काठमाडौं, भदौ २७ सभामुख देवराज घिमिरेले नेपालको पूर्वी पहाडमा उत्पादित अलैंची पाकिस्तान निर्यातका लागि छलफल शुरु गरेका छन् । सभामुखको कार्यकक्षमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमीसँग भएको शिष्टाचार भेटमा सभामुख घिमिरेले पहाडमा उत्पादित अलैंची निर्यातका लागि सहयोग गर्न आग्रह गरेका हुन् । नेपालमा हाल १६ हजार हेक्टर क्षेत्रफलमाअलैंची खेती भइरहेको छ । नेपाली अलैंची पाकिस्तानमा निर्यात हुने भए पनि नगण्यमात्र रहेको सभामुखको भनाइ थियो । नेपालमा उत्पादित अलैंची उच्च गुणस्तरको छ, तर पाकिस्तान निर्यात थोरैमात्रै हुन्छ– सभामुखले भने –पाकिस्तान नेपालको कृषिजन्य उत्पादनको बजार हुन सक्छ । सोही क्रममा नेपालका लागि पाकिस्तानका राजदूत हासमीले केही दिनभित्रै नेपालबाट दुई कन्टेनर अलैंची पाकिस्तान जाने तयारीमा रहेको बताउँदै त्यसको प्रतिक्रियाका आधारमा थप लैजान सकिने बताए । उनले नेपालको चिया, जडीबुटी लगायतको माग पनि पाकिस्तानमा प्रशस्त रहेको बताए । अलैंची उत्पादन विश्वमा सबैभन्दा धेरै नेपालमा हुन्छ । तर, विश्व बजारमा नेपालको उत्पादन हिस्सा कम छ । कूल विश्व बजारको मागमा नेपालको निर्यात ८ अर्ब २७ करोडमा मात्र सीमित रहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कमा उल्लेख छ । नेपालका ६ प्रदेशका ५४ जिल्लामा अलैंची खेती हुन्छ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ जिल्लामा सबैभन्दा बढी अलैंची उत्पादन हुने गरेको छ । भेटमा सभामुख घिमिरेले दुई मुलुकबीचका व्यापारिक संयन्त्र लगायतको क्रियाशीलताले मात्रै व्यापारिक सम्बन्धलाई थप प्रभावकारी बनाउन सकिने धारणा राखेका थिए । पर्यटन, ऊर्जा, व्यापार विकास लगायतका क्षेत्रमा पाकिस्तानले लगानी गर्न सक्दछ– सभामुखले भने–नेपाल पाकिस्तानको लगानीलाई स्वागत गर्न तत्पर छ । नेपाल विकास र आर्थिक क्षेत्रमा प्रगतितर्फ रहेको बताउँदै सभामुख घिमिरेले प्राविधिक शिक्षाका लागि पाकिस्तानको सहयोग अपेक्षित रहेको उल्लेख गरे । राष्ट्रसंघ लगायतका साझा मञ्चमा दुई मुलुक सँधै साथ रहेको सभामुखको भनाइ थियो । उनले सिधा हवाई यातायातको सम्भाव्यताबारे छलफल गर्नुपर्नेमा समेत जोड दिए । सभामुखले संसदीय मैत्री समूहमार्फत दुवै मुलुकले आफ्ना विकास, प्रविधि र जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन भूमिका खेल्न सक्ने बताए । राजदूत हासमीले दुई मुलुकबीच गहिरो सम्बन्ध रहे पनि द्विपक्षीय र बहुपक्षीय मञ्चको फाइदा लिन नसकिएको धारणा राखेका थिए । उनले नेपाल र पाकिस्तान सार्कको संस्थापक राष्ट्र रहेकाले उक्त फोरमलाई आर्थिक विकासमा प्रयोग गर्न सकिने बताए । राजदूत हासमीले सिधा हवाई सम्बन्ध नभएको अवस्थामा विद्युतीय माध्यमबाट दुई देशबीच व्यापारिक गतिविधि सञ्चालन गर्न सकिने उल्लेख गरेका थिए । साभार पूर्वा अञ्चल दैनिक,
पाकिस्तानमा अलैंची निर्यातका लागि सभामुखको पहल,








