ताप्लेजुङमा हर्क साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टी ताप्लेजुङको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमबार फुङ्लिङमा केन्द्रीय उप–महासचिव समिर तामाङको प्रमुख आथिथ्यतामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो । नयाँ राजनीतिक संस्कार, सुशासन र जनउत्तरदायी नेतृत्व उद्देश्य सहित प्रशिक्षण कार्यक्रम गरिएको पार्टीका केन्द्रिय सदस्य तथा प्रशिक्षक शान्ती पाख्रिन तामाङले जानकारी दिनुभयो ।पार्टीको मूल नारा प्रकृति, संस्कृति र प्रबिधिलाई केन्द्रमा राखेर कार्यक्रममा गरिएको थियो । साथै पार्टीको सिद्धान्त, नीति र नेतृत्वका बारेमा उपस्थितलाई जानकारी दिइएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समिरले पार्टीको कुनै ठूला महत्वकांक्षी नीति र बिचार नरहेको स्पष्ट पार्नुभयो । भुर्ईँमान्छे र श्रमजीवि नागरिकको नेतृत्व पार्टीले गरेको उहाँको भनाई छ । पार्टी स्थापना भएको छोटो समयमै राष्ट्रिय दल बन्नु खुसीको बिषय भएको उल्लेख गर्दै स्थानीय र प्रदेश सभाको निर्वाचनमा सक्रिय भएर लाग्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।प्रशिक्षक तामाङले संस्कार संस्कृति जोगाउने एक मात्र पार्टी श्रम, संस्कृति पार्टी भएकाले हर्कवादको अनुशरण गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ । समाजको खराब बिकृति, बिसंगतिलाई हटाउँदै एकिकृत भएर समाज रुपान्तरणमा लाग्नु नै पार्टीको सिद्धान्त भएको उहाँको भनाई छ । कार्यक्रममा जिल्ला कार्य समितिका पदाधिकारी, स्थानीय समितिका पदाधिकारी लगायतको उल्लेख्य सहभागीता रहेको थियो ।-विक्रम लाम्गादे
श्रम, संस्कृति पार्टी ताप्लेजुङको प्रशिक्षण कार्यक्रम सम्पन्न








