवद्र्धन गर्ने हो भने हामीले हाम्रो पत्रकारितालाई स्थानीय भाषामा समेत प्रकाशन÷प्रसारण गर्न ढिला गर्नुहुँदैन ।– अरुकै सञ्चार संस्थामा नियमित लेखौं । हामीले सबैभन्दा सस्तो ठानेको अनलाइन पोर्टललाई व्यावसायिक हिसाबले चलाउन सबैभन्दा खर्चिलो छ । अनलाइनमा समाचारलाई अझ विश्वस्त बनाउन तस्बिरको प्रयोग, श्रव्यदृश्य सामग्रीको प्रयोग, रेखाचित्रको प्रयोग गर्न सकिन्छ । फेरि अनलाइनमा समाचार प्रकाशन गर्ने कुनै समयसिमा हुँदैन । पाठकहरू संसारभरि छरिएका हुन्छन् । जति समाचार प्रकाशन गरे पनि अनलाइनको भाँडो अखबारको जस्तो भरिनेवाला छैन । त्यसमा पनि एक्लै चलाउन खोज्ने जोसले अझ दुःख दिन्छ । आफूसँग सञ्चार संस्था चलाउने मनमिल्दा साथीहरूको समूह छैन भने आफूलाई मन परेको सञ्चारमाध्यममा लेखक, स्तम्भकार वा टिप्पणीकर्ताका रूपमा आफूलाई सिमित राख्नु उपयुक्त हुन्छ ।यसो गर्दा आफूलाई जसरी भए पनि पत्रकार हुनै पर्ने झन्झटबाट मुक्त राख्न सकिन्छ भने अरुले चलाएको अनलाइनमा योगदान गरेर आफ्ना समकक्षी साथीहरूलाई सहयोग गर्न सकिन्छ । फेरि हप्ता–दुई हप्तामा एउटा टिप्पणी वा लेख वा समीक्षा लेख्न सकियो भने आफ्नो लेखाइको गुणस्तर पनि बढ्छ । समाचार त जतासुकै पाइन्छ, आफ्नो ब्रह्मले देखेको सत्य लेख्न त आफैं अघि नसरी हुन्न । साथीहरूलाई सहयोग गरौं । हरेकले सम्पादकै हुनु पर्ने मानसिकताबाट पछि हटौं ।
..स्थानीय समाचार हरुलाई प्राथमिकता देउ !!





