ताप्लेजुङ – मुकुम्मलुङ क्षेत्रमा प्रस्तावित केवलकार निर्माणको विरोधमा आन्दोलनकारीहरूले आइतबार धागो टाँगेर सांकेतिक विरोध प्रदर्शन गरेका छन्।लिम्बू मुन्धुमअनुसार पूर्वज ‘सावा येत्हाङ’हरूलाई गाउँ–गाउँमा गई जाडो र गर्मीबाट बच्न, लाज ढाक्न तथा धागो कात्न र तान बुन्न सिकाउने शक्तिकी प्रतीकका रूपमा धागोलाई मान्ने चलन छ। सोही धार्मिक एवं सांस्कृतिक मान्यताअनुसार आन्दोलनकारीहरूले हाक्पारे (कान्छीथान) देखि मुकुम्मलुङसम्म मुन्धुम गाउँदै धागो टाँगेका हुन्। स्थानीयको इच्छाविपरीत धार्मिक र प्राकृतिक स्थलमा हस्तक्षेप गरिएको भन्दै उनीहरूले परियोजना तत्काल खारेज गर्न माग गरेका छन्। विरोध कार्यक्रमका क्रममा केवलकार निर्माणस्थलको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ठूलो संख्यामा परिचालन गरिएको थियो। सुरक्षाकर्मीले आन्दोलनकारीलाई निर्माणस्थलमा प्रवेश गर्न रोक लगाउनुका साथै सो क्षेत्रको फोटो खिच्नसमेत निषेध गरेका थिए।धागो टाँग्ने कार्यक्रमपछि बोल्दै ‘जेनजी मुभमेन्ट अलायन्स’का रिजन रानले मुन्धुमी स्थल संरक्षणका लागि भइरहेको संघर्षमा आफ्नो सङ्गठनको ऐक्यबद्धता रहने प्रतिबद्धता जनाए। “धार्मिक र प्राकृतिक क्षेत्रमा भइरहेको अतिक्रमण स्वीकार्य छैन, केवलकार योजना तत्काल खारेज हुनुपर्छ,” उनले भने। यस्तै, अभियन्ता निरन्ती तुम्बापोले आन्दोलन अझ सशक्त हुँदै जाने बताइन्। उनले स्थानीयको शान्तिपूर्ण विरोधमाथि दमन गरिएको आरोप लगाउँदै सरकार केवलकार निर्माणबाट पछि नहटेसम्म आन्दोलन नरोकिने चेतावनी दिइन्। मोरङ जेनजी काउन्सिलका संयोजक राम खत्रीले स्थानीयको इच्छाविपरीत प्रकृतिको दोहन गरेर गरिने विकास आफूहरूलाई मान्य नहुने बताए।जेनजी काउन्सिलका कोशी संयोजक उपार्जन चाम्लिङले हिजोको सरकारले गरेका गलत निर्णयलाई वर्तमान सरकारले सच्याउनुपर्नेमा जोड दिए। यस्तै, आन्दोलनकारी महेन्द्र लावतीले केबलकार परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन नै ‘किर्ते’ भएको दाबी गरे।केवलकार खारेजी संयुक्त संघर्ष समितिका अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले मुकुम्मलुङमा प्रस्तावित केबलकार निर्माण अवैध रहेको बताए। यस परियोजनाले लालीगुराँस र रेड पाण्डा (हाब्रे)जस्ता जैविक विविधता नष्ट गर्ने र मानव अधिकारको उल्लंघन हुने उनको तर्क थियो। यसअघि शनिबार मुकुम्मलुङ संरक्षण आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका ६५ जनालाई ताप्लेजुङमा सम्मान गरिएको थियो।ukaalo.com/news/ प्रकाशित मिती–आइतबार, १८ माघ, २०८२,
मुकुम्मलुङमा धागो टाँगेर केवलकार निर्माणको विरोध





