समय : ०३:५५ pm | बुधबार , भाद्र ३१ गते २०८३

मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध बनेपछि वैकल्पिक मार्गको प्रयोग,

सेवालुङ खवर | असाेज २२ गते २०८२

असोज २१। अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध बनेपछि वैकल्पिक मार्गका रुपमा फिदिम–म्याङ्लुङ–धनकुटा–धरानको रुट प्रयोग गरिएको छ । ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रका यात्रुले पूर्वी तराई झर्न प्रयोग गर्ने मेची राजमार्ग र तमोर करिडोरका एक दर्जन स्थानमा बाढीपहिरोले अवरुद्ध हुँदा यात्रु महँगो भाडा तिरेर लामो दूरीको वैकल्पिक रुट प्रयोग गर्न बाध्य भएका हुन् । पाँचथर सदरमुकाम फिदिमबाट मध्यपहाडी लोकमार्ग प्रयोग गरेर तेह्रथुम सदरमुकाम म्याङ्लुङ पुग्दा मेची राजमार्ग हुँदै झण्डै झापाको बिर्तामोड पुगिन्छ भने तमोर करिडोर भएर धरान नै पुगिन्छ । यी प्रमुख सडकको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरिएको हो । तेह्रथुमको म्याङ्लुङ बसपार्कमा भेटिएकी काठमाडौंकी कमला पाठकले आफू पनि वैकल्पिक मार्ग प्रयोग गरी म्याङ्लुङ आइपुगेको बताइन् । उनले म्याङ्लुङबाट बसन्तपुर–हिले–धनकुटा–धरान हुँदै काठमाडौं फर्किने बताइन् । पाँचथर याङ्वरकका राजकुमार सेलिङले पनि वैकल्पिक मार्ग प्रयोग गरी झापाको बिर्तामोड हिँडेको बताए । पाथीभरा देवीको दर्शन गरेर फर्किने दर्शनार्थी, उपचारका लागि सुबिधासम्पन्न अस्पताल खोज्दै तराई झर्ने सेवाग्राही र विशेष कामले पूर्वी तराई र राजधानी काठमाडौं फर्किनेका लागि वैकल्पिक मार्गले सहज भएको छ । म्याङ्लुङस्थित तेह्रथुम यातायात प्रालिका इञ्चार्ज मङ्गल बेघाका अनुसार ताप्लेजुङ र फिदिमिबाट झापा, मोरङ, सुनसरी जाने यात्रुवाहक सवारीसाधन म्याङ्लुङ हुँदै गइरहेका छन् । जिल्ला प्रहरी कार्यालय तेह्रथुमले दिएको जानकारी अनुसार यो मार्ग भएर सोमबार दुई सयको हाराहारीमा सवारीसाधन आवतजावत गरेका छन् । तेह्रथुमको आठराई गाउँपालिकाको माझीटारदेखि लालीगुँरास नगरपालिकाको चित्रेसम्मको एक सय २० किलोमिटर सडकमध्ये २४ किलोमिटर बाहेक सबै सडक पक्की छ । फेदाप गाउँपालिका–२ ओयाक्जुङदेखि वडा नं. ५ इसिबूसम्मको १४ किलोमिटर खण्ड कच्ची छ भने फेदाप–२ स्थित खोरङ्वा–यावरा १० किलोमिटर कच्ची सडक छ । सवारीसाधनको चाप बढ्ने अवस्थालाई मध्यनजर गर्दै यात्रुको सहजताका लागि फेदाप गाउँपालिकाले कच्ची सडकको पनि मर्मत गरेको छ । तेह्रथुमको सडक अहिलेको अवस्थामा सुरक्षित रहेको र धनकुटा हुँदै धरानसम्म यातायात सञ्चालनमा कुनै समस्या नरहेकाले प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । पूर्वी पहाडलाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने दू्रतमार्ग तमोर करिडोर सडक विभिन्न स्थानमा अवरुद्ध छ । ताप्लेजुङ, पाँचथर हुँदै झापा जोड्ने मेची राजमार्गको पनि इलाम र माईखोला लगायत स्थानमा अवरुद्ध रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।समाचार स्रोत पूर्वा अञ्चल दैनक,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्