समय : ०२:१४ pm | आइतबार , भाद्र २८ गते २०८३

‘एन्टी स्नेक भेनम’ उत्पादन अब स्वदेशमै

सेवालुङ खवर | असाेज १६ गते २०८१

वराहक्षेत्र, बाबुराम कार्की नेपालमै पहिलो पटक स्थापना भएको एन्टी स्नेक भेनम उत्पादन उद्योगले सर्प पाल्ने अनुमति पाएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ मा रहेको एन्टी स्नेक भेनम उत्पादन उद्योगले स्थापना भएको १२ वर्षपछि सर्प पाल्ने अनुमति पाएको हो ।निजी क्षेत्रको लगानीमा नेपालमै पहिलो पटक स्थापना भएको एन्टी स्नेक भेनम उत्पादन उद्योगले नेपाल सरकारबाट अनुमति नपाउँदा स्नेक भेनम उत्पादनको काम अगाडि बढ्न सकेको थिएन । नेपाल सरकारबाट स्नेक भेनम उत्पादनका लागि सर्प पाल्ने अनुमति पाएसँगै उद्योग सञ्चालनमा सहज हुने भएको छ । नेपालमै पहिलो पटक स्नेक (सर्प) पार्कको अनुमति पाएको उद्योगका सञ्चालक लक्ष्मीप्रसाद फुयाँलले बताउनुभयो । उद्योगबाट स्नेक भेनम उत्पादन सुरु गर्न बाटो फुकेको छ । उद्योगमा प्रदेश सरकार र सङ्घीय सरकारले समेत सहयोग र सहकार्य गर्ने सञ्चालक फुयाँलले बताउनुभयो । अनुमतिसँगै उद्योगबाट पोलिभेनम र मोनोभेनम दुवै किसिमका औषधी उत्पादन गरिने छ । टोक्ने सर्प पहिचान नभएको खण्डमा पोलिभेनम औषधी उपयोगी हुन्छ । यसले सबै किसिमका सर्पको टोकाइमा काम गर्छ भने सर्पको पहिचान भएमा मोनोभेनम औषधी बढी उपयोगी हुन्छ ।हाल नेपालमा बर्सेनि भारतबाट करिब ६० हजार भायल भेनम नेपाल आयात गर्ने गरिएको छ । आयातलाई प्रतिस्थापन गर्दै निर्यात गर्नका लागि उद्योग स्थापना गरिएको फुयाँलले बताउनुभयो । भारतको सर्वोच्च अदालतले सर्पदंशको उपचारमा प्रयोग हुने औषधी एन्टी स्नेक भेनम भारतमै पर्याप्त नभएको भन्दै निर्यात नगर्न आदेश दिएको थियो । आदेशपछि नेपालमा उक्त औषधीको अभाव भएको थियो । तत्कालीन समयदेखि नै स्वास्थ्य मन्त्रालयले एन्टी स्नेक भेनमको उत्पादनको सम्भाव्यता अध्ययन थालेको थियो । सर्प पाल्नका लागि वन मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज विभागले अनुमति दिएको फुयाँलले जानकारी दिनुभयो । धेरै वर्षदेखि सर्पको संरक्षण गर्दै आए पनि अब उद्योगमा सर्प पाल्नसमेत बाटो खुलेको छ । सर्प पाल्नका लागि आवश्यक भवन तयारी गरिसकेपछि उद्योगमा विष उत्पादनका लागि आवश्यक पर्ने सर्प पाल्ने जनाइएको छ । सर्प पाल्ने अनुमति पाएपछि एन्टी भेनम भ्याक्सिनका क्षेत्रमा नेपाल पनि आत्मनिर्भर बन्न सक्ने फुयाँल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “रक्तस्राव गराउने र स्नायु प्रणालीलाई असर पु¥याउने गरी सर्प दुई किसिमका हुन्छ ।” एन्टी भेनम उत्पादन गर्न यी दुवै खाले सर्पलाई फार्ममा पाल्नु पर्छ । सर्पको विषबाट एन्टी भेनम उत्पादन गर्न सर्पसँगै घोडा, खरायो र मुसा पनि पाल्नु पर्छ । सर्पबाट निकालिएको विष सुईमार्फत घोडालाई दिएपछि एन्टीबडी (प्रतिरक्षात्मक) पदार्थ बनाउँछ । त्यसपछि सुईमार्फत घोडाको रगत तान्ने र तानेको रगतबाट प्लाज्मा निकालिन्छ । त्यसैलाई औषधी बनाउन उपयोग गरिन्छ । औषधीलाई मानिसमा प्रयोग गर्नुअघि सुईमार्फत मुसा वा खरायोमा परीक्षण गरिन्छ । सर्पले टोकेको उपचार गर्ने भ्याक्सिनको अभाव हुँदा तराई क्षेत्रमा बर्सेनि सर्पको टोकाइबाट मानिसले अकालमै ज्यान गुमाउँदै आएको छ । नेपालमा वार्षिक रूपमा सर्पको डसाईबाट कति मर्छन् भन्ने तथ्याङ्क नभए पनि धेरै मानिसले सर्पको डसाइबाट अकालमै ज्यान गुमाउँदै आएका छन् ।साभार:-गोरखापत्र अनलाइर्न बाट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्