झापा / संयुक्त पहिचानवादी मोर्चा तयार भए पछी चार पहिचानवादी मोर्चा एकीकृत भएका छन् । आन्दोलनलाई सशक्त बनाउन चार मोर्चा एकीकृत भएका हुन् । एकीकृत भएसँगै उनीहरुले संयुक्त पहिचानवादी मोर्चा गठन गरेका छन् । जसको जिल्ला समन्वय समिति झापाको संयोजकमा एलवी पालुङ्वा चयन भएका छन् । झापाको बिर्तामोडमा आयोजित मोर्चाको भेलाले पालुङ्वालाई सर्वसम्मत संयोजकमा चयन गरेको हो । चारवटा पहिचानबादी पार्टीहरुको एकीकरणपछि संयुक्त पहिचानवादी मोर्चा गठन भएको हो । केपी पालुङ्वाले नेतृत्व गरेको नेपाल जनमुक्ति पार्टी, डा. महेन्द्र लावतीले नेतृत्व गरेको पहिचानवादी मोर्चा, ज्ञानबहादुर गुरुङले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी र डकेन्द्रसिंह थेगिमले नेतृत्व गरेको पहिचानका लागि प्रदेश नम्वर १ पुनः नामाङ्कन अभियान समिति एकीकरण भएर संयुक्त मोर्चा तयार भएको हो । मोर्चाको सहसंयोजकमा भवानीविक्रम सेलिङ, दिनेश किराती मावो, हरि चौधरी, निरबहादुर राई, कालीबहादुर खेवाङ, गंगा दुलाल, संगम खनाल, थीरबहादुर खवास र सदस्य सचिवमा प्रमेश थापा चयन भएका छन् । पालुङ्वाको नेतृत्वमा ७९ सदस्यीय झापा जिल्लाको मोर्चा र १३ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । छरिएर रहेका पहिचानवादी शक्तिहरुलाई एकीकरण गर्ने अभिप्रायले जिल्ला नेतृत्व तयार गरिएको संयोजक पालुङ्वाले बताए । पहिचानवादी मोर्चाका जिल्ला संयोजक अग्नि मेचेको अध्यक्षतामा भएको कार्यक्रममा संयुक्त पहिचानवादी मोर्चाका संयोजक डकेन्द्रसिंह थेगिमको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि थेगिम, नेपाल जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष भक्त खेवाङ, संयुक्त पहिचानवादीका नेता त्रिनारायण राजवंशी, संयुक्त पहिचानवादी मोर्चाका सचिवालय सदस्य खगेन्द्र माखिम, नेपाल जनमुक्ति पार्टीका नेता सञ्जुहाङ पालुङ्वा, ज्ञानवहादुर गुरुङ, नागरिक उन्मुक्ति पार्टीका संघीय अध्यक्ष ज्ञानबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । पहिचानवादी मोर्चाका सदस्य सचिव प्रमेश थापा मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन जनमुक्ति पार्टी झापा सचिव पदम कन्दङ्वाले गरेका थिए ।
संयुक्त पहिचानवादी मोर्चा तयार चार पहिचानबादी पार्टीको एकीकरण,








