समय : १०:०२ pm | शुक्रबार , वैशाख ४ गते २०८३

ताप्लेजुङको पाथीभरा मन्दिरमा चढाएको सुन चाँदी बिक्री हुन सकेन

सेवालुङ खवर | चैत्र १९ गते २०८१

ताप्लेजुङ/ताप्लेजुङको पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन तथा चाँदी लिलामीमा बिक्री हुन सकेन । लिलामीका लागि तीनपटक सूचना जारी गरिए पनि एक सय ७८ तोला ८२ लाल सुन र पाँच हजार दुई सय ९८ तोला १२ लाल चाँदी लिलामीमा बिक्री हुन नसकेको हो ।पाथीभरा माताप्रति आस्था राख्ने तीर्थयात्रीले चढाएको उक्त सुन चाँदी लिलामीका लागि पाथीभरा क्षेत्र विकास समितिले गोरखापत्र दैनिक पत्रिकामा सर्वप्रथम गतवर्षको फागुन २० गते २१ दिने सूचना जारी गरेको थियो । पहिलोपटक जारी गरिएको सूचनामा कसैको आवेदन नपरेकाले पुनः दुईपटक सूचना निकालिएको समितिका सूचना अधिकारी नवीन निरौलाले जानकारी दिए ।मन्दिरमा तीर्थयात्रीले सुनचाँदी, भेटी, घण्टी, त्रिशूल लगायतको सामग्री चढाउने गरेका छन् । जसको व्यवस्थापन तथा संरक्षण, क्षेत्र विकास समितिले गरिरहेको छ । समितिले भेटीको विवरण हरेक महिना सार्वजनिक गर्दै आएको छ । सङ्कलित सुन तथा चाँदीलाई समेत बिक्री गरी पाथीभराको विकासमा लगानी गर्ने उद्देश्यका साथ तीनपटक सूचना जारी गरिए पनि कोही व्यवसायीले खरिदका लागि आवेदन नदिएको कार्यालयले जनाएको छ ।हालको बजार भाउ अनुसार समितिसँग करिब चार करोडभन्दा बढीको सुन तथा चाँदी रहेको छ । सोही रकम बराबरको एकैपटक आवेदन पेश गर्नुपर्ने प्रावधान रहेको तर व्यवसायीसँग त्यस अनुसारको क्षमता नभएकाले आवेदन दिन नसकिएको पाथीभरा सुनचाँदी कला व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष गङ्गाराम शंकरले बताए । व्यवसायीले चाहे अनुरूपको र क्षमता अनुसार खरिद गर्न पाउने गरी प्रबन्ध गरिदिन समितिसँग आग्रह गरे पनि त्यो सम्भव नभएको व्यवसायी बताउँछन् । हाल बजारको माग पूर्तिका लागि जिल्ला बाहिरबाट नै सुनचाँदी खरिद गरि व्यवसायीले उपभोक्तालाई सेवा प्रदान गरिरहेको संघले जनाएको छ ।आवेदन नै नपरेपछि समितिले थप प्रक्रिया अगाडि बढाउने योजनामा रहेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । उनका अनुसार जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाको संयोजकत्वमा समिति बनाइएको छ । त्यस समितिको सल्लाह र सुझावका आधारमा थप प्रक्रिया अघि बढाइने हाङबाङको भनाइ छ ।भक्तजनहरूले कम तथा उच्च गुणस्तरका सुनहरू चढाउने गरेका छन् । सुनका गरगहना र चाँदीका सामग्री प्रशोधन गरी शुद्ध बनाएर समितिले बिक्रीको प्रक्रिया अघि बढाएको थियो । यता नेपाली बजारमा भने सुनको मूल्य नयाँ रेकर्डको यात्रमा रहेको छ । मंगलबार सुन अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । सुनको मूल्य तोलाको एक लाख ७९ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्