समय : ०५:२२ pm | शुक्रबार , वैशाख ४ गते २०८३

पाथीभरा दर्शन गर्ने भक्तजन एक लाख १३ हजार

सेवालुङ खवर | फागुन २ गते २०८२

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्ने भक्तजनको सङ्ख्या एक लाख तेह्र हजार बढी रहेका छन् । पछिल्लो सात महिनाको अवधि अर्थात माघ मसान्त सम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म सात महिनाको अवधिमा कुल एक लाख १३ हजार ४९९ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । हिउँद यामको समय भए पनि पाथीभरा दर्शन गर्ने भक्तजन नियमित आइरहेका समितिले जनाएको छ ।समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार माघ महिनामा १० हजार ३२३ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । त्यस्तै पुस महिनामा पनि पाँच हजार ९११ जना भक्तजनले पाथीभरा दर्शन गरेका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो ।पाथीभरा दर्शन गर्ने मुख्य मौसम मानिने दसैँ तिहारको अवधिमा भने उल्लेख्य भक्तजनहरु आएका हाङ्बाङले बताउनुभयो । उहाँका अनुसार असोज महिनामा २९ हजार १७४ जना र कात्तिकमा ४२ हजार २६१ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । यसैगरी मङ्सिर महिनामा १९ हजार १८१ जना भक्तजन पाथीभरा दर्शनमा आएका छन् । समितिको तथ्याङ्कअनुसार चालु आवको हालसम्ममा सबैभन्दा न्युन साउन महिनामा दुई हजार १४६ जना भक्तजन पाथीभरा दर्शन गर्न आएका थिए । त्यसपछि भदौ महिनामा चार हजार ५०३ जना भक्तजनले पाथीभरको दर्शन गरेका समितिको तथ्याङ्क रहेको छ । देशका विभिन्न जिल्ला तथा नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल लगायतका ठाउँबाट पाथीभरा दर्शनका लागि भक्तजन आउने गरेका छन् ।तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरामा चिसो अर्थात हिउँद याममा केही न्युन भक्तजन मात्र दर्शनमा आउने गरेका छन् । दसैँ तिहारपछि पाथीभरा दर्शन गर्ने अर्को मौसम रामनवमी अर्थात चैते दसैँको समय नजिकिएकाले फागुनपछि भक्तजनको आउजाउ बढ्ने समितिले जनाएको छ । यता चालु आवको माघ मसान्तसम्ममा पाथीभरामा दुई करोड छ लाख ८८ हजार १०० रुपियाँ भेटी रकम सङ्कलन भएको छ । –चन्द्र पन्दाक

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्