ताप्लेजुङ – दसैँ सुरु भएसँगै ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार सुनसान हुन थालेको छ । दसैँ चाड मनाउन गाउँघर फर्कनेहरूका कारण फुङ्लिङ बजार सुनसान बनेको हो । सदरमुकाममा व्यापार गर्दै आएका व्यापारीदेखि कर्मचारी, विद्यार्थी र सर्वसाधारणसमेत दसैँ बिदामा चाडपर्व मनाउन गाउँबस्ती फर्केपछि बजार सुनसान बनेको छ। केही टाढा घर भएकाहरू दुईरतीन अघिदेखि नै गाउँ फर्कन थालेको थिए । सदरमुकाममा बसेर पढ्ने विद्यार्थी, टाढाका शिक्षक, रोजगारी गर्दै आएका सर्वसाधारण मजदुरलगायत केही दिनअघि नै गाउँ फर्केपछि बजार सुनसान हुँदै गएको थियो । बुधबारदेखि सबै सरकारी कार्यालय बिदा भएसँगै कर्मचारीहरू पनि आ–आफ्नो घर गाउँ लागेपछि बजार थप सुनसान भएको हो । यसरी गाउँघर फर्कनेका कारण बजार सुनसान हुँदै गएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताउनुभयो । अध्यक्ष थापाका अनुसार आजसम्म बजारमा सामान्य चहलपहल रहे पनि शुक्रबारदेखि ठप्प हुने छ। स्थानीय बजारवासी यहीँ रहे पनि पसलहरू नखुल्ने हुँदा बजार पूर्णरुपमा सुनसान हुने उहाँको भनाइ छ । दसैँ सकिएपछि मात्र बजारमा चहलपहल सुरु हुने थापाले बताउनुभयो। यता यतिबेला गाउँघरमा भने निकै चहलपहल बढेको छ । सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका स्थानीय सञ्जय लिम्बूले अहिले दसैँ मनाउन घर फर्कनेहरूका कारण गाउँघरमा चहलपहल बढेको बताउनुभयो । साभार:-रेडियो तमोर,
दसैँ सुरुवात भएसँगै ताप्लेजुङको फुङ्लिङ बजार सुनसान,








