समय : १०:५६ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको ओलाङ्चुङगोलादेखि टिपतालासम्म पर्यटन प्रवद्र्धन यात्राको तयारी

सेवालुङ खवर | चैत्र १५ गते २०८२

ताप्लेजुङ, चैत १४ गते । कोशी प्रदेश पर्यटन भ्रमण वर्ष २०८२ को अवसर पारेर ताप्लेजुङस्थित टिपताला भ्रमण गर्ने कार्यक्रमको तयारी गरिएको छ । पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा स्थित टिपताला भञ्ज्याङको भ्रमण गर्ने तयारी गरिएको हो ।ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँको आयोजनामा ‘ओलाङ्चुङगोला–सिङ्जेमा–टिपताला भञ्ज्याङ पर्यटन प्रवद्र्धन कार्यक्रम’ को तयारी गरिएको हो । पर्यटकीय गन्तव्य टिपताला भञ्ज्याङसम्म भ्रमण गर्ने गरी कार्यक्रमको तयारी गरिएको सरोकार केन्द्रले जनाएको छ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँका महासचिव अशोक प्यासी राईका अनुसार आउँदो चैत २८ देखि २०८३ साल वैशाख ६ गतेसम्मको भ्रमण कार्यक्रमको तयारी गरिएको छ ।आयोजक टोलीले काठमाडौँदेखि धरान हुँदै तीनजुरे–मिल्के–जलजले (टीएमजे), साँघु–दोभान–फुङ्लिङ, लेलेप–ओलाङ्चुङगोलादेखि टिपतालासम्म पुग्ने योजना बनाएको कार्यक्रम संयोजक मिङ्मा डण्डु लामाले जानकारी दिनुभयो । टिपताला भञ्ज्याङसँगै सोही क्षेत्रमा पर्ने अर्को आकर्षक पर्यटकीय गन्तव्य सिङ्जेमा तालको भ्रमण गर्ने पनि आयोजकले जनाएको छ ।प्राकृतिक सुन्दरताले भरिभराउ पर्यटकीय गन्तव्यसँगै यहाँका छुट्टै सांस्कृतिक र धार्मिक दृष्टिकोणले पनि पर्यटन प्रवद्र्धनसहित भ्रमण कार्यक्रम प्रभावकारी हुने आयोजकको विश्वास छ । यो भ्रमण कार्यक्रम कोशी प्रदेश पर्यटन भ्रमण वर्ष २०८२ तथा कोशी प्रदेश सरकारसँग समन्वय गरेर आयोजना गरिएको सरोकार केन्द्रले जनाएको छ ।यता नयाँ वर्ष २०८३ को उमङ्गसँगै आयोजना गरिएको टिपताला भञ्ज्याङ भ्रमण कार्यक्रमले ताप्लेजुङसहित समग्र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा राखिएको सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङले बताउनुभयो । अध्यक्ष तामाङले भ्रमणलाई सफल बनाउन कार्यक्रममा सहभागी भइदिन सबैलाई अनुरोधसमेत गर्नुभएको छ ।भ्रमण गर्न लागिएको क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला पनि एक पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । समुद्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा रहेको गोला बस्ती, यहाँ रहेको करिब ४५० वर्ष पुरानो ऐतिहासिक दिकी छ्योलिङ गुम्बा र एउटै भोटे समुदायको मात्र बसोबास रहेका कारणओलाङ्चुङगोला पर्यटकीय गन्तव्यका रूपमा स्थापित छ ।त्यस्तै ओलाङ्चुङगोलाभित्रै पर्ने पाँच हजार १०० मिटर उचाइ रहेको टिपताला भञ्ज्याङ, चार हजार ७०० मिटरको उचाइमा अवस्थित सिङ्जेमा ताल आकर्षक पर्यटकीय गन्तव्य हुन् ।प्राकृतिक सुन्दरतासँगै सो क्षेत्रमा पाइने वन्यजन्तु, वनस्पति आदिका कारण पर्यटक आकर्षित हुने गरेका छन् । पश्चिम दार्चुला जोड्ने बृहत् पदमार्ग (ग्रेट हिमालय ट्रेल) को सुरुआत बिन्दु यही ठाउँमा पर्दछ । पदयात्रामार्फत बाक्लै सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने यी गन्तव्यमा पुग्न सडक पहुँचको अभाव रहेको छ। - चन्द्र पन्दाक

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्