ताप्लेजुङ, ताप्लेजुङ पर्यटन महोत्सव २०८१ अन्तर्गत भएको डोको क्यारी रन डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङ्लुङ गाउँपालिकाका–२ का छत्रबहादुर कार्की प्रथम भएका छन् । सदरमुकामदेखि सुकेटारस्थित सानो पाथीभरा मन्दिर पुगेर फर्किनुपर्ने करिब १४ किलोमिटरको निर्धारित दूरी एक घण्टा १५ मिनेटमा पार गर्दै कार्की प्रथम भएको आयोजक समितिले बताएका छन् ।यस्तैगरी पाँचथरको फिदिम नगरपालिका–१४ का विशाल राईले एक घण्टा १९ मिनेटमा निर्धारित दूरी पार गर्दै द्वितीय भएका थिए भने मिक्वाखोला गाउँपालिकाका–३ का मिङ्मा शेर्पा एक घण्टा २० मिनेटपछी दूरी पार गरेर तृतीय भएका छन् ।चौथो देखि क्रमशः दसौँसम्म फक्ताङ्लुङका सञ्चबहादुर शेर्पा, मिक्वाखोलाका फुर्वालाक्पा शेर्पा, मैवाखोलाका पाशाङ बाङ्गल शेर्पा, फुङ्लिङ नगरपालिकाका दिपेन्द्र सुजी, मैवाखोलाका लाक्पानुर्वु शेर्पा र मैवाखोलाकै आशकुमार लिम्बू रहेको थियो ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ भने चौथोदेखि दसौँसम्मका लागि जनही रु एक हजारसहित प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिले बताएका छन् ।उक्तमहोत्सवमा यसअघि दुना टपरी गाँस्ने, धुप बाट्ने, वक्तित्वकलालगायतका प्रतियोगिता सम्पन्न गराएका छन् भने महोत्सवको अन्तिम दिन सोमबार पाथीभरा म्याराथन हुने आयोजक समितिले जानकारी गराएकाछन् ।
डोको क्यारी रन प्रतियोगितामा फक्ताङ्लुङका कार्की प्रथम








