ताप्लेजुङ, असोज २१ गते । दसैँको अवधिमा १६ हजार बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् । दसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।पाथीभरा क्षेत्र विकास समितिका अनुसार दसैँको अवधि अर्थात् गत असोज ६ देखि २० गते सम्ममा कुल १६ हजार ३३२ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । दसैँको अवधिमा सबैभन्दा बढी विजयादशमीको दुई दिनपछि द्वादशीका दिन शनिबार दुई हजार ७१७ जना भक्तजनले पाथीभरा दर्शन गरेका समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो ।कार्यकारी निर्देशक हाङ्बाङका अनुसार दोस्रो बढी सङ्ख्या घटस्थापनाको पाँचौँ दिन असोज ११ गते दुई हजार २२६ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । यस अवधिमा सबैभन्दा कम विजयादशमी टीकाको दिन २१७ जनाले मात्र पाथीभराको दर्शन गरेका समितिको तथ्याङ्क रहेको छ ।यसवर्ष घटस्थापनाको पहिलो दिन असोज ६ गते ५५९ जना भक्तजनले दर्शन गरेका छन् भने दसैँको अन्तिम कोजाग्रत पूर्णिमाको दिन सोमबार ३२८ जनाले पाथीभराको दर्शन गरेका छन् । यता दसैँ पर्वसँगै पाथीभरा दर्शन गर्ने मुख्य सिजन (मौसम) सुरु भएको भए पनि यस वर्ष दसैँ अवधिमा भक्तजनको सङ्ख्या भने ह्वात्तै घटेका छन् ।दसैँ तिहारको समयलाई पाथीभरा दर्शन गर्ने मुख्य मौसम मानिन्छ । दसैँको नवरात्रिको समयलाई अझ महत्व दिएर भक्तजनले पाथीभराको दर्शन गर्ने गर्दछन् । नवरात्रिको समयलाई महत्त्व दिइने भएकाले कुनै वर्ष एकैदिन १५ हजार बढीसम्म भक्तजनले पाथीभराको दर्शन गरेको तथ्याङ्क रहेकोमा उक्त तुलनामा यो वर्ष अत्यन्तै न्युन सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका छन् ।भक्तजनको सङ्ख्या घट्नुको कारण थाहा नभए पनि पाथीभरामा निर्माण गर्न सुरु गरिएको केवलकार विवाद, पहिचानवादी आन्दोलनलगायत हुनसक्ने जिल्लावासीको अनुमान रहेको छ । त्यस्तै दसैँको अन्त्यतिर अविरल वर्षाका कारण ठाउँठाउँमा गएको बाढी, पहिरो र डुबानसँगै सडक अवरुद्ध हुन पुगेकाले पनि भक्तजन प्रभावित भएका समितिले जनाएको छ । समितिका अनुसार तुलनात्मक रूपमा भक्तजनको सङ्ख्या ज्यादै न्युन भए पनि नेपालको विभिन्न ठाउँ र भारतको सिक्किम, दार्जिलिङ लगायतबाट पाथीभरा दर्शन गर्न भक्तजन आएका छन् । चन्द्र पन्दाक,
दसैँ अवधिमा १६ हजारले गरे पाथीभरा दर्शन,








