प्रसिद्ध शक्तिपीठ पाथिभरा मन्दिरमा भेटि दान गर्नको लागि qr code राखिएको विषयमा विभिन्न तर्क वितर्क आएपछि पाथिवरा क्षेत्र विकास समितिले स्पष्टीकरण दिएको छ। बुधबार कार्यकारी निर्देशक प्रजिनहाङबाङ र अध्यक्ष रकी थेवे लिम्बुद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति सार्वजनिक गर्दै स्पष्टीकरण दिइएको हो। देवीको नाममा भेटीदान कबल गर्ने र विविध कारणले भौतिक रुपमा उपस्थित भएर दर्शन गर्न नसक्ने भक्तजनहरूको माग बमोजिम उक्त व्यवस्था राखिएको क्षेत्र विकास समितिले जनाएको छ। qr code राखिएको विषयले सरकारवाला र भक्तजनहरू समर्थन र विरोधको रुपमा विभाजन भएकोले कुनै नियत नराखी सफा मनले भक्तजनको माग सम्बोधन गर्नको लागि सो व्यवस्था गरिएको उल्लेख गरिएको छ। भक्तजनको माग र पारदर्शिताको लागि यो व्यवस्था गरिएकोले नकारात्मक रूपमा नबुझिदिन अपिलसमेत गरिएको छ। इच्छुक र आवश्यक पर्ने व्यक्तिले मात्र प्रयोग गर्नसक्ने भएकाले यसको प्रयोगमा कुनै बाध्यकारी नीति नभएको समेत प्रष्टाइएको छ। qr code राख्ने निर्णय आकस्मिक नगरिएको र विभिन्न समयमा छलफल गरेर वैज्ञानिक ढङ्गले राखिएको बताइएको छ ।क्षेत्र विकास समितिले गत सालको मङ्सिर १५ गतेको सर्वपक्षीय सर्वदलीय अनुगमनपछि मङ्सिर १८ मा बसेको बैठकको सुझाव र निर्णय को कार्यान्वयन स्वरूप अर्थ्याएको छ ।मन्दिर क्षेत्रमा रहेका कर्मचारी तथा पुजारीहरूलाई आर्थिक सम्बन्धी लाग्ने आरोपलाई कम गर्न क्युआरको प्रयोग महत्त्वपूर्ण हुने विश्वास लिएको विज्ञप्तिमा बताइएको छ ।त्रचको प्रयोग यस अघि त्यसका विभिन्न प्रख्यात शक्तिपीठहरूमा समेत प्रयोग भइसकेकाले नौलो विषयको रूपमा लिन नहुने पनि बताइएको छ ।पाथिभरामा गरिने विभिन्न किसिमको पूजामा कुनै नियम नभएको र जसले जसरी पनि गर्नसक्ने भएकाले सोही बमोजिम भेटी र दानको सवालमा पनि कुनै बाध्यकारी नियम नभएको स्पष्ट पारिएको छ।









