
पहिले पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरु अहिले नासिँदै गएका छन् । गर्मीमा दौँतरीहरु बसेर शीतल हावा लिँदै माया प्रेमका कुरा गर्ने तथा बागचाल खेल्ने थलोका रुपमा रहेका चौतारीहरु पछिल्लो समय नासिँदै गएका छन् । चौतारी, पोखरी ग्रामीण जीवनको मौलिकता दिने संरचना पनि हुन् । यी मौलिकताका पहिचानहरु हराएसँगै यसबाट लिन सकिने आनन्दबाट पनि अहिलेको पुस्ता वञ्चित हुन पुगेको छ ।पहिले अहिलेको जस्तो यातायातका साधनहरु नहुँदा भरियाबाट नै सामानहरु बोक्ने काम हुन्थ्यो । ती भरियाले भारी बिसाउने ठाउँ पनि चौतारी नै थिए । भरिया तथा लामो बाटो हिँड्नुपर्ने बटुवाहरुको थकान मेटाउने उचित स्थान पनि यिनै चौतारी नै थिए । यति मात्र नभएर युवायुवतीको माया प्रेम दर्शाउने, पाका पुस्ताहरु एकै ठाउँमा जम्मा भएर यसो दुःख–सुखका कुराकानी गर्ने ठाउँ हो, चौतारी ।त्यस्तै चौपाया हेर्न गएका गोठाला तथा घरायसी काम सेकर फुर्सदिला व्यक्तिहरु पनि भेला भएर बागचाल खेली दिन बिताउन चौतारी नै प्रयोग गर्ने गर्दथे ।आध्यात्मिक दर्शनमा पनि चौतारीको ठूलो महत्व रहेको छ । यसलाई मानिसले पुण्य कमाउने एक संरचनाका रुपमा पनि लिने गरिन्छ । मानिसहरुले पहिले बाटोघाटो बनाउने, चौतारी चिन्ने, पोखरी खन्ने जस्ता कार्यलाई पुण्य कमाउने कामका रुपमा पनि लिने गर्दथे । ती चौतारीमा वर पीपल सार्ने भएकाले पीपलले अन्य बोटवृक्षको तुलनामा बढी अक्सिजन दिने र उकालो ओरालो हिँडेर र भारी बोकेर स्वाँस्वाँ भई सास फेर्न गाह्रो भएका मानिसलाई चौतारीमा बस्दा त्यहाँबाट आउने अक्सिजनले थकाइ मेट्ने गर्दछ । यसरी यी संरचनाहरु मानिसको स्वास्थ्यसँग पनि जोडिएका छन् ।नेपालमा पछिल्लो समयमा विकासका नाममा मोटरबाटो खन्ने होडबाजी सुुरु भएपछि भौतिक र आध्यात्मिक जीवनका यी महत्वपूर्ण सम्पदा नाश हुँदै गएका छन् । मोटरबाटोको सुविधा र सवारी साधनको प्रयोगसँगै चौतारीहरु बिर्सिंदै जान थालिएको छ । मान्छेहरु हिँड्डुल गर्न छाडेसँगै चौतारीको महत्व पनि कम हुन थाल्यो । तर चौतारी अस्तित्व र महत्व विकाससँग मात्र होइन पर्यावरण र मान्छेको जीवनसँग पनि जोडिएको हुनाले चौतारीको महत्व र गरिमा कालजयी बनेर रहने छ । चार कुना मिलाएर बनाइएको चौतारीमा वर र पिपलसँगै (नजिकै) रोपिने हुँदा वर र पीपलको बीचबाट हिँड्न नमिलेर दाहिने पारेर हिँड्ने व्यवस्था मिलाइएको बाटो, छेउमा नै कुवा वा धारो र आनन्दसँग बस्न मिल्ने ठाउँमा बागचाल खेल्ने कोठा परम्परागत चौतारोकोे विशेषता भएको बताउनुभयो ।गर्मी महिनामा गुन्द्री बिछ्याएर आराम गर्दा पाइने ‘स्वर्गीय आनन्द’को एउटै आश्रय स्थल चौतारी हुन् । अब के फेरि पनि पहिलेको जस्तै ब्युँतिएलान् त पुर्खाले बनाएको थकान भुलाउने चौतारी ? अन्यत्र यसप्रति कुनै चासो राखेको नपाइए पनि प्रदेश स्थानीय भने केही जनप्रतिनिधि र सर्वसाधारणले बचेका चौतारीहरुको मर्मत र संरक्षण तथा नयाँ चौतारी निर्माणमा त्यती चासो देखाएका छैनन् । प्रदेश स्थानीय सरकारले पनि पुर्खाले बनाएको चौतारो ब्युँताउने अभियान चलाउनु पर्छ ।चौतारी संरक्षण अभियानमा प्रदेश सरकार प्रदेश सरकार ऐन नै बनाएर चौतारी संरक्षण गर्ने अभियानमा लाग्न जरुर छ । प्रदेश सभाले स्वीकृत गरेको विधेयकले प्रदेशको मातहत भित्रका कुनै पनि चौतारोमा भौतिक क्षति पु¥याउनु लाई कानुनी रुपमा दण्डनीय कार्यका रुपमा परिभाषित गरेको छ । यसको संरक्षण गर्नु सबैको कर्तव्य भन्दै कसैले यसमा क्षति पु¥याए प्रचलित कानुन बमोजिम दण्ड दिइने व्यवस्था समेत गरिएको छ । यो ऐनले वर, पीपल, समी र चौतारोको संरक्षणमा जोड दिएको छ । ऐनले पुराना चौतारोलाई पुनर्जीवन दिन र नयाँ चौतारो निर्माणमा समेत तीव्रता दिनका लागि एउटा कोषको समेत व्यवस्था गर्न भनेको छ । सो कोषमा

