समय : ०९:१६ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार थप विवादित बन्दै,

सेवालुङ खवर | फागुन १२ गते २०८१

फागुन ११। ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माणाधीन केवलकार थप विवादित बन्दै गएको छ । पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणको विषयलाई लिएर शनिबार ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच ताप्लेजुङमा झडप हुँदा २३ जना घाइते भएका छन् । यसअघि माघ महिनामा पनि सोही विषयलाई लिएर ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच झडप हुँदा २६ जना घाइते भएका थिए । शनिवारसाँझ पनि ‘नो केबलकार समूह’ र प्रहरीबीच ताप्लेजुङ सदरमुकाम फुङलिङमा झडप भएको हो । झडपमा परी सुरक्षाकर्मीतर्फ ११ जना र नो केवलकार पक्षधर १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । उनका अनुसार प्रहरीतर्फ दुईजना प्रहरी निरीक्षकसहित ११ जना घाइते भएका छन् । प्रहरीले १५ जना ‘नो केवलकार’ पक्षधरलाई नियन्त्रणमा लिएको जनाएको छ । काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिवारसाँझ फुङ्लिङ बजारमा नारासहित राँके जुलुस प्रदर्शन गरेका थिए । त्यही क्रममा वीरेन्द्रचोकमा झडप भएको हो । झडपका क्रममा प्रदर्शनकारी र प्रहरी दुवैतर्फ केही घाइते भएका हुन् । प्रदर्शनमा मधेश प्रदेशबाट आएकाहरु समेत सहभागी थिए । प्रहरीका अनुसार घाइते हुनेहरुमा प्रहरी जवान मीना आङ्दम्बे, प्रहरी हवल्दार धर्मनाथसिंह नुनिया, प्रहरी जवान सुशान्त राई, प्रहरी जवान दीपक तामाङ, प्रहरी नायव निरीक्षक पदम लिम्बू, प्रहरी जवान तेजेन्द्र बिसुन्के, प्रहरी जवान रुपा राई, प्रहरी जवान बिशाल दाहाल, प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढई, प्रहरी निरीक्षक ओमप्रकाश पण्डित रहेका छन् । घाइतेमध्ये केही प्रहरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने प्रहरी नायव निरीक्षक पदम लिम्बूको अबस्था गम्भीर रहेकाले थप उपचारको लागि सुबिधा सम्पन्न अस्पताल रेफर गरिएको छ । त्यस्तै नो केवलकार तर्फ इटहरी–५ बस्ने अन्दाजी बर्ष ५०का कमल लिम्बू टाउकोमा चोट, नाकबाट रगत बगिरहेको अवस्था सामान्य (जिल्ला अस्पताल), ताप्लेजुङ फक्तालुङ गाउँपालिका वडा नं. ६ बस्ने अन्दाजी बर्ष ४०का केसेङकुमार लिम्बू टाउकोमा चोट अवस्था मध्यम (तमोर अस्पतालमा उपचार भइरहेको), ताप्लेजुङ फुङ्लिङ– ८ बस्ने अन्दाजी बर्ष ६०का कृष्ण खड्का टाउकोमा चोट अवस्था सामान्य (तमोर अस्पताल) घाइते छन् । त्यस्तै बिभिन्न स्थानमा आन्दोलनकारी हरुलाई घाइते अवस्थामा फेला पारी उपचारको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । त्यसरी उद्धार गरिनेमा इलाम थाक्थोकथुम गापा–२ बस्ने बर्ष ३४का रामकुमार राई दाहिने कुम खुस्किएको, दाहिने घुँडाको मुनिको हड्डी भाँचिएको अवस्था मध्यम (पाँचथर अस्पताल रेफर), ताप्लेजुङ फुङ्लिङ– ४ बस्ने अन्दाजी बर्ष ५३ का असिम पालुङ्वा निधारको बायाँपट्टीको भागमा चोट अवस्था सामान्य, ताप्लेजुङ फुङ्लिङ–४ बस्ने अन्दाजी बर्ष २७ का समर लिम्बू बायाँ कुहिनाको हड्डी भाँचिएको ( सुबिधा सम्पन्न अस्पताल रेफर), ताप्लेजुङ आठराई त्रिबेणी–१ निगुरादिन बस्ने बर्ष २१का