ठूले
कविता,
मुस्कानलाई असन्तुष्टिको
तुवाँलोले छोपछाप पारेर
रूखो पखेरामा टेकेर
चैते हुरीको खुईंया फालेर
हिउँ वोक्ने पहाड जस्तै
खै ! को को वोक्दैछ
लुङ्फावुङ ठूले डोको वोक्दैछ
हरपल–हरपल खोकिरहन्छ
आधा हरेसै हरेस वोकिरहेछ
आधा चाहिँ आफ्नै परिवारजस्तो
अव्यवस्थित देश वोकिरहेछ
भाउ नवढेको रोजले ढुकिरहेछ
रोजले नहटेको वोझले लुटिरहेछ
ठूलेको अवसरको कुरा टाढिन्दै जाने
आकाशले खोल्छ
उसको स्वतन्त्रता चाहिँ
भुकुण्डोभित्रको वतासले वोल्छ
कटेरोको छाना टाल्दा वचेराको नाना फाट्छ
वचेराको नाना टाल्दा कटेराको छाना फाट्छ
कटेरा थाक्यो कि विउँझिएर वचेरा रुन्छ
वचेरा सुत्यो कि चुहिएर कटेरा रुन्छ
एकातिर वचेरा नाङ्गिन्दैछन्
अर्काेतिर श्रीमती वाङ्खिन्दैछन्
उसले छोट्याउन खोजेको
दुःखको डोरी झन्–झन् टाँगिन्दैछन्
तर पनि त्यहीँ विपत्ति छेक्ने धोको वोक्दैछ
लुङ्फावुङ ठूले डोको वोक्दैछ
डाकोमा के छैन ? उसको दर्द नवोल्ने
मिडियाहरूको लस्कर छ
अनि राष्ट्रस्तरीय मिडियाहरूलाई
आफ्नो स्तुति गाउन लगाउने तस्कर छ
ठूलेको परिचय भन्नुपर्दा
अवस्थाले सुकुम्वासी वनाएको
आदिवासी हो
व्यवस्थाले प्रवासी वनाएको देशवासी हो
अर्थात पिंजडाभित्रको धरावासी हो
डोकोमा न्यायधीश राजा वसिरहेछ
र त न्यायधीशको न्यायले ठूलेलाई डसिरहेछ
भन्नैपर्दा ठूले पखेटा विहीन भएको छ
ठूलै पहिरो लागेको माटो भएको छ
साथै अरूवाट चलाइने हाँतो भएको छ
हाँतो वन्दा वन्दै जलेरसक्दै गरेको राँको भएको छ
तैपनि ठूलेसंग इरेजर र पेन्सिलको पोको छ
किनकि आफ्नो सौन्दर्य गुमाएर देश रोएको छ
लेकाली कान्छा मुकुम
फु.न.पा ९ हाङदेवा ताप्लेजुङ ।









