समयमा नै रसायनिक मल नपाउँदा कृषक मारमा पारेका छन् । मकै वाली लगाएका कृषक मकै हुर्किदा समेत मल नपाएपछि उत्पादन घट्ने चिन्ताले चिन्तित बनेका छन् । सरकारले टेण्डरमार्फत माग गरेको रसायनिक मल समयमा भित्र्याउन नसक्दा मलको चरम अभाव भएको हो । समयमै बालीमा मल लगाउन नसक्दा उत्पादन नहुने भएकाले सरकारले ठेकेदारलाई मल ल्याउन कडाइ नगरेको किसानहरूको आरोप छ । बदमासी गर्ने ठेकेदारलाई जहिल्यै संरक्षण गर्दा किसानले उत्पादन गर्न नसक्नु र भारतका अन्न महंगोमा खरिद गरी निर्भर हुनुपर्ने बाध्यता यो वर्ष पनि उस्तै हुने भएको छ । कृषि सामग्री कम्पनी लि. विराटनगरका कार्यालयका अनुसार गत वर्ष २०८०÷०८१मा कृषि सामग्री लिमिटेडले कोशी प्रदेशमा १३ हजार ३ सय ४२ मेट्रिक टन युरिया, आठ हजार ९२ मेट्रिक टन डीएपी र आठ सय एक मेट्रिक टन पोटास बिक्री गरेको कृषि सामग्री कम्पनी लि. विराटनगर कार्यालयले जनाएको । चालू आर्थिक वर्षको फागुन मसान्त सम्ममा ११ हजार ५ सय २३ मेट्रिक टन युरिया, ७ सय ५२ मेट्रिक टन डीएपी र पाँच सय ९१ मेट्रिक टन पोटास बिक्री गरिसकेको कृषि सामग्री कम्पनी लि. ले बताएको छ । यो आर्थिक वर्ष समाप्त हुन अझै चार महिना बाँकी छ । उनले भने– युरियाको माग दोब्बर बढेको छ । आठ महिनाको अवधिमा नै हामीले युरिया गतवर्ष भन्दा एक सय ८१ मेट्रिक टन भन्दा बढी बिक्री भएको छ । तर, माग पु¥याउन सकिरहेको छैन । चैतको तेस्रो साता सम्ममा साल्ट ट्रेडिङले ५५ हजार र कृषि सामग्रीले ७५ हजार मेट्रिक टन रसायनिक मल ल्याउने छन् । साल्ट ट्रेडिङ कम्पनी लि. विराटनगर कार्यालयका अनुसार कम्पनीले यो वर्ष ७७ हजार ४० बोरा डीएपी, ८५ हजार ९ सय ४५ बोरा युरिया र २२ हजार २ सय ५२ बोरा पोटास बिक्री गरिसकेको छ । कम्पनीले कोशी प्रदेशका मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम र भोजपुर जिल्लालाई रसायनिक मल बिक्री गर्दै आएको छ ।
समयमानै रसायनिक मल नपाउँदा कृषक मारमा परे








