ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा ९मुक्कुमलुङ० मा वैशाख महिनामा उनान्सत्तरी लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार वैशाख महिनामा मात्र उक्त रकम बराबर भेटी सङ्कलन भएको हो ।पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको भेटी विवरण अनुसार वैशाख महिनामा कुल ६९ लाख ३२ हजार चार सय रुपियाँ सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएका तथा दान गरेको भेटी रकम समितिले सङ्कलन गरी सार्वजनिक गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार पाथीभरामा सङ्कलित उक्त भेटी रकम जिल्लास्थित विभिन्न बैङ्कमा जम्मा गरिएको छ । ताप्लेजुङस्थित नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबी बैङ्कमा रहेको समितिको खातामा भेटी रकम जम्मा गरिएको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । पछिल्लो समय समितिले पाथीभरामा सङ्कलन हुने भेटी रकम प्रत्येक महिना सार्वजनिक गर्दै आएको छ । एक लाख भक्जतन चैत वैशाखमा मात्र एक लाखभन्दा बढी भक्तजनले पाथीभराको दर्शन गरेका छन् । पाथीभरा दर्शन गर्ने दोस्रो मुख्य याम भएकाले चैत र वैशाखमा बढी भक्तजन पाथीभराको दर्शन गर्न पुग्ने गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार दुई महिनामा कुल एक लाख चार हजार २५९ भक्तजनले पाथीभराको दर्शन गरे । समितिका कार्यकारी निर्देशक हाङ्बाङका अनुसार वैशाखमा ५१ हजार ८०४ जना भक्तजनले पाथीभराको दर्शन गरे । चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्ममा भने दुई लाख २० हजार २७२ जना भक्तजनले पाथीभराको दर्शन गरेका समितिले जनाएको छ । यस्तै नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल, आसामलगायतबाट उल्लेख्य रूपमा भक्तजन पाथीभरा दर्शन गर्न आएको समितिले जानकारी दिएको छ । तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभराको दर्शन गर्ने मुख्य याम भने असोजरकात्तिकमा पनि उत्तिकै भिड लाग्ने गरेको छ ।गोरखा पत्र अनलाईनबाट
वैशाखमा उनान्सत्तरी लाख भेटी








