ताप्लेजुङ/ ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ बाट धरान जाँदै गरेको मे. १ ज. ३०५५ नम्बरको बोलेरो गाडी शनिबार पाँचथर कुम्मायक गाउँपालिका–३ कातिके सडक खण्डमा दिउँसो एक्कसी सडकबाट करिब ५०० मिटर तल तमोर खोलाको किनारमा खसेको पाँचथर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बोलेरो गाडी, दुर्घटनामा परी मृत्यु हुनेमा सबै ताप्लेजुङका रहेको पाँचथर जिल्ला प्रहरी कार्यालयले बताएको छ । घटना स्थलमै ५ जनाको मृत्यु भईसकेको र उपचारको क्रममा एक जनाको थप मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले बताएका छन् । प्रहरी का जानकारी अनुसार मृत्यूहुने हरूमा मेरिङ्देन गाउँपालिका– ५ की २८ वर्षीया मनिषा कार्की, सोही वडाका २५ वर्षीय धनकुमार लिम्बू र ३२ वर्षीय अभिषेक लिम्बू, गाउँपालिका–४ की २१ वर्षीया गीता हाङगाम, वडा नं. २ का ३३ वर्षीय बिनोद लुङवा र सिदिङवा गाउँपालिका–१ की २९ वर्षीया युना तामाङ छन् । त्यस्तै,गरी दुर्घटनामा परी घाइते हुनेमा मेरिङ्देन गाउँपालिका–५ का २२ वर्षीय महेश लिम्बू, मिक्वा खोला गाउँपालिका–४ की २५ वर्षीया मनु साँवा लिम्बू, सिदिङवा गाउँपालिका कालिखोलाका ७ वर्षीय अनिश लिम्बू, सुनसरी इटहरी – ७ का ३५ वर्षीय महेश गुरागाई, मेरिङ्देन–५ का २५ वर्षीय बिमल लिम्बू र मिक्वाखोला–४ का २९ वर्षीय सञ्जुहाङ लिम्बू रहेका छन्। घाइतेमध्ये पाँच जनाको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपाक्याम्प अस्पतालमा भइरहेको छ भने एक जनाको उपचार फिदिम अस्पतालमा उपचार भईरहेको प्रहरीले जनकारी गराएको छ । दुर्घटना स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरू उद्धारमा खटिएको छ । पहाडी मोड र भिरालो सडक खण्ड भएकोहुनाले उद्धारमा कठिनाइ भएको र दुर्घटनाको विस्तृत कारण अनुसन्धान भइरहेको पाँचथर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।









