इलाम । इलाममा बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ । पाँच स्थानीय तहमा गरी अहिलेसम्म १७ जनाको मृत्यु पुष्टि गरिएको छ भने हराइएकाहरूको खोज तथा उद्धार जारी छ। इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका क्षेत्र हुन।इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर माथिबाट आएको पहिरोले पुरिँदा घरभित्र रहेका ६ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ। सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङका राजु क्षेत्रीको घरमाथि पहिरो खस्दा ५ जनाको मृत्यु भएको छ। सो क्षेत्रबाट ४ जनाको शव सुरुवातमै उद्धार गरिएको थियो भने गम्भीर घाइते एक जनाको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । त्यस्तै देउमाई नगरपालिका–५ घुसेनीस्थित दीपक लिम्बुको घर पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन्। एक जनालाई जीवितै उद्धार गरिएको स्थानीयले जनाएको छ। त्यस्तै माङसेबुङ गाउँपालिका–५ स्थित पार्टीगाउँमा मदन लिम्बुको घर पहिरोले पुरिएको छ। घटनामा सो परिवारका तीन जनाको मृत्यु पुष्टि गरिएको छ। इलामकै फाकफोकथुम गाउँपालिका–३ रातोमाटे निवासी ३२ वर्षीय सुरेश लिम्बुको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।स्थानीय प्रशासनका अनुसार अझै पनि केही ठाउँमा उद्धार टोली पुग्न सकेको छैन। प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको समन्वयमा उद्धार कार्य जारी छ । साभार : सुनौलो नेपाल आइतबार, १९ असोज, २०८२ प्रकाशित मिती आइतबार, १९ असोज २०८२,
इलाम पहिरो कहरः १८ जनाको मृत्यु, केही बेपत्ता








