ताप्लेजुङ, भाद्र ८ गते । ‘तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगिता’ यस वर्ष भाद्र २५ गते हुने भएको छ। ट्रेल रनसहित दुर्लभ औषधीय गुण भएको वनस्पति पदमचाल (केन्जो) को अवलोकन, याक–चौरी प्रदर्शन र ‘केलाङ नृत्य’ मुख्य आकर्षण रहने आयोजक तिम्बुङ पोखरी पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष अमिर राईले जानकारी दिनुभयो।यस वर्षको ट्रेल रन प्रतियोगितामा प्रथम र द्वितीय हुने पुरुष तथा महिला धावक–धाविकालाई समान रूपमा क्रमशः ८३ हजार ५ सय २५ रुपैयाँ र ६३ हजार ५ सय २५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने राईले बताउनुभयो। पुरुषतर्फ तृतीय हुने धावकलाई ४३ हजार ५ सय २५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।यस्तै, स्थानीय सहभागितालाई प्रोत्साहन गर्न स्थानीय क्षेत्रबाट सहभागीमध्ये प्रथम हुने महिला वा पुरुषलाई ३३ हजार ५ सय रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। ट्रेल रन प्रतियोगितामा सहभागी हुन भाद्र २४ गतेसम्म दर्ता गरिसक्न आयोजकले आह्वान गरेको छ।यस्तै, सोही अवसरमा भाद्र २४ गते सिदिङ्वा गाउँपालिकाले समुद्र सतहदेखि ४ हजार १ सय मिटर उचाइमा अवस्थित तिम्बुङ पोखरी क्षेत्रमा कार्यपालिका बैठक आयोजना गर्ने भएको छ। उक्त बैठकबाट सो क्षेत्रलाई ‘पदमचालको राजधानी’ घोषणा गरिने गाउँपालिकाले जनाएको छ। कार्यक्रमको मुख्य प्रवद्र्धक सिदिङ्वा गाउँपालिका रहेको छ भने आर्थिक सहयोग पर्यटन कार्यालय काकड भिट्टाले गर्नेछ । ट्रेक ८५८६ सहयोगी संस्थाका रूपमा रहेको छ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ कालीखोलामा अवस्थित तिम्बुङ पोखरीको प्रवद्र्धन गर्दै यस क्षेत्रको अथाह पर्यटन सम्भावनालाई प्रचार–प्रसार गर्ने उद्देश्यले विगतका वर्षहरूमा समेत कार्यक्रम आयोजना हुँदै आएको थियो। गत वर्ष भने जेन्जी आन्दोलनका कारण कार्यक्रम स्थगित भएको थियो । विगतका वर्षको तुलनामा यस वर्ष कार्यक्रमलाई थप भव्य रूपमा आयोजना गरिने समितिका अध्यक्ष राईले रेडियो ताप्लेजुङलाई बताउनुभयो।सूचना ः यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ । –किरण गदाईली,
‘तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगिता’ यस वर्ष भाद्र २५ गते हुने








