पान्थर — पान्थरमा आयोजित याक्थुङ (लिम्बू) साहित्यिक कार्यक्रमले याक्थुङ भाषा, साहित्य र पहिचानको आन्दोलनलाई नयाँ उचाइमा पु¥याएको छ । कार्यक्रममा ७ जना स्रष्टाहरूका १२ वटा साहित्यिक कृतिको एकसाथ विमोचन गरिएको थियो । उक्त दृश्यले याक्थुङ साहित्य अब संरक्षणको सीमित घेराबाट अघि बढेर सशक्त पुनर्जागरणको यात्रामा प्रवेश गरिसकेको सन्देश दिएको सहभागीहरूले बताएका छन् । नेपालका विभिन्न भाषा, लिपि र साहित्य ओझेलमा पर्दै गएको वर्तमान समयमा पान्थरमा देखिएको यस्तो साहित्यिक जागरणलाई ऐतिहासिक र प्रेरणादायी कदमका रूपमा हेरिएको छ। कार्यक्रममा सहभागी साहित्यकार तथा अभियन्ताहरूले याक्थुङ भाषा र साहित्य बचाउने अभियान अत्यन्त सक्रिय, संगठित र जीवन्त बन्दै गएको धारणा व्यक्त गरेका थिए। कार्यक्रममा वक्ताहरूले भाषा केवल संवादको माध्यम मात्र नभई समुदायको अस्तित्व, इतिहास र सभ्यताको आधार भएको उल्लेख गरे। “जब कुनै समुदाय आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति यति समर्पित हुन्छ, त्यो समुदायको भविष्य कहिल्यै अन्धकारमा हराउँदैन,” भन्ने सन्देश कार्यक्रममार्फत सम्पूर्ण याक्थुङ समुदायलाई प्रवाह गरिएको सहभागीहरूको भनाइ थियो।कार्यक्रममा आयोजक संस्थाप्रति पनि विशेष आभार व्यक्त गरिएको थियो। सहभागीहरूले याक्थुङ प्रज्ञा प्रतिष्ठान, लेखक, साहित्यकार तथा भाषा अभियन्ताहरूले पु¥याएको योगदानको खुलेर प्रशंसा गरेका थिए। उनीहरूले याक्थुङ भाषा संरक्षण गर्नु भनेको केवल एउटा भाषा जोगाउनु नभई सभ्यता, पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको आत्मा जोगाउनु भएको बताए।साथै कार्यक्रममा मुन्धुमको चेतना, सिरिजङ्गाको सपना र याक्थुङ अस्तित्वको आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याइएको थियो। सहभागीहरूले याक्थुङ भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि यस्ता कार्यक्रम निरन्तर आयोजना हुनुपर्ने धारणा व्यक्त गरेका छन्। कार्यक्रम उत्साह, सांस्कृतिक चेतना र साहित्यिक ऊर्जा भरिएको वातावरणमा सम्पन्न भएको थियो ।
पान्थरमा याक्थुङ साहित्यको ऐतिहासिक जागरण








