ताप्लेजुङ, साउन ३ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले सार्वजनिक निजी साझेदारी सामुदायिक प्रणालीमा हस्पिटल सञ्चालन गर्ने योजना अघि सारेको छ । चालु आर्थिक बर्ष २०८२।८३ का लागि १ करोड ५० लाख बजेट राख्दै फक्ताङलुङले सामुदायिक मोडलमा हस्पिटल सञ्चालन गर्ने योजना अघि बढाएको हो । पालिकाको आफ्नै स्वामित्व र आमपालिका बासीको अपनत्व स्थापित हुनेगरी सामुदायिक मोडलको अस्पताल निर्माण गर्ने पहल लिएका हौं फक्ताङलुङ गाउँ कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले भन्नुभयो । गत असार १० गते चालु.आ.व.का लागि बजेट प्रस्तुत गर्दै पालिका उपाध्यक्ष विकास साम्रा (रवीन) ले सामुदायिक हस्पिटल सञ्चालनका लागि १ करोड ५० लाख बजेट बिनियोजन गर्नु भएको थियो । यसअघि चालु आ.व.का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले सार्वजनिक निजी साझेदारीमा सामुदायिक हस्पिटल सञ्चालन गर्ने घोषणा गर्नु भएको थियो । अध्यक्ष लिम्बूद्धारा प्रस्तुत नीति तथा कार्यक्रम सभाले पारित गरेपछि उपाध्यक्ष साम्रालाई सोहि अनुसार सामुदायिक हस्पिटल सञ्चालनका लागि बजेट ल्याउने बाटो खुलेको थियो । कार्यपालिकासदस्य शेर्पाका अनुसार पालिकाले निजी क्षेत्रलाई समेत सामुदायिक हस्पिटल निर्माण र व्यवस्थापनका लागि आवह्वान गर्ने छ । पालिकाको आवह्वान अनुसार सामुदायिक मोडलमा साझेदारी गर्न इच्छुक व्यक्ति तथा संस्थाको लगानी व्यवस्थित र नियमन गर्न पालिकाले छुट्टै कार्यविधि बनाउने तयारी समेत गरिरहेका जनाएको छ । नपाल सरकारले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने घोषणा गरेका कतिपय स्थानीय तहको अस्पताल बनिने क्षेत्रकोजग्गाको स्वामित्व सरकारको नाममा आइ नसकेको अवस्था समेतलाई हेरेर आफुहरु सामुदायिक मोडलको अस्पताल स्थापनाको प्रकृयामा अग्रसर भएको कार्यपालिका सदस्य शेर्पाले बताउनुभयो । आधारभूत अस्पतालका लागि २०७४ सालको निर्वाचनबाट निर्वाचित पदाधिकारीको पालामा डिपिआर बनेको रहेछ, त्यसलाई थप र संशोधन समेत गरी बाँकी प्रकृया पूरा गरेर अब नेपाल सरकारको समपुरक अनुदानबाट नभई पालिका आफैंको स्वामित्व र अपनत्व स्थापित हुनेगरी सामुदायिक मोडलको अस्पताल सञ्चालन गर्ने योजना अघि सारेका हौं शेर्पाले भन्नु भयो । उहाँले पालिकाले चालु आवमै पालिकाद्धारा बिनियोजित बजेटबाट अस्पताल निर्माणका लागि ठेक्काआवह्वान हुने र साझेदारीका लागि निजी तथा सार्वजनिक क्षेत्रलाई समेत संस्थागत आग्रह गर्ने तयारी रहेको समेत सुनाउनुभयो ।साभार :- खगेन्द्र अधिकारी उज्यालो पोष्ट,
फक्ताङलुङ गाउँपालिकाले सार्वजनिक निजी साझेदारी सामुदायिक प्रणालीमा हस्पिटल सञ्चालन गर्ने,








