पहाड
मर्चुङ्गाले बिउझाएको पहाड
अब सुत्दैन कुहिरोको न्यानो सिरकमा
जुँगा फुलाउदैन कोक्रोमा
अस्ताउदैन अँधेरोमा
बरु अविरल उम्रन्छ पँधेरोमा
हिजसम्म जुम्राले टोक्दा नबिउझिएको
गरिबीले चिमोट्दा नरोएको
आज कसरी मर्चुङ्गाको एकहरफ धूनले
बिउझिएछ पहाड र सहिदको
यादभन्दा महँगो झुल्किएछ
पालुवाको अस्कोट पहराको हाप्पेन्ट
र मणि चम्कने हरियो गम्बुट लगाएर
अनि कम्मरमा अर्धइन्द्रेणीको
खुर्पा भिरेर सुर्तिको हुस्से फुस्फुसाउदै
मुन्धुमको वृक्षरोपण लम्ब्याइरहेछ पहाड मुकुम
पहाड मेट्न आउने पहिरोले
पहाडको नाम लेखेर जान्छ
पहाड टेक्न आउने अँधेरोले
पहाडको घाम्मा सेकेर जान्छ
अब त मायाको अभावमा पहाड रित्तिदैन
पहिरोको दबाबमा पहाड सिद्धिदैन
पहाड आफ्नै जराले उभ्छ
आफ्नै हराभराले फुल्छ
रवाफको अल्कोहलमा बिदाइको बिर्को लगाएर
आफ्नो पसिनाको पानी उमार्छ
यो पानी सँगै पहाडले आफ्नो जिन्दगानी उमार्छ
पहाडको काँध नटेकि कुन सगरमाथा अग्लिन्छ?
पहाडको घाम नतापि कुन मधेस झाँगिन्छ?
पहाड सबैको आँखाको नानी भइसकेको छ
नपिइ नहुने पानी भइसकेको छ
हो म पनि पहाछसँगै पौरख पोख्छु
के किन्नु रबरको फूलबारी वसन्त रोप्छु
मलाई घरिघरि पहाड डस्न नपठाउनुहोस् पहिरो साहव
उसलाई त सातफन्को बेरेर ढोग्छु
पहाडलाई चोट पर्न अगाडि नै तिम्रो प्रहार रोक्छु र सोध्छु
पहाडसँग पानी र घाम छ
तिम्रो के योगदान छ?
हो साँच्चै पहाडसँग पानी र घाम छ
भन पहिरो तिम्रो योगदान छ?
लेकाली कान्छा (मुकुम)
फु.न.पा - ९, हाङदेवा,ताप्लेजुङ्








