ताप्लेजुङ,/ साउन २२ गते । ताप्लेजुङमा राष्ट्रिय परिचयपत्र बनाउनेको दिनहुँजसो भिड लाग्न थालेको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा प्राप्त गर्नका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा सेवाग्राहीको भिड लाग्न थालेको हो ।साउन महिनायता राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको भिड लाग्न थालेको जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र शाखाका नायब सुब्बा रमेशप्रसाद सिग्देलले बताउनुभयो । नासु सिग्देलका अनुसार हाल दैनिक एक सय भन्दा बढीको सङ्ख्यामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राही आउने गरेका छन् । राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीमा करिब ६५ प्रतिशत ज्येष्ठ नागरिक रहेका पनि सिग्देलले जानकारी दिनुभयो ।उहाँका अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले सेवा लिन आउने ज्येष्ठ नागरिकको सङ्ख्या उल्लेख्य रहेको हो । राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको चापसँगै ज्येष्ठ नागरिकको अवस्थालाई दृष्टिगत गरी पछिल्लो तीन–चार दिनयता कार्यालय समयपछि पनि सेवा प्रवाह गर्दै आएको उहाँले जानकारी दिनुभयो । उहाँले बेलुका ७ः३० देखि ८ बजेसम्म नै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाह गरिरहेको बताउनुभयो । यता राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको जति नै भिड लागे पनि एक दिनमा बढीमा ७० जना सम्मको मात्र विवरण दर्ता हुने गरेको राष्ट्रिय परिचयपत्र शाखाका कम्प्युटर अप्रेटर वसन्त निरौलाले जानकारी दिनुभयो । निरौलाका अनुसार ज्येष्ठ नागरिकको शारीरिक अवस्थाका कारण उहाँहरुको आवश्यक सबै विवरण दर्ता गराउनमा समय लाग्ने गरेको छ । कुनैबेला राष्ट्रिय परिचयपत्रको सरोवर (प्रणाली) डाउन भई दिने हुनाले पनि विवरण दर्ता गर्न ढिलो हुने गरेको उहाँले बताउनुभयो ।सामाजिक सुरक्षा भत्ता, बैँकमा खाता खोल्न, राहदानी बनाउन लगायतका विभिन्न सेवासुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र चाहिने भएपछि सदरमुकाम आएको सर्वसाधारणले बताएका छन् । जिल्ला प्रशासन कार्यालयमा भिड भएका कारण राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराउन तीन दिनसम्म लागेको सेवाग्राहीको भनाइ छ । सिदिङ्वा गाउँपालिका–४, साब्लाखुकी कमला लिम्बूले दुई दिनसम्म पर्खेर मङ्गलबार बेलुका ७ बजेपछि राष्ट्रिय परिचयपत्रका लागि फाराम दर्तासहितको काम सकाएको बताउनुभयो । राष्ट्रिय परिचयपत्रकै लागि दुई दिनसम्म लाइनमा बसेर कार्यालय समयपछि पनि जिल्ला प्रशासन कार्यालयबाट सेवा पाउँदा खुसी लागेको लिम्बूले बताउनुभयो । लिम्बूजस्तै धेरै सेवाग्राहीले दुईदेखि तीन दिनसम्म लाइनमा बसेर राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराएको बताएका छन् । राष्ट्रिय परिचयपत्रका लागि गाउँदेखि सदरमुकाम फुङ्लिङसम्म आउनुपरेको र दुईदेखि तीन दिनसम्म पर्खनुपर्दा निकै हैरानी खेप्नुपरेको सर्वसाधारणले दुःखेसो गर्ने गरेका छन् । तीन दिनसम्म फुङ्लिङ बजारमा होटलमा बसेको र गाउँदेखि सदरमुकाम आउँदा जाँदाको खर्चसमेत गर्दा राष्ट्रिय परिचयपत्र बनाउन निकै खर्चालु भएको पनि सर्वसाधारण बताउँछन् । राष्ट्रिय परिचयपत्रबिना आफ्नो वडा तथा पालिकामा काम नहुने भएपछि सदरमुकाम आउन बाध्य हुनुपरेको सर्वसाधारणले बताएका छन् । सबैखाले अन्य कामजस्तै राष्ट्रिय परिचयपत्रको काम पनि पालिकाबाटै भई दिएको भए आफूहरूलाई धेरै सहज हुने सर्वसाधारणको भनाइ छ ।जिल्लामा अहिलेसम्म ७७ हजार ६८८ जनाले राष्ट्रिय परिचयपत्रका लागि फाराम दर्ता गराएका जिल्ला प्रशासन कार्यालय ताप्लेजुङकी सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले जानकारी दिनुभयो । सहायक प्रजिअ खड्काका अनुसार राष्ट्रिय परिचयपत्रका लागि साउन १५ गतेसम्म फाराम विवरण दर्ता गराएका उक्त सङ्ख्यामध्ये ४१ हजार २६६ पुरुष र ३६ हजार ४२२ जना महिला रहेका छन् ।चन्द्र पन्दाक
ताप्लेजुङको जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड,








