प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी सरगर्मी बढेको छ । मतदातामा चुनावी उत्साह देखिन थालेको छ । स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस शुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा छवटा निर्वाचन क्षेत्र रहेका छन्, जसमा एक सय १८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नं. १मा १८ जना, क्षेत्र नं २ मा १७, क्षेत्र नं. ३ मा २१, क्षेत्र नं. ४मा २१, क्षेत्र नं. ५ मा २२ र क्षेत्र नं. ६मा २० जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगमा उम्मेदवारी दर्ता भएसँगै जिल्लाका छवटै निर्वाचन क्षेत्रमा चुनावी चहलपहल शुरु भएको हो । निर्वाचन प्रचारप्रसारको औपचारिक शुरुवातअगावै उम्मेदवारहरूले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । मोरङ क्षेत्र नं. ३मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले मतदातासँग भेटघाटलाई तीव्रता दिइरहेका छन् । उनीसँगै श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगर पनि मतादाताको घरदैलोमा भेटिन्छन् । बिहानैदेखि उम्मेदवारहरू मतादाताको घरआँगनमा पुग्न थालेपछि स्थानीयमा चुनावको सरगर्मी बढेको नेपाली कांग्रेस मोरङ–३ का क्षेत्रीय सचिव राजेन्द्रबहादुर अधिकारी बताउँछन् । हाम्रो महत्वपूर्ण एजेन्डा भनेको नयाँ मतदातालाई कांग्रेसको पक्षमा मत हाल्ने वातावरण बनाउने हो, तसर्थ हामी हाम्रो पार्टी र उम्मेदवारका तर्फबाट शिक्षा, स्वास्थ्य, रोजगार र प्रविधि केन्द्रित रणनीति रहन्छ । यस्ता कार्यक्रमले हाम्रा प्रतिस्पर्धी दलका उम्मेदवारभन्दा हाम्रा उम्मेदवार स्वभावतः लोकप्रिय हुनेमा आशावादी छौँ– सचिव अधिकारीले भने । यसपटक हाम्राभन्दा पनि राम्रा उम्मेदवार छानेर मतदान गर्ने मोरङ क्षेत्र नं. २ अमरदहका बिदुर आचार्यले बताए । जनभावना बुझ्ने नेता नै मतदाताको रोजाइमा पर्ने उनले बताए । समय फेरिएको छ, भोट हालिसकेर पछुताउनुभन्दा त्यसअघि नै सचेत भएर भोट हाल्ने योजनामा हामी छौँ– मोरङ क्षेत्र नं ४ कसेनीका अमिन चौधरीले भने । मोरङ क्षेत्र नं १ केराबारीमा भेटिएका ज्येष्ठ नागरिक शङ्कर पोख्रेल अर्का एक व्यक्तिसँग चुनावी बहस गर्दै भन्दै थिए– यसपटक सचेत भएर विकासप्रेमी उम्मेदवारलाई मत हाल्नुपर्छ, चुनाव जितेर गाउँ भुल्ने उम्मेदवारलाई मत नदिने । जिल्लामा यसपटक सात लाखभन्दा बढी मतदाता पुगेका छन् । निर्वाचन आयोगका अनुसार अघिल्लो निर्वाचनको तुलनामा यसपटक मोरङमा ४७ हजार ५२५ मतदाता थपिएका हुन् । मोरङमा पुरुष मतदाता तीन लाख ९९ हजार ६८६ र महिला तीन लाख ८३ हजार ३५७ रहेका छन् । निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध तथ्याङ्क अनुसार मोरङमा कूल मतदाता संख्या सात लाख ८३ हजार ५० पुगेको हो ।पूर्वाअञ्चल दैनिक
चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस





