ताप्लेजुङ/ फक्ताङलुङ गाउँपालिका वडा नम्बर ३ लिङखिम सिवाँ बजारमा प्रथम आमन्त्रित माघे मेला २०८२ को खेल सञ्चालन हुने भएको छ । सिवाँमा हुने आमन्त्रित प्रथम माघे मेला गोल्डकप माघे मेला सञ्चालन समिति र सिवाँ स्पोर्टिङ क्लबले प्रथम आमन्त्रित माघे मेला २०८२ को खेल सञ्चालन हुने शनिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।उक्त गोल्डकपको खेल तलिका टाईसिट अनुसार ८ टिम सहभागी हुनेछन् र उद्घाटन समारोहको खेलमा सिवाँ स्पोर्टिङ क्लब र मैवाखोला ढुङ्गेसाँघु जनसेवा आदर्श स्पोर्टिङ क्लबसँग खेल्नेछ।त्यसपछि दोस्रो खेलमा माघ २ गते ड्रिम बोइज एफ.सि फुटबल क्लब धनकुटाको र तेर्हथुम खाम्लालुङ ग्रामीण युवा समाज टिमसँग खेल हुने भएको छ। तेस्रो दिनको खेलमा माघ २ गते नै नाम्थोक युवा क्लब पाँचथर र बि.सि.एस मेमोरियल युवा क्लब साउदेन ताप्लेजुङ बीच खेल हुने भएको छ । पहिलो चरणको अन्तिम खेलमा माघ ३ गते ताप्लेजुङको सिदिङ्बा स्थित लालीगुराँस स्पोर्टिङ युवा क्लब र झापाको कन्काई स्पोर्टिङ क्लब हुने भएको छ। माघ ४ गते दुईवटा सेमि फाइनल खेल हुनेछन् भने ५ गते फाइनल खेल हुने मागे मेला आयोजक सञ्चालन समितिले जनाएको छ । गोल्डकपको प्रतियोगितामा विजेताले नगद ३ लाख ५० हजार ८२ रूपैयाँ र उप विजेताले १ लाख ७५ हजार ८२ रूपैयाँका साथ ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् । प्रत्येक खेलका म्यान अफ द म्याच हुनेलाई नगद दुई हजारका साथ प्रमाण पत्र दिइनेछ । सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैयाँका साथ ट्रफी र प्रमाणपत्र पाउँदा अन्य विधागत तर्फ उत्कृष्ट साथ ट्रफी मेडल र प्रमाणपत्र दिने भएको छ । माघ ४ गते बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिनु का साथै नेपालका चर्चित राष्ट्रिय कलाकार तारा प्रकाश लिम्बु,दिपा सुहाङ,बादल लिम्बु,सहितका अन्य स्थानीय कलाकारहरूले सांस्कृतिक कार्यक्रममा भाग लिने भएको माघे मेला सञ्चालन समिति तथा क्लबका संरक्षक दुर्गा मिधुङ लिम्बुले बताउनु भएको छ । त्यसै अनुसार प्रतियोगिता सहितका सबै कार्यक्रम सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको र फक्ताङलुङ गाउँपालिका पालिकाको वडा नम्बर ३ सहितका पालिकाका वडा दाता,संस्था दाता व्यक्तिहरूको सहयोगमा आय स्रोत संकलन हुने आयोजकले बताएको छ । माघे मेला राणा शासनकाल देखि नै स्थानीय सुब्बाहरूले माघे मेला कक्फेवा तंगनाम को अवसरमा लगाउने गरेको र द्वन्द कालको समयमा केही स्थागित भएतापनि उक्त मेला स्थानीय मार्फत फेरि सुरुवात गरिएको माघे मेला सञ्चालन समिति आयोजकले जनाएको छ ।