शिशिर लिम्बू टाउकोमा चोट (सुबिधा सम्पन्न अस्पताल रेफर), इलाम सूर्योदय–१४ बस्ने मिलन साँवा, मिक्लाजुङ– २ बस्ने अन्दाजी बर्ष ४९का सन्त राई, जिल्ला अस्पताल ताप्लेजुङ, झापा अर्जुनधारा–२ बस्ने अन्दाजी बर्ष ३६का सञ्जय लिम्बू, अर्जुनधारा–४ बस्ने कोपिला चेम्जोङ, ताप्लेजुङ मेरीङ्देन–२ बस्ने अन्दाजी बर्ष ४३का भवानसिंह लिम्बू रहेका छन् । डिस्चार्ज भएकाहरुलाई असिम पालुङ्वाले जिम्मा बुझेको बताइएको छ । यता आन्दोलनमा सहभागी भएकामध्ये पक्राउ पर्नेहरुमा फिदिम–११ बस्ने अन्दाजी बर्ष २२का यमन राई, बिर्तामोड–११ अर्जुनधारा बस्ने अन्दाजी बर्ष ३०की दिक्षा क्षेत्री, ताप्लेजुङ आठराई त्रिवेणी १ बस्ने अन्दाजी बर्ष ४५का नवीन पोमू, पाँचथर हिलिहाङ–६ बस्ने अन्दाजी बर्ष ४७का मित्र लिङ्देन , सुनसरी इटहरी–३ बस्ने अन्दाजी बर्ष २३का विवेक लिम्बू, मोरङ सुन्दरहरंैचा–१० बस्ने अन्दाजी बर्ष ५८का तुलाराम तामाङ, सुनसरी इटहरी–३ जुरन राई, मोरङ उर्लावारी–१ बस्ने बर्ष ३९का हरि लिम्बू, पाँचथर–१ बस्ने अन्दाजी बर्ष ४०की सुनिता केरुङ, सुनसरी इटहरी–२ बस्ने बर्ष अन्दाजी ३२का अर्जुन तामाङ, इटहरी–२० बस्ने अनुप सुब्बा, इलाम– ७ बस्ने अन्दाजी बर्ष ५१का योगेन्द्र लावती, इटहरी– १० बस्ने अन्दाजी बर्ष १९का विशेष सुब्बा, बिर्तामोड–२ बस्ने अन्दाजी बर्ष २०की इक्सा लिम्बू सोही ठाउँकी अन्दाजी वर्ष २१ की निहा चेम्जोङ रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । अनिश्चितकालीन निषेधाज्ञा ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच सदरमुकाम फुङ्लिङमा शनिवार झडप भएसँगै आइतबारबाट ताप्लेजुङमा अनिश्चित कालिनका लागि निषेध आदेश जारी भएको छ । ‘नो केबलकार’ समूहले ताप्लेजुङमा प्रदर्शन जारी राखेपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो । शनिबार राति बसेको सुरक्षा समिति बैठकपछि प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा जारी गरेका हुन् । फुङ्लिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीयस्तरमा हुन सक्ने हुलदंगा, झडप र प्रतिकूल स्थितिको सिर्जना भएर शान्ति सुरक्षा भंग हुनसक्ने भएकाले आइतबार बिहान ५ बजेदेखि निषेधाज्ञा जारी गरिएको प्रजिअ शर्माले बताए । स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन, घेराउ कार्यक्रम गर्न निषेध गरिएको छ । निषेधाज्ञा पूर्वमा फुङ्लिङ नगरपालिका बजार क्षेत्र अन्तर्गत वडा नम्बर ७ सल्लेरी, पश्चिममा घोडेचौर, उत्तरमा वडा नम्बर ४ उकालीपानी र दक्षिणमा वडा नम्बर ६ शेर्पा टोलमा लागू गरिएको छ । यस्तै, काफ्लेपाटी बल्लुडाँडा क्षेत्रको पूर्वमा पर्यटक प्रहरी भवनको सय मिटर इलाका, पश्चिम बल्लुडाँडा र डडेले इलाका, उत्तर केबलकार बेस स्टेशन र पानीको मुहान, इलाकाको सय मिटर र दक्षिण नयाँ बसपार्क इलाकाको सय मिटर (जंगल इलाका समेत) मा लागू गरिएको छ । प्रजिअ शर्मा र डीएसपी रावललाई कारवाहीको माग ‘नो केवलकार’ पक्षीय पदयात्रीहरुलाई ताप्लेजुङको फुङ्लिङ बजारमा प्रहरी प्रशासनले अमानवीय दमन गरेको भन्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र डीएसपी रबि रावललाई कारबाहीको माग गरिएको छ । मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समितिले