समय : ११:५८ pm | आइतबार , भाद्र २८ गते २०८३

पाँचथर यासोकको टङटङे र लेकेताम वनमा आगो लागेपछी स्थनीयहरु घर जोगाउदै,

सेवालुङ खवर | चैत्र २३ गते २०८१

पाँचथर / कुम्मायक गाउँपालिकामा बुधवारदेखि तमोर नदीको किनार साँवासेराको जङ्गलमा डढेलो लागेपछि जङ्गल नजिकै घर भएका गाउँले समस्यामा थिए । अकस्मात डढेलो आइपुग्यो भने खर (फुस)को छानो भएका घर गोठ जोगाउने कुनै उपाय नहुने पीर गाउँलेमा थियो ।सुक्खाले अत्यधिक प्रभावित यस स्थानमा वर्षा नभएको पनि छ महिना भइसकेको छ । वर्षा नहुँदा सुक्खाले पात पतिङ्गर सबै सुकिसकेका छन । त्यसमाथि हावाहुरी अत्यधिक चलिरहेको थियो । बुधवारदेखि सल्किएको डढेलो गाउँ आइपुग्न धेरै समय लागेन । साँवासेरामा लागेको डढेलो शुक्रबार कुम्मायक गाउँपालिका–१ यासोकको टङटङे र लेकेताम वनसम्म आइपुगेको थियो ।डढेलो गाउँमा जानबाट रोक्न अग्नि रेखा निर्माण भएको थिएन । सुक्खाले प्रभावित गाउँमा आगो निभाउने गरी प्रशस्तै पानी हुने नै भएन । कुम्मायक गाउँपालिकाका कर्मचारीसमेत रहनुभएका काफ्लेपानीका कमल श्रेष्ठ शुक्रवार छिमेकी वीरबहादुर लावतीको घरको छानोमा बाल्टीभरि पानी लिएर बस्नुभएको थियो ।घरको वरिपरी डढेलोबाट निस्केको धुँवाले ढाकिसकेको थियो । खरको छानो भएको उक्त घरमा हावाहुरीले आगोको झिल्का ल्याइपु¥याए जोगाउन नसकिने भएपछि उहाँले करीव दुई घण्टा पानी बोकेर छानो माथि बस्नुभयो ।“आगो घरभन्दा करीव ५० मिटर मुनि जङ्गलमा आइसकेको थियो । त्यहाँ बाँसको झाँङ पनि थियो । आगो लागेपछि बाँसका पात हावामा उड्छन । आगो सल्किएका पात र झिल्को खरको छानोमा आइपुग्ला कि भनेर बाल्टीमा पानी लिएर छानोमा बसेको हुँ”, उहाँले भन्नुभयो, “आगोको झिल्को आइपुग्ना साथ बाल्टीको पानी छ्यापेर निभाउने प्रयास गरेका हौँ ।”श्रेष्ठले छिमेकीको छानो रुघ्ने र अरु गाउँलेले घर नजिकै आइपुगेको आगो निभाउने काम गरेका थिए । उहाँजस्तै आगो निभाउने गएका अरु मानिस खरको छानो भएका घरको छानोमा पानी लिएर बसेका थिए । करीव १५ घरलाई यसरी छानो रुघेर जोगाइएको श्रेष्ठको भनाइ छ ।सुक्खाले अत्यधिक प्रभावित कुम्मायक गाउँपालिका–१ यासोक, वडा नं ३ रानीगाउँ, वडा नं ४ रानीगाउँ र वडा नं ५ स्याबरुम्बाका विभिन्न वनमा डढेलो लागेको छ । वनमा लागेको डढेलो हावाहुरीका कारण क्षणभरमा नजिकै रहेका वस्तीमा पस्ने गरेको छ ।सङ्घ, प्रदेश र स्थानीय सरकारले नागरिकका घरमा जस्तापाता लगाउने विभिन्न कार्यक्रम चलाएपनि अझैसम्म सबै घरमा जस्तापाता पुग्न सकेको छैन । वनमा लागेको डढेलो गाउँमा पस्दा आज मात्रै सो स्थानका घनेन्द्र दर्जी बसोबास गर्दै आएको घरको भान्साघर जलेको श्रेष्ठले जानकारी दिनुभयो ।सोही डढेलो वस्तीमा पस्दा उक्त वडाको खाल्डेका दीर्घबहादुर खत्री, देवेन्द्र राई, यामकुमार चाम्लिङ, विष्णु राई, पहलमान कार्की, देवेन्द्र कार्की, डिकबहादुर कार्कीको घर, गोठ, अन्नपात, लत्ताकपडा, पशु चौपायासमेत जलेका छन ।कुम्मायक गाउँपालिकाकै वडा नं ३ ताम्राखु वनमा लागेको डढेलोमा परी स्थानीय २६ वर्षीया प्रतिमा सम्बाहाम्फेको विहीवार मृत्यु भएको थियो । विहीवार दिउँसो प्रतिमासँगै २८ वर्षीया सपना सम्बाहाम्फे, ११ वर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाँस काट्न जङ्गल गएका थिए ।आगलागीबाट जोगिन भाग्ने क्रममा उनीहरुलाई आगोको लप्काले भेटेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइते रहेका सपना, शिवाना र निरमायाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजसम्म उपचार गरी थप उपचारका लागि आज कीर्तिपुर जलन अस्पताल पु¥याइएको कुम्मायक–३ का वडाध्यक्ष बावुराम कार्कीले जानकारी दिनुभयो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्