समय : ११:४५ am | शनिबार , भाद्र २७ गते २०८३

कुसुमे रुमाल कविता,,

सेवालुङ खवर | असार २६ गते २०८१

कुसुमे रुमाल कविता,,

भन्दैछ तराई,पहाड र हिमाल
भन्दैछ सिङ्गो देश नेपाल
घर–घरमा बाँडिदिनुहै काठमाडु!
अहिलेसम्म नबाँडिएको कुसुमे रुमाल÷
जो दाजुले मात्र पायो मलाई छैन नभनियोस्
त्यो रुमाल कसैको पेवा मात्र हो मेरो हैन नभनियोस्
बरु मनले मनहरुलाइ समेट्ने बैना भनियोस्
समग्रको आवाज स्वीकार्ने ऐना भनियोस्

काठमाण्डु! तिम्रो रुमाल निर्दोष मुस्कुराउने नानी जस्तो होस्
जो हातमा लिउँ–लिउँ लागोस्
ढुङ्गे धराको निर्मल पानी जस्तो होस्
जो पिउँ–पिउँ लागोस्
नेपाली मन त के मित्र देशको मनलाई पनि सिकेर यस्तै रूमाल सिउँ–सिउँ लागोस्
अर्थात कुसुमे रुमालभित्र जिउँ–जिउँ लागोस्

त्यो रुमाल या मैच्याङ र ठुलीले बुनेको होस्
या नेवारी चेलीले कुनेको होस्
या त संविधानको ठेलीले बुनेको होस्
तर सत्तहतरवोटै जिल्लाको मुटुले तुनेको होस्
संसारले हेरेर चुमेको होस्
नचुमोस पनि कसरी
यसको सुगन्ध प्रत्येकले फेर्ने स्वासप्रस्वासमा पुगेको होस्

हो काठमाण्डु तिम्रो रुमाल खोलेर हेर्दा
सबैले ओढ्न मिल्ने टोपी होस्
आमाले सन्तानलाई दिने ढिंडो र रोटी होस्
गुँडविहीन चराहरुको घरबारी होस्
मिडियाले दिन नसकेको साझा फूलबारी होस्
त्यो भन्दा पनि ठुलो कुरा माया नै मायाले भरिएको एउटा समझदारी होस्

तिम्रो कुसुमे रुमाल भित्र इन्द्रेणी बस्ती समेटियोस्
जो कोहिले पनि आफूले आफूलाई खोज्दा भेटियोस्
बिन्ती छ काठमाण्डु!
मनले मनहरुलाई नरेटियोस्

यहाँ सुन्नहोस् त
हाम्लाई छिमेकी देशको आँठा नसम्झियोस्
माया बाँड्दा टाढा नसम्झियोस्
भनेर रुँदै थियोे दार्चुला र ओलाङ्चुङ्ले
यस्तै –यस्तै गुनासो सुनाउनु है भन्दै थियो डोल्पा र ताप्लेजुङले

काठमान्डू! यो भेट नै सुअवसरको यामजस्तो लाग्यो
हजुरलाई सुनाउने मेरो काम जस्तो लाग्यो
भोलि गाउघरले आँशु तपतपाउदै सोध्ला के मागिल्यायौ भनेर

हजुरले दिए त लगिदिने हो नि कुसुमे रुमाल
नदिए त के लानुर उस्तै छ रोइरहने गाउँ–घरको हाल

भूपू डाँडाको गुनासो

ओहो !साला ! त्यो भुन्टी देउराली पनि स्याप्प कपाल कोरेर गुराँसको थुँगा सिउरिदै
मसक्क मस्केकोरे नाथु एउटा लुङ्दर बोक्ने डल्ले हिमाल देख्दैमा मस्किहाल्नु पर्छर ? अनि आफन्त सँग चाहिँ
शंकाले झस्किहाल्नु पर्छर ?

नबोलोस् भनेको त त्यै डल्लेसँग आँखा झिम्काउदै दिल खोलिरहेछ ।
आफ्नो चाहिँ कति धेरै आगोले मन पोलिरहेछ; तर भुन्टी डल्लेलाइ मन पराइरहन्छे
उत्तै हराइरहन्छे
डल्लेकै जुँगामा मेहन्दी लगाइरहन्छे

यत्ता हेर्छन् कि भनेर हिमपोखरीको आस्था उभिदिएँ
सुनपाती र चिमलको अत्तरले आफूलाई छर्काएर मन्दिरको घण्टी बजिदिएँ
मिडियामा सिंदुर भन्दा रातो रङ्गिदिएँ
तर कत्ति रिस उठ्दो!
हावामा एक सर्को पालाम गाइन् डल्लेकै सम्बोधनमा ।
ध्वजा पत्तकामा पतर–पतर भट्याउन थालिन डल्लेकै च्यातिएको गुनगान तर देख्दैन डल्लेको नयाँ नाकबाट चुहुने पुरानो हिमनदीको सिँगान
जसले पटक–पटक हाम्रो सहजताको बाटो छेक्दै आएको छ ।
जति ढोग्यो उत्ति टेक्दै आएको छ । यस्तो पीडा त भुन्टीले पनि भोगेकै हो ।
तर भुल्नु हुन्नथ्यो धोका
र खोल्नुहुन्नथ्यो विश्वासको ढोका

भुन्टीलाई देखेर डल्ले लुकाउदै फाल्छ चुरोट तर हुस्सेमा उठिरहेछ धूवाँ त्यै धूवाँ छेकेर उभिरहेछ डल्ले
हेर डल्लेको चाउरिएको छाला
सेतै पाउडर दलेको गाला
बनावटी चाला
थाहा छैन भोलिको ठक्कर
उसैसँग चलिरहेछ भुन्टीको चक्कर

यसरी मेरो मायालाई सधैं –सधैं भूलेर बसुन भुन्टी
त्यै डल्लेको सेतो कपाल उखालेर बसुन भुन्टी

उनकै छेउबाट भत्केर गइदिन्छु
कैले नआउने गरेर गइदिन्छु
बल्ल अबरोधको डाँडा भत्क्यो भनुन्
टाउकाको जुम्रा हट्यो भनुन्

जब डल्ले हिमालले नाकामा डल्लो पार्छ
मायामा खल्लो पार्छ
त्यसबेला भुन्टीले
रुँदै यो नभनुन् कि मेरो भूपू डाँडालाई दसगजा वारि डाक्न चाहन्छु
उसैको काखमा बाँच्न चाहन्छु

तर अफसोस ! त्यसबेलासम्ममा मलाई महासगरको उपनिवेशले डुबाइसकेको हुनेछ र
भुन्टीको सिउँदोले गुमाइसकेको हुनेछ।

लेकाली कान्छा “मुक्कुम“
फु न पा ९ ताप्लेजुङ

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्