समय : ०१:०३ am | सोमबार , भाद्र २८ गते २०८३

हाइड्रोपावर कम्पनीले खोलामा पानी नै सुकाएपछी खेतीपाती गर्न समस्या,

सेवालुङ खवर | वैशाख ९ गते २०८२

खोटाङ,/ बैशाख ८ हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी स्थित साप्सुखोला बाट छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्सुखोला जलविद्युत् आयोजनाको विद्युत् वि.सं. २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । राजापानीको बेलडाँडा स्थित पावर हाउस (विद्युत गृह)बाट उत्पादन गरिएको जलविद्युत् दुई दशमलव पाँच किलोमिटरमाथि राजापानीकै पर्ने पुरानो गाउँमा निर्माण गरिएको सव–स्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । करिब रु. एक अर्ब ५० करोड लगानीमा साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको जनाइएको छ । चार किलोमिटर टाढा पर्ने साप्सुखोलाबाट बेलडाँडामा ल्याइएको पानीलाई ११० मिटर पेनस्टक मार्फत प्रतिसेकेन्ड सात हजार लिटर पानी खसाएर छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको हो । राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर जलविद्युत् उत्पादन गरेको प्रवद्र्धक कम्पनीले खोलामा पानी नै सुकाएर जलविद्युत् उत्पादन गरेको पाइएको छ । जलविद्युत् उत्पादन गर्दा कम्तीमा दश प्रतिशत पानी खोलामा छाड्नुपर्ने प्रावधान भए पनि सबै पानी ड्यामतर्फ लगिएको थियो । साप्सुखोलामा जलविद्युत् प्रवद्र्धक कम्पनीले स्थापनाकालबाटै खोलामा पानी नछाडी जलविद्युत् उत्पादन गरेपछि समस्या भएको जनाइएको छ । जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्नका लागि खोला नै सुकाएर पानी फर्काएपछि खेतीपाती गर्न समस्या भएको स्थानीय कुमार बुढाथोकीले गुनासो गरेका छन् । ‘साप्सुखोलामा सञ्चालित जलविद्युत् आयोजनाको बाँधभन्दा मुनिका भागमा पानी सुकेर समस्या भएको छ । यतिमात्रै होइन । यसअघि जिल्ला प्रहरी कार्यालयमा बसेर गरेको सम्झौतासमेत आयोजनाले कार्यान्वयन गरेको छैन’ –उनले भने– ‘खोलै सुक्ने गरी पानी फर्काएर जलविद्युत् आयोजना सञ्चालन गरेपछि आफूलाई चाहिएको समयमा खेतबारीमा पानी लगाउन पाएका छैनौं । यसले गर्दा यस वर्ष चैते धान रोप्नसमेत समस्या भयो ।’ प्रवद्र्धक कम्पनीले खोलाको पानी नै सुकाएर जलविद्युत् आयोजना सञ्चालन गरेको विषयमा आफूहरूले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको स्थानीयबासीले बताएका छन् । खोला सुक्ने गरी जलविद्युत् आयोजनाले पानी फर्काएको विषयमा आफूलाई अहिलेसम्म कुनै पनि निकायबाट जानकारी नआएको खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिए । साप्सुखोला असला माछा पाउने जिल्लाका खोलामध्ये सबैभन्दा बढी पाउने खोलामा पर्दछ । बाँधदेखि ड्यामसम्मको करिब चार हजार दुई सय मिटर क्षेत्रमा पानी सुकेपछि चराचुरुङ्गी तथा जङ्गली जनावरलाई समेत पानीको समस्या स्थानीयले बताएका छन् । खोलाको पानी नै सुकाएर साप्सुखोलाबाट जलविद्युत् उत्पादन गर्ने आयोजनाका स्थानीय प्रमुख प्रदीप दाहालले हिउँदको समयमा खोलामा पानीको बहाव घटेकाले कम भएको बताएका छन् । ‘खोला नै सुकाउने गरी ड्याममा पानी लगेका छैनौँ । तर, सुक्खा यामका कारण खोलामा पानी कम भएको छ’ –उनले भने– ‘खोलामा भएको पानीको मात्रा अनुसार कम्तिमा दश प्रतिशत हुने गरी पानी छाडेका छौँ । यसलाई सम्झौता उल्लङ्घन गरेको भन्न मिल्दैन ।’ दश स्थानीय तह रहेको जिल्लाबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट उत्पादित साप्सुखोला जलविद्युत् आयोजनासँगै तीन वटा जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । साप्सुखोला जलविद्युत् आयोजनासँगै केपिलासगढी गाउँपालिकाक–६ दिप्सुङ र वडा नं. ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट उत्पादित तीन मेगावाट क्षमताको रावाखोला जलविद्युत् आयोजना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट उत्पादित एक मेगावाट क्षमताको साप्सुखोला जलविद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो । रावाखोला जलविद्युत् आयोजनाले मापदण्ड अनुसार खोलामा पानी नछाडेको स्थानीयले गुनासो गुनासो गरेका छन् । स्थानीयबाट गुनासो आएपछि रावाखोला जलविद्युत् आयोजना सञ्चालकलाई सम्पर्क गरेर मापदण्ड अनुसार कम्तीमा दश प्रतिशत पानी छाड्न निर्देशन दिइएको प्रजिअ घिमिरेले जानकारी दिएका छन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्