ताप्लेजुङ – खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले गत आर्थिक वर्षमा झण्डै एक हजार पाँच सय क्विन्टल चामल बिक्री गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२÷०८३ मा एक हजार ४७४ क्विन्टल चामल बिक्री गरेको हो । खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङका कार्यालय प्रमुख प्रकाश तिम्सिनाका अनुसार गत आर्थिक वर्षमा जिरा मसिनो चामल ७ सय ७७.७५ क्विन्टल र सोना मनसुली चामल ६ सय ९६.५ क्विन्टल चामल बिक्री गरिएको छ । एक आर्थिक वर्षमा कुल एक करोड ६ लाख ७३ हजार ५ सय ७५ रुपियाँ बराबरको चामल बिक्री भएको कार्यालयले जनाएको छ । जसअन्तर्गत चार लाख ७७ हजार ७ सय ५० रुपियाँ बराबरको नागरिकले छुट समेत प्राप्त गरेका छन् । कम्पनीले चाडपर्व लगायतको विशेष समयमा छुट दिएर चामल बिक्री गर्दै आइरहेको छ । छुट सहित गुणस्तरीय चामल उपलब्ध भएपछि पछिल्ला केही महिनामा अत्याधिक मात्रामा चामल उपभोक्ताले खरिद गरेको कार्यालयको भनाइ छ । हाल कम्पनीसँग ८ सय ३० क्विन्टल चामल मौज्दात रहेको कार्यालय प्रमुख तिम्सिनाको भनाइ छ । चालु आर्थिक वर्ष दुई हजार पाँच सय क्विन्टल चामल बिक्री गर्ने कार्यालयको लक्ष्य रहेको समेत उहाँले बताउनुभयो । खाद्यान्नको चामल हरेक नागरिकलाई सहुलियत मूल्यमा पु¥याउन स्थानीय सरकारसँगको समन्वय अघि बढाइएको कार्यालय प्रमुख तिम्सिनाले जानकारी दिनुभयो । यस्तै चामल सहित खाद्यान्नका सामाग्री समेत बिक्री गर्ने योजना रहेको कार्यालयले जनाएको छ । हाल कम्पनीले २५ किलोग्रामको सोना मनसुली चामल एक हजार पाँच सय पचास रुपियाँ र जिरा मसिनो चामल दुई हजार तीन सय रुपियाँ निर्धारण गरेको छ । असार मसान्तसम्म छुट रहेको चामल साउन १ गतेदेखि पुन वृद्धि भएको बताइएको छ । कुटानी, पिसानी तथा ढुवानीमा अतिरिक्त रकम बढेकाले उपभोक्ताले खरिद गर्ने मूल्य समेत वृद्धि भएको हो । –कृष्न फुरुम्बो रेडियो तमोर,
ताप्लेजुङमा गत आर्थिक वर्षमा एक करोड छ लाख बढीको चामल बिक्री








