मोरङ/ किरात याक्थुङ चुम्लुङको २६ औं राष्ट्रिय चुम्लुङ मिति २०८२ वैशाख २६ र २७ गते सुन्दर हरैचा मोरङ लिम्बुवानमा सम्पन्न ःलिम्बुवानका ऐतिहासिक व्यक्तित्व तुत्तु तुम्म्याङ श्री चन्द्र प्रसाद यङ्याले २६ औं राष्ट्रिय चुम्लुङको उद्घाटन गर्नुभएको थियो । यस राष्ट्रिय चुम्लुङमा इलाम, पान्थर, झापा, मोरङ, सुनसरी, तेह्रथुम, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, सङ्खुवासभा, धनकुटा र ताप्लेजुङ जिल्ला कार्य समितिहरू, लिम्बुवान प्रदेश समिति, नेवाः ताम्सालिङ प्रदेश समिति, विषयगत सङ्गठनहरू, थरगत तथा लिम्बुजन्य संस्थाहरू र विदेश स्थित किरात याक्थुङ चुम्लुङहरूबाट प्रतिवेदनहरू प्रस्तुत भएका थिए । उक्त चुम्लुङ संस्थाको सङ्गठन तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन, मुन्धुम शिक्षा कार्यान्वयन, प्रदेशको नाम कोशी खारेजी, मुक्कुम्लुङ संरक्षण, केबलकार खारेजी लगायत विषयमा छलफल गरी पारित गरियो । सङ्घीयता, गणतन्त्र, समावेशी लोकतन्त्र, धर्म निरपेक्षताको पक्षमा पूर्ण प्रतिबद्धता जनाउँदै किरात याक्थुङ चुम्लुङको २५ औं राष्ट्रिय चुम्लुङमा पारित कार्यान्वयन हुन बाँकी समसामयिक प्रस्तावहरूको कार्यन्वयन गर्ने प्रतिबद्धता जनाउँदै तपसिलका सामसामियक प्रस्तावहरू पारित गरियो । समसामयिक प्रस्तावहरू १. प्रदेश नं. १ पुनः नामकरण र लिम्बुवान सहित पहिचानको आधारमा पुनः नामकरण सङ्घर्षमा जीवन उत्सर्ग गर्नुभएका महान् अमर सहिद लाजेहाङप्रति उच्च सम्मान, हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै स्मरण गर्दछौँ । एकल जातीय गोत्रीय कोशी नाम खारेजी सङ्घर्ष र मुक्कुम्लुङ संरक्षण एवम् मुन्धुमी आस्थास्थल मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माण खारेजी आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्दै शीघ्र स्वास्थलाभको कामना गर्दछौँ, पक्राउ परी रिहाई भएका तर अझै पनि झुटा मुद्दा खेपिरहेका सहयोद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्दै वहाँहरूप्रति लागेको झुटा मुद्दा तुरुन्त खारेजीको जोडदार माग गर्दछौँ, झुटा मुद्दामा जेल जीवन बिताइरहेका आशीष साम्बाप्रति कियाचु उच्च सम्मान प्रकट गर्दै वहाँलाई अन्यायपूवर्क लगाइएको झुठा मुद्दा खारेजीको यो राष्ट्रिय चुम्लुङ जोडदार माग गर्दछ । २. मुन्धुम शिक्षाको लागि ‘मुन्धुम निसाम हिम’ आगामी शैक्षिक सत्रबाट सञ्चालन आरम्भ गर्ने २६ औँ राष्ट्रिय चुम्लुङ घोषणा गर्दछ ।३. सूचनाको हकबाट वञ्चित गराउँदै सरोकार वालासँग छलफल नै नगरी अलोकतान्त्रिक तरिकाले २०७९ फागुन १७ गते राखिएको एकल जातीय÷गोत्रीय ‘कोशी’ नाम अस्वीकृत गर्दै राष्ट्रिय चुम्लुङ पुनः घोर, विरोध, आपति, निन्दा र भर्तसना गर्दछ । साथै वर्तमान १४ जिल्ला समेटिएको प्रदेश नं. १ लाई ‘लिम्बुवान, किरात’ नामाङ्कन गर्न वा ऐतिहासिक पृष्ठभूमि एवम् संवत् १८३१ को लिम्बु–गोर्खा सन्धिको आधारमा अरूण सप्ताकोशीपूर्व