याक्थुङ मुन्धुम वर्णन अनुसार पहिलो मानव पुर्खा मुजिङ्ना खेयङ्ना (मुयङ्ना) हावा बतासको माध्यमबाट गर्भवती भइन् । यसपछि उनको एक बुबा विनाको छोरा जन्मियो । उनको सानो छँदाको नाम सुसुवेङ् लावावेङ् र ठूलो भई धनुकाँड चलाएर शिकार खेल्न सक्ने भएपछिको नाम सावा युक्पुङ्गेम्बा थियो । आफ्नो आमाको सुझाव र निर्देशन अनुसार सावा युक्पुङ्गेम्बा धनुकाँड, सुनको छेलो र आफ्ना चार कुकुरहरू कोचो–तङ्ना, ख्या–तङ्ना, किधि–तङ्ना, परा–तङ्ना लिएर शिकार खेल्न वन–जङ्गलतर्फ लागे । यसरी दक्षिणतिर छेलो हान्दै मृग (पेÞङ्वा)को सिकार खेद्दै जाँदा उनी एक पर्वतको शिखरमा पुगे । त्यहाँ पुग्दा उनले एक महिला तान बुन्दै गरेको भेटे । त्यही ठाउँमा उनका शिकार मृग र शिकारी कुकुरहरूको पाइला पनि पुगेर अलप भयो । खासमा ती मृग र शिकारी कुकुरहरू तिनै महिलाले त्यहीँ लुकाई दिएकी थिइन् । यसरी एकान्तमा सुनको गहनाले धपक्कै बलेकी तरुनी तान् बुन्दै बसेकी थिइन् । चिनारी गर्दा उनी योसुलुङ्मा मुक्कुम्लुङ्मा भएको थाहा भयो । पछि विशेष मानमनितो र विधि पु¥याएपछि तिनै मुक्कुम्ङ्माले अल्पाएका मृग र कुकुरहरू पत्ता लगाउने जुक्ति सिकाइ सोही अुनसार गर्दा ती सबै भेटिए । ती मुक्कुम्लुङ्मा तान बुन्न सो पहाडको शिखरमा र अरु बेला बास बस्न सो पहाडको फेदी तमोर (इम्बिरि याम्धाःङ्वा) नदीको किनार छिरुवानी (लुङ्इक्वा)को एक ओढारमा बस्दथिन भन्ने लोक विश्वास छ । वास्तवमा, तिनै महिला मुन्धुममी पात्रको नाममा यो पर्वतको नाम मुक्कुम्लुङ्मा रहन गयो भन्ने लोकविश्वास पनि पाइन्छ । साभार

फोटो बसन्त लाबुङ लिम्बू








