ताप्लेजुङ / मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा बेलिब्रिज निर्माण गरिएपछि ताप्लेजुङ वासीमा खुसी छाएको छ । हेवा खोलामा बेलिब्रिज निर्माणसँगै सञ्चालनमा आएपछि जिल्लावासीमा खुसी छाएको हो । मेची राजमार्ग जोड्ने पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना भई बग्ने हेवा खोलामा यसअघि निर्माण गरिएका पक्की मोटरेवल पुल र बेलिब्रिज बाढीले बगाएको थियो । हेवा खोलामा निर्माण गरिएका मोटर गुड्ने पुलहरू बाढीले बगाएर राजमार्ग अवरुद्ध भएका कारण यातायात सुविधाबाट बञ्चित हुँदैआएका ताप्लेजुङवासी पुनः बेलिब्रिज निर्माण भएपछि खुसी भएका हुन् ।हेवा खोलाको मोटर गुड्ने पक्की पुल र बेलिब्रिज बाढीले बगाएको शृङ्खलाका कारण सिङ्गो ताप्लेजुङवासी र हेवा खोला उत्तरतर्फका पाँचथरवासीले यातायात सेवामा सास्ती खेप्दैआएका थिए । यात्रा तथा दैनिक उपभोग्य वस्तुसहितका आवश्यक सामग्री ढुवानी गर्नमा पुल नभएपछि हैरानी रहेको थियो । दसैँ तिहारजस्ता चाडपर्व नजिकिँदै गएका बेला बेलिब्रिज निर्माण गरी सञ्चालनमा आउनु जिल्लावासीका लागि ठुलो राहत भएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास गौतमले बताउनुभयो । अध्यक्ष गौतमका अनुसार बेलिब्रिज निर्माण भएपछि आवश्यक सामान ढुवानी गर्न अर्थात व्यापारिक र अन्य सामग्री निर्यात तथा आयात गर्नलाई सहज भएको छ । हेवा खोलामा आएको बाढीले यसअघिको बेलिब्रिज बगाएको र समयमा पुनर्निर्माण नगरिँदा जिल्लामा आवश्यक सामानको अभाव हुने, मूल्य आकाशिने र निर्यातजन्य वस्तु पठाउन नपाउँदा आर्थिक मन्दी छाउन सक्नेजस्ता चिन्ता जिल्लावासीलाई रहँदैआएको थियो ।बेलिब्रिज निर्माणसँगै सञ्चालनमा आउन सुरु भएपछि जिल्लावासीमा रहेको पीर र चिन्ताको अन्त्य भएको उद्योग बाणिज्य सङ्घका अध्यक्ष गौतमको भनाइ छ । आयात तथा निर्यातका सामान ढुवानी गर्न र यात्रा गर्नका लागि अब सहज हुने भएको उहाँले बताउनुभयो । भारत सरकारको सहयोग समेतमा हेवा खोलामा निर्माण गरिएको बेलिब्रिज बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । सडक डिभिजन इलामका अनुसार २५ टन भारबहन क्षमताको बेलिब्रिज निर्माण गरिएको हो । बेलिब्रिजको लम्बाई ७० मिटर रहेको छ भने निर्माण कम्पनी दोभान सुपर सौगात लाइट बिल्डर्सले करिव साढे तीन करोड ५० रुपियाँको लागतमा पुल निर्माण गरेको बताइएको छ । सडक डिभिजनका अनुसार बेलिब्रिजका ट्रससहितका सामग्री भारत सरकारले निःशुल्क उपलब्ध गराएको हो ।हेवा खोलामा रहेको सुरुको पक्की मोटरेवल पुल २०८० साल असार २ गते आएको बाढीले बगाएको थियो । उक्त पक्की पुल बाढीले बगाएपछि हेवा खोलामा तत्काल बेलिब्रिज निर्माण गरेर मेची राजमार्गमा यातायात सञ्चालनमा ल्याइएको थियो । बाढीले पक्की पुल बगाएपछि निर्माण गरिएको बेलिब्रिज पनि २०८१ साल असोज १२ गतेको बाढीले बगाएको थियो ।चन्द्र पन्दाक,
पाँचथरको हेवा खोलामा बेलिब्रिज निर्माण गरिएपछि ताप्लेजुङ वासीमा छायो खुसी,








