ताप्लेजुङ, जेठ १२ गते । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शाखाले गरेको क्रियाकलापको समीक्षा तथा आगामी कार्ययोजनासम्बन्धी विभिन्न निर्णय गर्दै साधारणसभा सोमबार सम्पन्न भएको हो।महासङ्घका केन्द्रीय महासचिव रामप्रसाद दाहालको उपस्थितिमा साधारणसभा सम्पन्न गरिएको छ । साधारणसभामा संस्थाको हकहितका विषयमा बृहत छलफल सार्थ विमर्श भएको छ । उद्घाटन सत्रमा खुला छलफल र बन्द सत्रमा संस्थागत विषयमा छलफल तथा विमर्स गरिएको शाखा अध्यक्ष सुवास आचार्यले जानकारी दिनुभयो ।स्थानीय सरकार (तह) का पदाधिकारी, प्रमुख जिल्ला अधिकारीसहित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि र अन्य सङ्घ संस्थाका प्रतिनिधिहरु समेतको सहभागितामा खुला सत्रमा सञ्चारमाध्यम र सञ्चारकर्मीको हकहितका विषयमा छलफल गरिएको छ । छलफलका क्रममा सरकारी निकायका विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिनुपर्ने गरी सरकारले गरेको निर्णय फिर्ता गर्नुपर्ने आवाज पत्रकारले उठाएका छन् ।सरकारी सञ्चारमाध्यममा मात्र सरकारी निकायका विज्ञापन प्रकाशन तथा प्रसारण गर्नुपर्ने सङ्घीय सरकारले गरेको निर्णयले निजी सञ्चारमाध्यम सङ्कटमा परेकोभन्दै पत्रकारहरुले सरकारको सो निर्णय फिर्ता गर्नुपर्ने माग गरेका हुन् । विज्ञापनका विषयमा सरकारले गरेको निर्णय फिर्ता गर्न र विज्ञापन नीति सबै सञ्चारमाध्यमका लागि समान बनाउन आवाज उठाउँदै आएको महासङ्घका महासचिव दाहालले बताउनुभयो ।यता स्थानीय तहका पदाधिकारीले भने स्थानीय सरकारको स्वयत्त अधिकारहरु रहेकाले स्थानीय सञ्चारमाध्यमहरुलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । नागरिकलाई सुसूचित गर्ने र सूचनाको हकलाई आम नागरिक तथा लाभग्राहीसम्म सन्देश प्रवाह गर्ने जिम्मा सञ्चारमाध्यमकै भएका कारण स्थानीय सरकारको तर्फबाट सहयोग रहने पदाधिकारीहरुले प्रतिवद्धता जनाउनुभएको हो ।कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिका अध्यक्ष भरत खङ्कासहितका पदाधिकारीको उपस्थिति रहेको थियो । साधारणसभाको बन्द सत्रले शाखाका सचिव कृष्ण फुरुम्बो लिम्बू र कोषाध्यक्ष मदन गौतमले प्रस्तुत गर्नुभएको सांगठनिक र आर्थिक प्रतिवेदन पारित गरेको शाखा अध्यक्ष आचार्यले बताउनुभयो ।–चन्द्र पन्दाक
पत्रकार महासङ्घ ताप्लेजुङको साधारणसभा सम्पन्न