नेपाल, सरकार, प्रदेश सरकार, स्थानीय तह, विभिन्न व्यक्ति तथा संस्थाले दिएको सहयोग रकमलाई समेत राख्न सकिने र त्यसरी प्राप्त भएको रकम वर पीपल र समी रोप्न, चौतारो निर्माण, चौतारो वरिपरि कुवा कुण्ड वा पोखरी निर्माण गर्न तथा जीर्ण चौतारोको मर्मत बाहेक अरू काममा खर्च गर्न नपाइने स्पष्ट उल्लेख ऐनमा नै गरेको छ । यसरी चौतारो निर्माण कार्य सुरु गरेसँगै प्रदेश मातहत गत आर्थिक वर्षमा मात्रै झन्डै २० वटा चौतारो निर्माण भइसकेको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार एउटा चौतारो निर्माणका लागि वजेट विनियोजन गर्ने गरिएको छ ।स्थानीय तहको अभियान स्थानीय तह र समुदाय पनि पर्यावरणीय र धार्मिक महत्वका चौतारीहरुको संरक्षण, मर्मत र निर्माण कार्यमा जुटेका छन् । विकास र सुविधाको नाउमा नासिँदै गएका ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षणका लागि यहाँका केही स्थानीय तहहरुले समुदायसँगको सहकार्यमा सामूहिक अभियान सुरु गरेका छन् । धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग साइनो गाँसिएका वर–पीपल र चौतारी–पोखरीको संरक्षण र मर्मत सम्हारका लागि विभिन्न गाउँहरुमा अभियान नै सञ्चालन गरिनु पर्छ । छवटा स्थानीय तह रहेको गाउँपालिका बाहेक नगर पालिका, स्थानीय तहका वडामा वर–पीपल लगाउने र चौतारी–पोखरी निर्माण गर्ने कामले तीव्रता पाएको छ । केही स्थानीय तहका वडाहरुले बजेट नै छुट्याएर वर–पीपल र चौतारी–पोखरी संरक्षण, मर्मत तथा निर्माण कार्य गरेका छन् भने कुनै वडामा स्थानीय सामुदायिक वन उपभोक्ता समूह, समुदाय र व्यक्तिगत रुपमा समेत वर पीपल लगाउने र चौतारी पोखरी निर्माण गर्ने काम भइरहेको छ । पुराना सम्पदाको संरक्षणसँगै नयाँ पुस्तालाई जानकारी गराउने गरी वडाभित्र रहेका दशकाँै अगाडिका वर पीपल, चौतारी, पोखरी र धाराको संरक्षण गरिएको छ । ग्रामीण वस्तुको महत्व र यसको सुन्दर कायम राख्न वर्षौंपहिले रोपिएका वरपीपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा) को संरक्षण र मर्मतमा स्थानीयवासीको चासो बढेको छ । एक सय वर्षभन्दा पुराना वर पीपलका रूख रोप्नेहरुको विवरण सङ्कलन गरी संरक्षणको प्रयास गरिनु पर्छ । चौतारी निर्माण गरेर वर र पीपल लगाइसकेपछि वर र पीपलको विवाह गरिदिने प्रचलन पनि रहेको छ । पछिल्ला दुई वर्षयता मन्दिर निर्माण र चौतारी पोखरी संरक्षण अभियानले तीव्रता पाएका स्थानीयवासीहरुको भनाइ रहेको छ । यस्ता कार्यहरुले एकातिर धेरैलाई सुविधा पुग्ने र अर्कोतर्फ मानसिक सन्तुष्टि पनि मिल्ने भएकाले व्यक्तिगत वा सामूहिक रुपमा पनि पछिल्ला वर्षहरुमा चौतारी पोखरी निर्माण गर्ने क्रम विस्तारै बढ्दै गएको छ । यसका साथै यस्ता कार्यहरुले सामाजिक सौहार्द्रपूर्ण रुपमा, एकता र आपसी सम्बन्ध सुधारमा समेत सघाउ पु¥याउने स्थानीय पाका नागरिकहरुको भनाइ छ ।









