काठमाडौं,/ सरकारले तीनकुने घटनामा ज्यान गुमाएका हरूको परिवारलाई १०–१० लाख रुपैयाँ दिने भएको छ ।गृहमन्त्री स्तरीय निर्णयबाट मृतक सुरेश रजक र सविन महर्जनको परिवारलाई १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ । राजावादीले चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । पत्रकार रजकको आगोमा जलेर र कीर्तिपुरका महर्जनको गोली लागेर ज्यान गएको थियो । यसैबीच सरकारले चैत १५ गतेका दिन पूर्वराजाका समर्थकहरूद्वारा काठमाडौँको तीनकुने र आसपासका क्षेत्रमा भएको अराजक प्रदर्शनका क्रममा निजी, सार्वजनिक एवम् सरकारी सम्पत्ति, अस्पताल, सवारीसाधन, राजनीतिक दलका कार्यालय तथा सञ्चार गृहहरूमा भएको आक्रमण, आगजनी र तोडफोड एवम् अन्तरराष्ट्रिय विमानस्थलमा आतङ्क फैलाउने, घरभित्र मानिस भएको अवस्थामा ढुङ्गामुढा, आगजनी र मानिसको ज्यान जाने गरी अमानवीय र गैरकानूनी कार्य गर्ने, तोडफोड र लुटपाट गर्नेजस्ता कार्य भएको भन्दै सरकारले घोर भत्र्सना गरेको छ । सरकारले उक्त प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सो क्रममा घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासहित उक्त प्रदर्शनका क्रममा घाइते हुनेको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने निर्णय गरेको छ । उक्त घटनाका सम्बन्धमा सत्यतथ्य छानविन गरी दोषीउपर कारबाही गर्न र आगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । प्रहरी भन्छ – उत्तेजित भिडलाई नियन्त्रणमा लिन गोली चलायौँ नेपाल प्रहरीले उत्तेजित भिडलाई नियन्त्रणमा लिन तीनकुनेमा गोली चलाउनुपरेको स्पष्टीकरण दिएको छ । तीनकुनेमा भएको प्रदर्शनका क्रममा गोली चलाइएको घटनाबारे प्रहरीले बुधवार पत्रकार सम्मेलन गरेर यस्तो स्पष्टीकरण दिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार प्रहरीले चैत १५ गते (शुक्रबार) दिउँसो २ः५४ बजे गोली चलाएको थियो । उनले अवस्थालाई नियन्त्रणमा लिन गोली चलाइएको जिकिर गरे । उत्तेजित भिडका कारण घटेको घटना हो । अवस्था नियन्त्रणमा लिन गोली चलाउनु परेको हो –घटनाबारे जानकारी दिन बुधबार प्रहरी क्लब भृकुटीमण्डमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी आचार्यले भने । राजावादीले आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । पत्रकार सुरेश रजकको आगोमा जलेर र कीर्तिपुरका सविन महर्जनको गोली लागेर ज्यान गएको थियो । अनावश्यक बल प्रयोग गरेको भन्दै कतिपयले प्रहरीको आलोचना गरिरहेका छन् । पोस्टमार्टम रिपोर्ट ः पत्रकार रजकको जलेर मृत्यु काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम भएको छ । त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको मृत्यु पूर्ण रूपमा जलेर भएको पुष्टि भएको छ । उहाँको शरीरमा गोलीको कुनै निशान भेटिएन । बाहिर हल्ला भएजस्तो मारेर जलाइएको भन्ने प्रमाण पोस्टमार्टम रिपोर्टमा देखिएन– चिकित्सकले भने । पोस्टमार्टम रिपोर्टका अनुसार श्वासप्रश्वास नलीमा धुँवाको अंश भेटिएको छ, जसले आगलागी हुँदा रजक जीवितै रहेको संकेत गर्छ । जब आगो लाग्यो, उहाँ जीवितै हुनुहुन्थ्यो, जसका कारण श्वासप्रश्वास प्रणालीमा धुँवा पसेको देखिन्छ– चिकित्सकले भने । मंगलवार साँझ उनको एक्स–रे गरिएको थियो । एक्स–रेको रिपोर्टपछि बुधबार पोस्टमार्टम गरिएको हो । दुर्गा प्रसाईंको नेतृत्वमा भएको आन्दोलनमा समाचार संकलन गर्न गएका बेला एभिन्यूजकर्मी रजकको तीनकुनेस्थित एक घरमा आगलागी हुँदा निधन भएको थियो । उनी आन्दोलनका तस्वीर तथा भिडियो खिच्न सो घरभित्र गएका थिए । तीनकुने घटनामै गोली लागेर मृत्यु भएका सविन महर्जनको भने पोष्टमार्टम पछि पशुपति आर्यघाटमा दाहसंस्कार भइसकेको थियो । अनुसन्धानमा कुन्साङ भरिया मात्रै रहेको खुलेको छ । रकम दिने दुई व्यक्तिबारे अहिले अनुसन्धान भइरहेकाले केही खुलिसकेको छैन ।’ कुसाङ यसअघि कलंकीबाट ७ केजी सुनसहित पक्राउ परेर ५ वर्ष जेल बसेपछि २०७८ सालमा रिहा भएको पनि खुलेको छ ।
तीनकुने घटनामा मृतक परिवारलाई १०–१० लाख रुपैयाँ दिने निर्णय








