समय : ०९:१५ am | मङ्गलबार , भाद्र ३० गते २०८३

ताप्लेजुङमा डेङ्गुको सङ्क्रमण देखिन थालेपछि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु

सेवालुङ खवर | श्रावण १६ गते २०८२

ताप्लेजुङ, साउन १५ गते। हिमाली जिल्ला ताप्लेजुङमा पनि डेङ्गुको सङ्क्रमण देखिन थालेपछि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ। डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान बिहीबारदेखि सुरु गरिएको हो।

डेङ्गु सङ्क्रमण रोकथामका लागि लार्भा खोज र नष्ट गर अभियान चलाउनुपर्ने निस्कर्षसहित सदरमुकाम फुङ्लिङ बजारमा अभियान सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र फुङ्लिङ नगरपालिकाको संयुक्त अगुवाइमा डेङ्गु फैलन नदिन लामखुट्टेको प्रजनन् र वृद्धि हुने स्थान वा वस्तुहरु पहिचान गरेर नष्ट गर्ने गरी अभियान चलाइएको हो।

खुला छाडिएको र बिर्को वा ढकन नलगाइएका पानी जमेको ट्याङ्की, पानी राख्ने ड्रम, गाग्री वा ब्यारेलहरू लामखुट्टेको प्रजनन् केन्द्र तथा लार्भा उत्पादन ठाउँ हुने गर्दछन्। त्यस्तै घर वा स्वागतद्वारमा सजावटका लागि घडाका रूपमा राखिने पानीले भरिएका भाँडा वा गाग्री र गमलाको मुनि रहेको पानीको स्रोत पनि लामखुट्टेले प्रजनन् वा लार्भा वृद्धि विकास गर्ने ठाउँ हुने किटान गरिएको छ।

घर पालुवा जनावरका लागि राखिने पानीको भाँडाहरू, शौचालयका ब्रस राख्ने स्टेन्ट, पूजा प्रयोजनमा प्रयोग हुने भाँडा र चुहिने वा फुटेका घरभित्रका पाइपहरूमा समेत लामखुट्टेले प्रजनन् वा लार्भा उत्पादन गर्ने भएकाले त्यस्ता ठाउँको पहिचान गरी खोज र नष्ट गर अभियान चलाउन सुरु भएको हो। आकाशे पानी जम्ने घरको छत वा अन्य गहिरो भागमा पनि लामखुट्टे उत्पादन हुने भएकाले त्यस्ता सबै ठाउँमा लार्भा नष्ट अभियानमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ।

अभियानको सुवातको दिन बिहीबार फुङ्लिङ नगर प्रमुख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुखको सहभागितामा डेङ्गु नियन्त्रणसम्बन्धी सचेतना फैलाउन प्रभातफेरी समेत गरिएको छ। प्रभातफेरीमा स्वास्थ्य कार्यालय, राजनीतिक दल तथा सङ्घ संस्थाका प्रतिनिधि, प्रहरी, सशस्त्र प्रहरीलगायत सहभागी हुनुभएको थियो। डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट अभियान सहभागी हुन स्थानीयवासीलाई आग्रह गरिएको छ।

यता प्रजिअ शर्माले प्रत्येक साताको शुक्रबार सरकारी तथा अन्य सङ्घ संस्थाका कार्यालय परिसर र आसपासका क्षेत्रमा सरसफाइ गर्नुपर्ने बताउनुभएको छ। उहाँले साउन र भदौ महिनाभर सरसफाइ अभियान चलाउनैपर्ने भन्दै कार्यालयहरूलाई निर्देशन नै दिनुभएको बताइएको छ। डेङ्गु नियन्त्रण तथा सङ्क्रमण रोकथामका लागि सरसफाइ अभियान चलाउन प्रजिअ शर्माले जिल्लावासी सबैलाई आग्रह गर्नुभएको छ। चन्द्र पन्दाक

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्