एक बिज्ञप्ति जारी गर्दै राज्य पक्षबाट भएको दमनको घोर भत्र्सनासहित घाइतेहरुको उपचार, पक्राउ परेका व्यक्तिहरुको रिहाइ, बेपत्ताहरुको खोजी, उच्चस्तरीय छानबिन र केवलकार खारेजीको जोडदार माग गरेको छ । समितिले घाइतेहरुको तत्काल उपचार ,पक्राउ परेकाहरुको रिहाई, बेपत्ताहरु सार्वजनिक ,सिडिओ शर्मा र डीएसपी रावललाइ तत्काल कारबाही गर्नुपर्ने , कफ्र्यु तत्काल हटाउनुपर्ने र केवलकार निर्माण योजना खारेज नगरे थप आन्दोलन गर्ने चेतावनी दिइएको छ । पाथीभरामा केबुलकार निर्माण कार्य रोक्न राप्रपाको माग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाथीभरामा केबलकार निर्माण कार्य रोक्न माग गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै यस्तो माग गरेका हुन् । ‘त्यहाँ त्यो काम (केबुलकार निर्माण) अविलम्ब रोकियोस् । त्यो कसैको हितमा छैन’– उनले भने– ‘त्यो अशान्त वातावरणलाई शान्त बनाउने एउटै उपाय– केबलकार निर्माण स्थगन गर्नु हो ।’ यो काम तत्काल रोक्न र रक्तपात नगर्न सरकारलाई उनको आग्रह छ । माओवादीद्वारा मन्त्रीस्तरीय वार्ता टोली बनाउन माग नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा भएको विवाद समाधानका लागि मन्त्रीस्तरीय वार्ता समिति बनाउन माग गरेको छ । माओवादी कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । केबलकार निर्माणको विरोधमा उत्रिएको समूह र प्रहरीबीच पटक–पटक भएको झडपमा दर्जनौं घाइते भएको बताउँदै सरकारले वार्ता र संवादबाट राजनीतिक रुपमा त्यसको समाधान खोज्नुपर्नेमा बल प्रयोगबाट आन्दोलनकारीलाई लखेट्ने प्रयास निन्दनीय र आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख छ । तीन दशक पुरानो योजना पाथीभराको केबलकार निर्माणले पछिल्लो समय गति लिए पनि चर्चा भने २०५१÷०५२ सालबाटै चलेको थियो । विराटनगरका पूर्वमेयर ध्रुवनारायण श्रेष्ठले केबलकार निर्माणको अगुवाइ गरेका थिए । उनकै अगुवाइमा २०७२ सालमा ‘पाथीभरा देवी दर्शन केबलकार प्रालि’ दर्ता भएको थियो । उनीपछि यो कम्पनीमा ईश्वरी पौडेलसहितको टोलीले काम गर्ने तयारी गरेको थियो । तर, त्यसबेला सफल हुन सकेन । त्यसपछि यति एयरलाइन्सका तत्कालीन सञ्चालक आङछिरिङ शेर्पा जोडिए । शेर्पाको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि ल्हाक्पा सोनाम शेर्पासँग यो कम्पनीको अधिकतम ् शेयर गएको थियो । सोनाम शेर्पा आईएमई ग्रुपका मालिक चन्द्र ढकाललाई शेयर बेचेर कम्पनीबाट बाहिरिएका थिए । तीन दशक अघिदेखि चर्चा भएको केबलकारमा चन्द्र ढकालको प्रवेशपछि भने कामले गति लिएको छ । ढकालले पछिल्लो समय काठमाडौं, पोखरा, मौलाकाली लगायत क्षेत्रमा केबलकार बनाइरहेका छन् । ताप्लेजुङमा बनाउने योजना गरिएको यो केबलकारको प्रवेश बिन्दु २९ रोपनी निजी जग्गामा बन्छ । २.७५ किलोमिटर केबलकारको बाँकी जग्गा वन क्षेत्र हो । वन क्षेत्रमा पर्ने ४.