साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी स्टेडियममा सोमबार भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो । अत्तिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले गोल गरे । उनले खेलको १०६ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाबिरुद्ध एक शून्यको अग्रता लिएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि एक शून्य गोलको जित हासिल ग¥यो । खेलको निर्धारित ९० मिनेटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो । त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भयो । सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले गोलअन्तरले पराजित गर्दै विश्वकपको फाइनलयात्रा तय गरेको थियो । स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको थियो । दुई वर्षअघि बर्लिनमा युरोपेली च्याम्पियन बनेको स्पेनले अमेरिकाको न्यूजर्सीमा भएको फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनालाई हराउँदै उपाधि जितेको हो । यसअघि स्पेनले सन् २००८ को युरो कप जितेको २ वर्षपछि सन् २०१०मा पहिलो पटक फिफा विश्वकपको उपाधि जितेको थियो । स्पेनको पछिल्लो सफलताले पुरुष तथा महिला खेलमा उनीहरूको उल्लेखनीय वर्चस्वलाई निरन्तरता दिएको छ । स्पेन पुरुष र महिला दुवै विश्वकपको उपाधि एकैसाथ जित्ने पहिलो देश हो । सन् २०२३मा अस्ट्रेलियाको सिड्नीमा भएको महिला विश्वकपको फाइनलमा स्पेनले इङ्ग्ल्यान्डलाई १–० ले हराएको थियो । त्यस्तै पुरुष टोलीले सन् २०२३ मा नेसन्स लिग र सन् २०२४ को ओलम्पिकमा स्वर्ण पदक जित्यो भने महिला टोलीले सन् २०२४ र २०२५ दुवै वर्ष नेसन्स लिगको उपाधि जित्यो । समग्रमा पछिल्ला पाँच वर्षमा स्पेनले १७ वर्षमुनिदेखि राष्ट्रिय टोलीसम्म १६ वटा विश्व तथा युरोपेली उपाधि जितेको छ । यसमा सन् २०२२ देखि २०२६ सम्म महिला टोलीका ११ र पुरुष टोलीका ५ उपाधि रहेका छन् । सन् २०२२ को डिसेम्बरमा स्पेनले लुइस डे ला फुएन्तेलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्दा उनले यति छोटो समयमै नेसन्स लिग (२०२३), युरोपियन च्याम्पियनशिप (२०२४) र विश्वकप (२०२६) को सफलता दिलाउनेछन् भन्ने अपेक्षा निकै कमले मात्र गरेका थिए । कतारमा भएको अघिल्लो संस्करणको विश्वकपको अन्तिम १६ मा मोरक्कोसँग पराजित हुँदै स्पेन बाहिरिएपछि लुइस एनरिकेले मुख्य प्रशिक्षकको पद छोडेका थिए । कुनै ठूलो क्लवको व्यवस्थापन सम्हालेको अनुभव नभइकनै डे ला फुएन्तेले स्पेनको जिम्मेवारी सम्हाल्नु जोखिमपूण देखिन्थ्यो । स्पेनले विगत ३ मध्ये ३ वटा पुरुष युरोपेली च्याम्पियनशिप (सन् २००८, २०१२ र २०२४) को उपाधि जितेको छ । सन् १९९४मा खेलाडीका रूपमा सन्न्यास लिएपछि स्पेनको युवा टोलीको जिम्मेवारी सम्हाल्नुअघि डे ला फुएन्तेले विभिन्न क्लबमा १५ वर्षसम्म विभिन्न भूमिकामा काम गरे, यसमा स्पेनका तल्लो श्रेणीका लिगहरूमा टोली व्यवस्थापन, युवा टोलीसँग सम्बन्धित जिम्मेवारी र सहायक प्रशिक्षकको भूमिका समावेश थिए । १९ वर्षमुनि, २१ वर्षमुनि र ओलम्पिकस्तरका टोलीहरूको नेतृत्व सम्हालेपछि मुख्य प्रशिक्षकमा नियुक्त भएका डे ला फुएन्तेले प्रतिद्वन्द्वी तथा प्रक्रियाप्रति सम्मान गर्ने, साथै धैर्य र संयमता अपनाउने संस्कृतिको विकास गरेका छन् । राष्ट्रिय टोली र स्पेनी प्रशिक्षकहरूको सफलता क्लब फुटबलमा पनि देखिएको छ । स्पेन अहिले सबै प्रतियोगिताहरूमा आफ्ना पछिल्ला ३८ खेलमा अपराजित छ । यो इतिहासमै कुनै पनि युरोपेली वा दक्षिण अमेरिकी टोलीको सबैभन्दा लामो अपराजित यात्रा हो । विश्लेषकहरू आइरहेका नयाँ खेलाडी र व्यवस्थापकीय कुशलतका कारण फुटबलमा स्पेनको भविष्य उज्ज्वल देखिने विश्वास गर्छन् । लामिन यामाल र पाउ कुबार्सीले १९ वर्षको उमेरमा आफ्नो पहिलो विश्वकप विजेता पदक जितेका छन् । राष्ट्रिय महिला टोलीबाट खेल्ने भिक्की लोपेजले क्लब फुटबलमा बार्सिलोनासँग खेल्दा १९ वर्षको उमेरमा ३ पटक च्याम्पियन्स लिग जितेकी छिन् । फरवार्ड साल्मा पारालुएलोले पनि २३ वर्षको उमेर नपुग्दै ५० भन्दा धेरै आफ्नो देशको प्रतिनिधित्व गरिसकेकी छिन् ।
फिफा विश्वकप–२०२६ स्पेन विश्वविजेता








