ताप्लेजुङ, असोज १७ गते । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रसाद हुलाकमार्फत विभिन्न ठाउँमा पठाउन सुरु गरिएको छ । पाथीभराको प्रसादको रूपमा अबिर टीका, नोट र सिक्कासहितका अन्य सामग्री जिल्ला हुलाक कार्यालयमार्फत देशका विभिन्न ठाउँमा पठाउन सुरु गरिएको हो । यसै क्रममा कर्मचारी मिलन केन्द्र ताप्लेजुङले देशभरका कर्मचारी मिलन केन्द्रलाई पाथीभराको प्रसाद हुलाकमार्फत पठाएको छ । प्रसादको रूपमा ‘अबिर टीका’ हुलाकमार्फत पठाइएको हो । कर्मचारी मिलन केन्द्र ताप्लेजुङका अध्यक्ष एवम् सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार जिल्ला हुलाक कार्यालयमार्फत देशभरका मिलन केन्द्रलाई पाथीभराको प्रसाद पठाइएको हो । कर्मचारी मिलन केन्द्रहरूलाई पाथीभरा दर्शन गर्ने निमन्त्रणासहित हुलाकमार्फत प्रसाद पठाएको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो । पाथीभरा दर्शन गर्न आउनका लागि निमन्त्रणसँगै पाथीभराको महिमा र महत्व वृद्धि गर्ने उद्देश्यले प्रसादको रूपमा ‘टीका’ देशभरका कर्मचारी मिलन केन्द्र पठाएको भट्टराईको भनाइ छ । जिल्ला हुलाक कार्यालय ताप्लेजुङका प्रमुख हेमराज पाण्डेले पाथीभराको प्रसादको रूपमा कर्मचारी मिलन केन्द्रले पठाउन लागेको ‘टीका’ सुरक्षित तवरले सम्बन्धित निकाय तथा व्यक्तिसम्म पु¥याइने बताउनुभयो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले टीका समितिले निःशुल्क रूपमा उपलब्ध गराउने बताउनुभयो । नोट, ढक्की र माना पाथीसहितका अन्य सामग्री भने पाथीभराको प्रसादको रूपमा पठाउन चाहेमा समितिले तोके अनुुसारको शुल्क लाग्ने कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो ।यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङले पनि देशभरका लेखा नियन्त्रक कार्यालयलाई हुलाकमार्फत पाथीभराको प्रसाद पठाउने तयारी गरेको कोष नियन्त्रक यमनाथ गिरीले बताउनुभयो ।–चन्द्र पन्दाक,
ताप्लेजुङमा प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रसाद हुलाकमार्फत पठाईने,