९७ हेक्टर जमिनमा रहेको १० हजार २०० बढी रुख काटिएको पहिचानपक्षधर दाबी गर्छन् । तर, एमाले सचिव तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सांसद योगेश भट्टराईले भने जम्मा २११२ रुख मात्रै कटान हुने वक्तव्य निकाल्दै दशौं हजार रुख काटिन लागेको प्रचारको खण्डन गरेका छन् । उनले आन्दोलन र बिरोध लोकतान्त्रिक प्रक्रिया भए पनि त्यसलाई सभ्य, शिष्ट बनाउन समेत आग्रह गरेका छन् । राज्यबाट अनुमति पाएपछि निर्माण कम्पनीले शिलान्यास गरेर काम थालेको छ । परिकल्पनाकार ध्रुवनारायण श्रेष्ठका अनुसार केबलकार बनाउनका लागि भन्दै सोनाम वाङ्गे पनि अमेरिकाबाट नेपाल आएका थिए, तर सकेनन् । पाथीभरा केबलकार निर्माणमा लागेका तीन जना अर्थात् आङ्छिरिङ, वाङ्गे र पुष्पबहादुर बरुवालको मृत्यु भएको उनको भनाइ छ । केबलकारको पहिलो स्टेशनको जग्गा श्रेष्ठले नै कम्पनीलाई बिक्री गरेका थिए । मालपोत कार्यालय ताप्लेजुङको अभिलेख अनुसार पाथीभरा देवी दर्शन केबलकार प्रालिको २९ रोपनी जग्गा पुष्पबहादुर बरुवाल र सुरेन्द्रकुमार गुरुङले बिक्री गरेका थिए । ९० हजार रोपनीमा पनि बिक्री नहुने सो जग्गा २०७७ अन्तिममा २६ करोड १० लाख रुपैयाँमा बिक्री भएको थियो । यो जग्गा खरिद–बिक्री गर्दा मालपोत कार्यालयमा पूँजीगत लाभकर १ करोड ३० लाख ३७ हजार र रजिष्ट्रेशन दस्तुर १ करोड ४ लाख ४० हजार रुपैयाँ बुझाइएको थियो । जग्गा बिक्रीका लागि आफूले पुष्पबहादुर बरुवाललाई वारेस दिएको श्रेष्ठको दाबी छ । ३ अर्ब लागत अनुमानमा कस्तो बन्छ केबलकार ? केवलकार निर्माणका लागि तीन अर्ब लागत अनुमान गरिएको छ । काम शुरु भए डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी हिमालय कन्स्ट्रक्सनले ठेक्का लिएको छ । सोही ठेक्का अनुरुप केवलकार निर्माणको काम अघि बढाइएको हो । पाथीभरा दर्शन गरेर फर्कन पैदल यात्रा गर्नुपर्छ । केबलकार निर्माण भए एक दिनको बाटो १० मिनेटमा छोटिनेछ । प्रस्तावित केबलकारले प्रतिघण्टा एक हजार जना तीर्थयात्री बोक्न सक्छ । फुङलिङ नगरपालिका–११मा रहेको काफ्लेपाटीबाट पाथीभरा मन्दिर परिसरभन्दा करिब सात सय मिटर तलसम्म केबलकार निर्माण हुनेछ । केबलकारको दूरी २.७५ किलोमिटर हुनेछ । केबलकारमा १३ वटा खम्बा ( टावर) मा ३८ वटा गोन्डोलाज (केबलकारको बसेर यात्रा गर्ने बक्स) गर्ने प्रस्ताव छ । निर्माणपछि ७५ वर्षमाथिका ज्येष्ठ नागरिक र ३ फिट मुनिका बालबालिकाले निःशुल्क यात्रा गर्न पाउने छन् । निर्माण कम्पनीले ताप्लेजुङको फेदीमा रिसोर्ट सञ्चालन नगर्ने र प्रस्थान बिन्दुमा भने रिसोर्ट रहने जनाएको छ । पाथीभरामा दर्शनका लागि अहिले वार्षिक ५ लाख हाराहारी पर्यटक पुग्छन् । केबलकार निर्माण भएपछि यो संख्या दोब्बर हुने निर्माण पक्षको दाबी नेपालीसहित … छ । केबलकारमा स्थानीयलाई रोजगारी दिने कम्पनीले जनाएको छ । केबलकार बनेपछि ताप्लेजुङको फुङलिङ मात्रै होइन, पाँचथर फिदिमसम्मको व्यापार फस्टाउने दाबी पनि निर्माण पक्षले गरेको छ । निर्माण पक्षले स्थानीयको रोजगारी, विभिन्न सुविधा सहुलियत लगायत अहिले नै घोषणा गरेर आश्वस्त गराउनुपर्ने माग जनप्रतिनिधिहरुले गरेका छन् । ताप्लेजुङका सांसद योगेश भट्टराईले युवालाई रोजगारी, वृद्ध, बालबालिकालाई निःशुल्क अनि ताप्लेजुङवासीलाई ५० प्रतिशत छुट दिन माग गरेका छन् । उनले तनावलाई शान्तिपूर्ण समाधान खोज्न राज्य र आन्दोलनकारी दुवै पक्षलाई आव्हान गरेका छन् ।साभार पूर्वाअञ्चल दैनिक बाट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्