समय : ०५:२२ pm | शुक्रबार , वैशाख ४ गते २०८३

पाथीभरामा दुई करोड ९६ लाख भेटी सङ्कलन

सेवालुङ खवर | वैशाख १ गते २०८३

ताप्लेजुङ, वैशाखा १ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दुई करोड छ्यानब्बे लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ । पछिल्लो नौ महिनाको अवधि अर्थात चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा उक्त भेटी रकम सङ्कलन भएको हो ।पाथीभरा क्षेत्र विकास समितिले सोमबार बेलुकी सार्वजनिक गरेको विवरण अनुसार नौ महिनाको अवधिमा कुल दुई करोड ९६ लाख ४२ हजार ६०० रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आवको साउनदेखि चैत महिनाको मसान्त सम्ममा उक्त भेटी रकम सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । कार्यकारी निर्देशक हाङ्बाङका अनुसार नौ महिनाको अवधिमा सबैभन्दा बढी भेटी रकम मङ्सिर र कम भदौ महिनामा सङ्कलन भएको छ । मङ्सिर महिनामा कुल ७५ लाख ४९ हजार १०० रुपियाँ र भदौमा नौ लाख ९७ हजार रुपियाँ भेटी सङ्कलन भएको हाङ्बाङले जानकारी दिनुभयो ।समितिका अनुसार चैत महिनामा ५८ लाख ४४ हजार ५०० रुपियाँ भेटी सङ्कलन भएको छ । यस्तै साउन महिनामा १० लाख ३९ हजार रुपियाँ, असोजमा ३३ लाख ८२ हजार रुपियाँ भेटी सङ्कलन भएको छ । कात्तिकमा ३४ लाख ४८ हजार ५०० र पुस महिनामा २४ लाख २५ हजार रुपियाँ भेटी रकम सङ्कलन भएको समितिले जनाएको छ ।पाथीभरा दर्शनमा आउने भक्तजनले चढाएका तथा दान गरेको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन गर्ने गरेको छ । समितिले सङ्कलन गर्ने भेटी रकम पछिल्लो समय प्रत्येक महिना अर्थात मासिक रुपमा सार्वजनिक गर्ने गरेको छ ।यता नौ महिनाको अवधिमा एक लाख ८० हजार ३०६ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । गत साउन महिनादेखि चैत मसान्त सम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका समितिले जनाएको छ । यस अवधिमा सबैभन्दा बढी चैत महिनामा ४८ हजार १५५ जना भक्तजन पाथीभरा दर्शन गर्न आएका छन् । चैतपछि कात्तिक महिनामा ४२ हजार २६१ जना र असोजमा २९ हजार १७४ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । दसैँ तिहारको समय असोज कात्तिक र चैते दसै रामनवमीको समय चैत वैशाखमा पाथीभरा दर्शन गर्ने मुख्य सिजन (मौसम) मानिन्छ । सोही अनुसार हरेक वर्षको उक्त दुई मुख्य सिजनमा पाथीभरा दर्शनका लागि भक्तजन उल्लेख्य रुपमा आउजाउ गर्ने गर्दछन् । समितिका अनुसार देशका विभिन्न जिल्ला र नेपाल बाहिर भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल लगायतबाट पाथीभरा दर्शन गर्नलाई भक्तजन आउने गरेका छन् ।-चन्द्र पन्दाक,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्