समय : ०२:२४ pm | शनिबार , भाद्र २७ गते २०८३

चौँरी प्रवद्र्धनमा किसानलाई अनुदान

सेवालुङ खवर | माघ ३० गते २०८२

ताप्लेजुङ, माघ २८ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले याक, चौँरी, नाक तथा छुर्पी प्रवद्र्धन कार्यक्रमअन्तर्गत किसानलाई अनुदान उपलब्ध गराएको छ । गाउँपालिकाले याक, चौँरी र नाक पालन गर्ने तथा छुर्पी उत्पादन गर्ने किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो ।गाउँपालिकाले वडा नम्बर ६ लेलेप र वडा नम्बर ७ ओलाङ्चुङगोलामा याक, नाक, चौँरी तथा छुर्पी प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । स्थानीय किसान आबद्ध रहेका फर्म तथा संस्थामार्फत कार्यक्रम कार्यान्वयन सुरु गरिएको हो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार कार्यक्रमका लागि लेलेप र ओलाङ्चुङगोलाका दुईवटा फर्म छनोट भएका छन् । छनोट हुनेमा घुन्सा याक तथा चौँरी फर्म र फक्ताङ्लुङ चौँरीपालन फर्म रहेको प्रमुख प्रशासकीय अधिकृत तेम्बेले जानकारी दिनुभयो ।उहाँका अनुसार छुर्पी प्रवद्र्धन कार्यक्रम कार्यान्वयनका लागि ओलाङ्चुङगोला कृषि तथा याक पालन फर्म छनोट भएको छ । याक, नाक र चौँरी प्रवद्र्धनका लागि प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपियाँ बजेट किसानलाई उपलब्ध गराइने छ । छुर्पी प्रवद्र्धनतर्फ भने सङ्घीय सरकारबाट प्राप्त सात लाख रुपियाँ अनुदान रकम किसानले पाउने छन् ।गाउँपालिकाले उपलब्ध गराएको अनुदानमा किसानले ५० प्रतिशत लागत साझेदारी गर्नुपर्ने छ । हिमाली भेगमा याक र चौँरी पालन गरेर जीविकोपार्जन गर्दै आएका किसानलाई सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिनुभयो । पशुपालन व्यवसायबाट स्थानीयको आम्दानी बढाउन यसले सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको हिमाली भेग लेलेपको घुन्सा, ओलाङ्चुङगोला र याङ्माका बासिन्दाको मुख्य पेसा याक र चौँरी पालन हो । जिल्लाकै उच्च हिमाली बस्ती याङ्मा चार हजार २०० मिटर उचाइमा रहेको छ भने घुन्सा तीन हजार ४७५ मिटर र ओलाङ्चुङगोला तीन हजार २०० मिटर उचाइमा अवस्थित छन् ।चन्द्र पन्दाक ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्