मेचीसम्मको भू–क्षेत्रमा ‘लिम्बुवान’ आठौँ राज्य (प्रदेश) निर्माण गर्न यो बैठक जोडदार माग गर्दछ । ४. स्थानीय जनता एवम् रैथाने आदिवासीको असहमतिका बाबजुद ताप्लेजुङ जिल्लाको याक्थुङ लगायतका जातिहरूको पवित्र धार्मिक क्षेत्र मुक्कुम्लुङमा पचासौँ हजारभन्दा बढी याक्थुङ÷लिम्बु मुन्धुमी रूख विरूवा कटान गर्दै देवी देउतामाथि बन्न लागेको केबलकार निर्माण योजना तत्काल खारेज गर्न र सो केबलकार निर्माण सफल बनाउन मुन्धुमी आस्थास्थल मुक्कुम्लुङ बेसक्याम निर्माण गरी राखिएको सशस्त्र प्रहरी बल अविलम्ब फिर्ता गर्न, मुक्कुम्लुङ संरक्षकहरू माथि गोली प्रहार गर्ने, दमन गर्ने, अत्याचार गर्ने साथै मानव अधिकारको चरम उल्लङ्घन गर्ने राज्य निकायका सिडिओ, डीएसपी लगायतलाई अविलम्ब कडा कारवाही गर्न र मुक्कुम्लुङ संरक्षकहरू विरुद्ध विनाकारण दायर गरिएको झुटा मुद्दाहरू खारेज गर्न राष्ट्रिय चुम्लुङ जोडदार माग गर्दछ । संसारका धार्मिक आस्थाका स्थलमा पैदल हिँड्नु पर्ने मान्यता छ । त्यसै गरी मुक्कुम्लुङ जस्तो पवित्र स्थलमा केबलकार निर्माण नगरी पैदल नै हिँड्दा यसको महत्व र गरिमा बढ्ने भएकोले केबलकार निर्माणको प्रयास आजकै मितिबाट अन्त्य गरियोस् भनी यो राष्ट्रिय चुम्लुङ जोडदार माग गर्दछ । ५. आदिवासी याक्थुङ÷लिम्बु भाषा, लिपि, साहित्य, संस्कार, संस्कृति, इतिहास, भूमि, लिम्बुवान सभ्यता लगायत पहिचानका मुद्दाहरूको संरक्षण, विकास र थप सृजनात्मक एवम् सङ्घर्षका कार्यक्रमहरू तयार गरी अगाडि बढ्नको लागि दोस्रो याक्थुङ÷लिम्बु अन्तर्राष्ट्रिय भेला आयोजना गर्न यो राष्ट्रिय चुम्लुङ प्रतिबद्धता व्यक्त गर्दछ ।६. याक्थुङ÷लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषा अविलम्ब घोषणा गर्न प्रदेश नं. १ सरकारलाई ध्यानाकर्षण र माग गर्दछौँ । भाषा आयोगले सिफारिस गरेको र कियाचुकै समन्वय र सहयोगमा मा. खिनु लङवाको अग्रसरतामा विधेयक मस्यौदा बनिसकेको तर हालसम्म पनि विधेयकलाई प्रदेश सभाले किन पारित गरी कार्यान्वयन गर्न नसकेको हो भनेर प्रदेश सरकारलाई प्रश्न गर्दै यदि यही अवस्था जारी रहेमा कियाचु सशक्त आन्दोलनमा जान बाध्य हुने सचेत गराउँदछ । ७. देशमै समग्र आदिवासी आन्दोलनलाई सशक्त बनाउनका लागि कियाचुको भूमिका अझ सशक्त बनाएर लैजाने कियाचु २६ औँ राष्ट्रिय चुम्लुङ प्रतिवद्धता जाहेर गर्दछ । यसको लागि लिम्बुवान क्षेत्रमा रहेका नेपाल आदिवासी जनजाति महासङ्घमा अध्यावधिक नरहेका समितिहरू अध्यावधिक गर्न कियाचुले सहजिकरण गर्दै अगाडि बढ्ने घोषणा गर्दछौँ ।८. २०८१ जेठ ३१–३२ गतेबाट प्रारम्भ भएको मुक्कुमलुङ वृक्ष रोपण अभियान यस वर्ष पनि जारी राख्ने घोषणा गर्दछौँ । यसका लागि सबै सङ्घर्षरत पक्षहरू तयार रहनुहुन हार्दिक अपिल गर्दछौँ । आगामी वर्षदेखि मुक्कुम्लुङ पवित्र स्थल (sacred site) घोषणा गर्दछौँ ।
किरात याक्थुङ चुम्लुङको २६औं,राष्ट्रिय चुम्लुङ सुन्दर हरैचा मोरङमा सम्पन्न,








