साउन १३, २०८२ – आज नागपञ्चमी पर्वका अवसरमा देशभर विशेष पूजाआजा भएको छ ।देशभर विशेष पूजाआजा भइरहँदा किराती समुदायले आ-आफ्नो परम्परागत कुलदेवता अक्वामाङ (नाग) को घरघरमा विशेष पूजा गर्दै आएको हो ।नागपञ्चमी साउन महिनाको शुक्ल पक्षको पंचमी तिथिमा पर्ने यस पर्वलाई नागको जन्मतिथि मानिन्छ। किरातीहरू आदिमकालदेखि नै प्रकृति पूजक हुन्। उनीहरूले सर्पलाई अक्वामाङ वा वासेक का रूपमा पुज्ने परम्परा राखेका छन्। वा को अर्थ पानी र सेक को अर्थ शुद्ध पार्ने भएकाले वासेक को शाब्दिक अर्थ पानी शुद्ध गर्ने मानिन्छ।राई र लिम्बू जातिहरूले नागलाई कुलदेवताका रूपमा मान्ने गर्छन्। विशेष गरी किरात लिम्बूहरूले नागपञ्चमीका दिन घरको मूल खम्बामा सेतो धागो वा चामलको पिठोले आठ फन्को बेरेर पूजा गर्ने चलन छ। मुन्धुम अनुसार नागले पृथ्वीको गर्भभित्र आठ तह मुनि रहेको मूल मणिलाई आठ फन्कोमा बेरेर सुरक्षित राखेको विश्वास मानेकोछ। यही विश्वासअनुसार, नागको विशेष पूजा वा सेवा गर्दा घर तथा परिवारमा चट्याङ, भूकम्प, आगलागी, र अन्य प्राकृतिक विपत्तिबाट रक्षा हुने पनि जनविश्वास छ।किरात मुन्धुममा उल्लेख भएअनुसार, नाग जहाँ बस्दछ, त्यहाँ पानी पाइन्छ। पोखरी, सिमसार, जरुवा, र पानीको मुहानजस्ता स्थानहरूमा नागको बासस्थान हुने विश्वास गरिएको छ। वैज्ञानिक दृष्टिकोणले पनि सर्पहरूले वातावरणीय विषादीलाई शरीरमा समाहित गरेर वातावरण सन्तुलनमा सहयोग गर्ने बताइन्छ। यही कारणले नागपञ्चमीका दिन प्रायः पानी पर्ने गरेको जनविश्वास पनि छ।किराती समुदायमा दुःख, रोग, उधौली–उभौली जस्ता अवसरमा अक्वामाङको पूजा अनिवार्य मानिन्छ। घरघरमा नागको चित्र टाँस्ने र पूजा गर्ने परम्पराको जड पनि किरात ऋषि–मुनीहरूले नै सुरू गरेको बताइन्छ।नागपञ्चमीको अवसरमा किरात समुदायले आफ्नो सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै प्रकृतिपूजक मान्यतामा आधारित परम्परालाई अझ सशक्त रूपमा निरन्तरता दिएका छन्।
नाग पञ्चमीमा सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै किराती समुदायद्वारा विशेष पूजा,








